October 26th, 2017

पुँजी बजार विस्तार गर्न इन्भेस्टर्स फोरमका १० माग

नेपाल इन्भेस्टर्स फोरमले पुँजी बजारको विकास र लगानीकर्ताको हित र संरक्षणका लागि नेपाल धितोपत्र बोर्ड (नेप्से) सँग माग गरेको छ । फोरमले नेप्सेका प्रमुख कार्यकारी अधिकृतसँग पत्रमार्फत आफ्ना माग प्रस्तुत गरेको हो । नेपाली पुँजी बजारको विकास र आधुनिकीकरणका लागि पूर्ण अनलाइन कारोबार प्रणाली आवश्यक भएकाले फोरमको प्रतिनिधित्व सुनिश्चित गर्न अनुरोध गरेको छ । त्यस्तै, अनलाइन कारोबार लागू हुने मिति स्पष्ट पार्न पनि फोरमले अनुरोध गरेको छ ।

देश संघीयतामा गएकाले प्रत्येक प्रदेशमा क्षेत्रीय सेयर दलालहरूलाई लाइसेन्स दिइनुपर्ने माग पनि पत्रमा उल्लेख छ । अहिले ५० वटा सेयर दलाल सञ्चालनमा रहे पनि सामान्य लगानीकर्ताको पहुँच न्यून रहेकाले संस्थागत वाणिज्य बैंक तथा व्यक्तिगत फर्महरूलाई ब्रोकर लाइसेन्स दिनुपर्ने फोरमले माग गरेको छ । त्यस्तै, सूचीकृत हरेक कम्पनीले त्रैमासिक वित्तीय विवरण पत्रिकामा छाप्नुभन्दा अघिल्लो दिन नेप्सेमा पठाउनुपर्ने माग राखेको छ ।

सो फाइललाई नेप्सेले आफ्नो वेबसाइटमा भोलिपल्ट कार्यालय समय सुरु हुने वेलासम्म अपलोड गर्नु आवश्यक रहेको फोरमको भनाइ छ । यसले समग्र पुँजी बजारलाई नै फाइदा पुग्ने भएकाले यही त्रैमासिकको वित्तीय विवरणबाट सुरुवात गर्न फोरमले सुझाएको छ ।

गैरआवासीय नेपाली, विदेशमा बस्ने नेपाली र संस्थागत विदेशी लगानीकर्तालाई सेयरबजारमा प्रवेश गराउनुपर्ने फोरमको भनाइ छ । फोरमले अहिलेको ब्रोकर कमिसन अधिकतम शून्य दशमलव २५ प्रतिशतसम्म सीमित पार्नुपर्ने उल्लेख गरेको छ । हकप्रद आवेदन र लिलाममा आउने सेयरमा बोलपत्र पेस गर्ने प्रक्रियालाई पनि तत्काल आस्बा प्रणालीमा आबद्ध गर्नुपर्ने फोरमको माग छ ।

त्यस्तै, पुस मसान्तभित्र साधारणसभा नगर्ने कम्पनीलाई आर्थिक जरिवाना र कडाइ गर्नुपर्ने, कम्पनी ऐनमा हरेक पुस मसान्तभित्र पब्लिक कम्पनीले साधारणसभा गरी बोनस र हकप्रद जारी भएको तीन महिनाभित्र लगानीकर्ताको खातामा आइसक्नुपर्ने, सेयर धितो कर्जा लिएकाहरूको बोनस र हकप्रद सेयर सीधै लगानीकर्ताको खातामा जाने र बैंकसँग नो अब्जेक्सन लेटर लिन नपर्ने व्यवस्था गर्न फोरमले माग गरेको छ । बजार निर्माता (मार्केट मेकर) लाई तत्काल लाइसेन्स दिई पुँजी बजारमा भिœयाउन फोरमले अनुरोध गरेको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]