August 24th, 2016

नेपालको वित्तीय प्रणाली सुधारका लागि लघुवित्त विज्ञ यादवका ६ सुत्र

ramdev yadavरामदेव यादव –
नेपालको बैंकिङ इतिहासले करिब आठ दशक पार गर्न लागिसकेको छ । तर पनि नेपालमा करिब ४० प्रतिशत मानिसले मात्र औपचारिक क्षेत्रबाट वित्तीय सेवा प्राप्त गरेको देखिन्छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा अपेक्षित रूपमा बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति पुग्न सकेको छैन । परिणामस्वरूप अझै पनि बहुसंख्यक मानिसले उच्च ब्याजदरमा साहू–महाजनहरूबाट ऋण लिन बाध्य छन् । 

बैंकिङ सेवाले मुलुकमा छरिएर रहेको स–सानो बचत संकलन गरेर पुँजी निर्माण गर्नुका साथै उक्त पुँजीलाई उत्पादनशील क्षेत्रहरूमा परिचालन गरी राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ । औपचारिक वित्तीय सेवाको पहुँच सीमान्तकृत वर्गका मानिसहरूसम्म विस्तार गर्नका लागि मुलुकमा कुशल वित्तीय प्रणालीको आवश्यकता पर्छ ।

वित्तीय पहुँच तथा सेवा विस्तार
कतिपय मानिसलाई बैंक तथा वित्तीय संस्थाहरू र तिनले प्रदान गर्ने सेवाबारे कुनै ज्ञान छैन । त्यसैले बैंक तथा वित्तीय संस्थाहरूमार्फत वित्तीय साक्षरता एवं चेतना अभिवृद्धि गर्दै वित्तीय सेवाको पहुँचलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नु जरुरी देखिन्छ । वित्तीय शिक्षाको माध्यमद्वारा उनीहरूलाई बैंक तथा वित्तीय संस्था भनेको के हो, ऋण कसरी प्राप्त गर्ने, बचत कसरी गर्ने, ऋणको सदुपयोग कसरी गर्ने, के–कस्ता क्षेत्रमा लगानी गर्ने, आय–आर्जन कसरी गर्ने, ऋण भुक्तानी कसरी गर्ने आदिजस्ता विषयमा आधारभूत वित्तीय ज्ञान प्रदान गरेर वित्तीय पहुँचमा वृद्घि ल्याउन सकिन्छ । जबसम्म वित्तीय चेतनाको स्तरमा वृद्घि ल्याउन सकिँदैन, तबसम्म आममानिसलाई वित्तीय पहुँचको दायराभित्र ल्याउन सकिँदैन । 

संस्थागत वित्तीय सेवाको पहुँच वृद्घि गर्नका लागि राज्यले वित्तीय पूर्वाधारको विकास गरी बैंकिङ सेवाको सञ्जाललाई ग्रामीण स्तरसम्म पुग्ने वातावरण निर्माण गर्नु आवश्यक छ । सूचना तथा प्रविधिको विकासले मोबाइल बैंकिङ, ई–बैंकिङ, एटीएम, डेबिट कार्ड, क्रेडिट कार्ड आदिजस्ता आधुनिक बैंकिङ सेवाहरूको माध्यमद्वारा वित्तीय पहुँचलाई प्रभावकारी बनाउन सकिन्छ । यसका लागि बैंकहरूले सबै वर्ग र समुदायका मानिसहरूलाई लक्षित गरेर वित्तीय सेवा विस्तार गर्ने अभियानमा जुट्न जरुरी छ । 

एक घर एक बैंक खाता अभियान
राज्यको मूलधारबाट पछाडि परेका नागरिकलाई समेत वित्तीय सेवा उपभोग गर्ने वातावरण सिर्जना गरेर उनीहरूमा रहेका सम्भावित क्षमता एवं अवसरहरूको अधिकतम उपयोग गर्नका लागि वित्तीय पहुँचमा विस्तार गर्न ‘एक घर एक बैंक खाता अभियान’ कार्यक्रम सञ्चालनमा ल्याउनु आवश्यक देखिन्छ । यस्तो अभियानले राष्ट्रमा मौद्रीकरण एवं वित्तीय प्रगाढतामा वृद्धि ल्याउनुका साथै मुलुकको समग्र आर्थिक विकासमा समेत उल्लेखनीय भूमिका खेल्नेछ । वित्तीय पहुँच न्यून रहेका नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूमा कम्तीमा पनि हरेक घरपरिवारको एउटा बैंक खाता अनिवार्य रूपमा खोल्नैपर्ने अभियानद्वारा वित्तीय समावेशीकरण कार्यमा प्रभावकारिता ल्याउन सकिन्छ । 

उत्पादनशील पुनर्कर्जा कार्यक्रम
मुलुकको दिगो आर्थिक विकासका लागि उत्पादनशील पुनर्कर्जा कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने हुन्छ । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन विद्यमान नीतिगत व्यवस्थामा संघीय संरचनाअनुसार विद्यमान ऐन नियमावलीमा समसामयिक आवश्यक परिमार्जन गरी सोको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

लघुवित्त परिचारलन र प्रयोगको दायरा विस्तार
लघुवित्त परिचालन र प्रयोगको दायरा फराकिलो बनाई यसको उपयोग उत्पादकीय क्षेत्रमा गराउन विद्यमान नीतिगत व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने अर्कोे चुनौती छ । ग्रामीण क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि स्थानीय स्तरमा क्रियाशील ग्रामीण बैंकजस्ता लघुवित्त बैंकहरू निकै उपयोगी देखिएका छन् । यस्ता लघुवित्त बैंकहरूले ग्रामीण तथा दुुर्गम क्षेत्रको कृषि, घरेलु तथा साना उद्योग, लघु जलविद्युत् आयोजना, पशुुपालन लगायतका क्षेत्रमा प्रवाह गरेको कर्जा र प्राप्त प्रतिफलसमेतका आधारमा आर्थिक विकास र समृद्धिमा लघुवित्तको भूमिका ठूलो देखिएको हो । अहिले लघुवित्त कार्यक्रमले गाउँ छाडेकालाई गाउँ फर्काउने, कृषिमा आधारित पेसा–उद्योग गर्ने, ग्रामीण जीवनशैलीमा गौरव गर्ने आधार तयार पारिदिएको छ । 

विपन्न वर्गको मजबुद आर्थिक स्थितीका लागि लघुकर्जा
ग्रामीण क्षेत्रका विपन्न वर्गको आर्थिक स्थिति मजबुत हुनुपर्छ । त्यसका लागि लघुकर्जाका माध्यमबाट वित्तीय सेवा, सामूहिक सामाजिक सबलता, क्षमता अभिवृद्धि, व्यक्तित्व एवं नेतृत्व विकास, साझा सहभागितामूलक कार्यक्रम तथा सहकार्यका माध्यमबाट लक्षित वर्गको व्यक्तिगत, सामाजिक एवं आर्थिक समुन्नतिमा ध्यान दिइनुपर्छ ।

लघुवित्त बैंकहरूले स–सानो परिमाणमा धेरै व्यक्तिलाई कर्जा प्रवाह गर्ने हुँदा यसमा जोखिम पनि कम हुुने र यस्ता बैंकहरूको कर्जा उत्पादनमूलक क्षेत्रमा नै धेरै रहेको आधारमा लघुवित्तको कर्जा अन्य बैंक तथा फाइनान्सहरूको तुलनामा निकै सुरक्षित देखिएको छ । बैंकहरूको खुद मुनाफा पनि उच्च रहेका कारण लघुवित्तमा सर्वसाधारणको आकर्षण बढेसँगै प्रतिसेयर आम्दानी पनि उच्च रूपमा बढेको छ ।

बैंकिङ क्षेत्रमा संघीय संरचनाअनुसारको परिमार्जन
संघीयताले ल्याएको समृद्धिको अवसरको लाभ लिनुका साथै गाउँलाई सहरमा रूपानान्तरणका लागि ग्रामीण बैंकलाई नेपाल ग्रामीण पूर्वाधार विकास बैंकका रूपमा रूपान्तरण गर्न सकिन्छ । जसका लागि संघीय संरचनाअनुसार विद्यमान बैंकिङ क्षेत्रसँग सम्बन्धित, ऐन नियमावलीमा समसामयिक परिमार्जन गर्नुपर्ने आवश्यकता छ । नेपाल ग्रामीण पूर्वाधार विकास बैंकले ‘जहाँ–जहाँ गाउँ र जनता, त्यहाँ बैंकिङ सेवा’ को मूल मर्मअनुसार काम गर्नुपर्छ । (यादव लघुवित्त विज्ञ हुन् ।)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]