December 8th, 2017

निजी क्षेत्रद्वारा मतदानसँगै समृद्धिको अपेक्षा

सरस्वती ढकाल / प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत बिहीबार भएको निर्वाचनमा अधिकांश उद्योगी व्यवसायीहरूले देशका विभिन्न क्षेत्रबाट मतदान गरेका छन् । पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदानसँगै व्यवसायीहरूले अव देशमा स्थायी सरकार र आर्थिक समृद्धि प्राप्त हुने अपेक्षा गरेका छन् । विकास र समृद्धिको विकल्प नभएको भन्दै अधिकांश व्यवसायीहरूले जुनसुकै दलको सरकार भएपनि स्थायी हुनुपर्नेमा जोड दिएका छन् । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित वन विभाग केन्द्रबाट मतदान गरेकी छन् । यो निर्वाचन इतिहासकै सवैभन्दा महत्वपूर्ण भएको भन्दै उनले अब स्थायी सरकार आउने र देशमा आर्थिक समृद्धिका पक्षमा कामहरू हुने धारणा राखिन् । “निजी क्षेत्र सधैं स्थायी सरकार चाहन्छ, यो चुनावपछि स्थायी सरकार आउँछ र विकासले गति लिन्छ भन्ने हाम्रो बुझाइ छ,” अध्यक्ष राणा भन्छिन्, “संविधान जारी भएको छ, अब अरु आर्थिक विकासको विकल्प नै छैन ।” राजनीतिक दलहरूले पनि आर्थिक एजेन्डालाई प्राथमिकतामा राखेका छन् । अब राजनीतिक एजेन्डा होइन आर्थिक एजेन्डालाई अगाडि सार्ने समय भएको उनको भनाइ छ ।
नेपाली कांग्रेसको चुनावी अभियानमा सक्रिया रहेका अर्बपति उद्योगी विनोदकुमार चौधारीले नवलपुरको देवचुली नगरपालिका–२ मा रहेको दिव्य युवा क्लब केन्द्रबाट मतदान गरेका छन् । प्रतिनिधिसभा तर्फका समानुपातिक सदस्यका उम्मेदवार समेत रहेका चौधरीले आर्थिक समृद्धि र विकासको पथमा लम्किनु अहिलेको आवश्यकता भएको बताएका छन् । आफू निर्वाचन प्रचारका क्रममा देशका ४१ भन्दा बढी स्थानमा पुग्दा मतदाताले विकास र आर्थिक समृद्धिको चाहना रहेको पाएको भन्दै उनले मतदाताको चाहना पूरा गर्ने दिशामा आफू र आफ्नो पार्टी लागिपर्ने बताए । आर्थिक समृद्धि र विकासका लागि नेपाली कांग्रेसले तयार पारेको मार्गचित्रअनुसार अगाडि बढ्ने बताउँदै आगामी पाँच वर्षपछि नेपाल स्वर्ण युगमा प्रवेश गर्ने दावी गरे । 
महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले काठमाडौं–१ को थापाथलीस्थित गुह्ेश्वरी माविबाट मतदान गरे । विगतमा छिटोछिटो फेरिने सरकार र नीतिगत अस्पष्टताले गर्दा अपेक्षाकृत लगानी आउन नसकेको भन्दै अब स्वदेशी उद्योगी व्यवसायीहरूको सहित प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आउनेमा मुरारका आशाबादी छन् । “ हामीलाई कसको सरकार आउँछ भन्नेसँग कुनै मतलब छैन, जसको सरकार आएपनि स्थायी हुनुपर्छ,” मुरारका भन्छन् “जसरी विगतमा ९ महिने सरकार आए, यसले गर्दा उद्यमी व्यवसायीहरू लगानी गर्न आत्तिएको अवस्था थियो अब भने त्यसो हुँदैन भन्ने विश्वास छ ।” पहिला जसरी संविधान बनाउने, यो गर्ने त्यो गर्ने भन्ने बहाना अबको सरकारले गर्न नपाउने उनको धारणा छ । आर्थिक विकासका मुद्दामा अबको सरकार केन्द्रित हुनुपर्ने उनी बताउँछन् ।
महासंघका वरिष्ठ उपाध्य शेखर गोल्छा पनि निर्वाचनपछि बन्ने स्थिर सरकारले लगानीमैत्री वातारण बन्ने भन्दै अव देशले मुहार फेर्ने बताउँछन् । उपाध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको क्षेत्र नम्बर ५ विशालनगर केन्द्र निर्वाचन केन्द्रबाट मतदान गरेका छन् । व्यवसायीहरू सौरभ ज्योती, राजेन्द्र खेतान, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह लगायतले पनि मतदान गरेका छन् । सवै व्यवसायीहरू निर्वाचनपछि स्थायी सरकार आउने र देशमा लगानीको बातावरण बन्नेमा आशावादी छन् । कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]