June 28th, 2017

दुई बैंकको सेयर लिलामी आजदेखि, २१ गतेसम्म भर्न पाइने

सिद्धार्थ डेभलपमेन्ट बैंक र नेपाल बंगलादेश बैंकले हकप्रद निष्काशनका क्रममा नबिकेको सेयर आज (असार १४ गते)देखि लिलामीमा निकालेका छन् । सिद्धार्थले आठ लाख ५७ हजार कित्ता र एनबिले नौ लाख ८८ हजार १२०.८० कित्ता सेयर लिलामीमा राखेका हुन् । 

सिद्धार्थले संस्थापक समूहको चार लाख पाँच हजार ८८८ कित्ता र सर्वसाधारण तर्फको चार लाख ५१ हजार ५४८ कित्ताको शेयरको लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म ६० प्रतिशत बराबरको ८५ लाख १५ हजार पाँच कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमा नबिकेको शेयर बैंकले लिलाममार्फत बिक्री गर्न लागेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकको लिलामीमा सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढि मूल्य अंकित गरि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । लगानीकर्तामा कम्तीमा १०० कित्ता वा अधिकतम सबै कित्तासम्मको लागि समेत आवेदन दिन सक्नेछन् ।

एनबि बैंकले बैंकले चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब २० करोड ९४ लाख ६ हजार ८८० रुपैयाँको ३ करोड २० लाख ९४ हजार भन्दा बढी कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमा नबिकेको नौ लाख ६८ हजार ६०९.८० कित्ता साधारण सेयर र १९ हजार ५११ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बिक्री हुने भएको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बोलकबोल मार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम सय रुपैयाँ प्रति कित्ता सेयर मूल्य राखी कम्तीमा १०० कित्ताका लागि आवेदन सक्नेछन् ।

दुबै बैंकको सेयर लिलामी असार २१ गतेसम्म खुला रहनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]