August 21st, 2016

‘चीनले यसकारण झेल्दै छ आर्थिक मन्दी’


jhang yung
झाङ युङ
एक वर्षअघिदेखि विश्वव्यापी रूपमा शीर्ष समाचारमा चीनको आर्थिक मन्दताबारे उल्लेख भइरहेको छ । तर, चीनभित्रको क्षेत्रीय गत्यात्मकतालाई मिहिन प्रकारले नियाल्दा स्थिति फरक प्रकारको देखापर्छ । विषय मन्दताभन्दा पनि बढी ‘गियर’ परिवर्तनसित सम्बन्धित छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार साधनस्रोतमा धनी सान्सी प्रान्त आर्थिक मन्दता झेलिरहेको छ, तर दक्षिणपश्चिमका प्रान्त छोङकिङ र गुइझेउले तीव्र आर्थिक वृद्धिको अनुभव गरिरहेका छन् ।

हेवेई र अन्य तीन उत्तरपूर्वी प्रान्तमा मन्दताका असरको अनुभूति भइरहेको छ, तर तियानजिन, सानडोङ र जियाङसुका ठूला उद्योग अर्थतन्त्र फस्टाइरहेका छन् । सन् २००८ को वित्तीय संकटपछि मन्द आर्थिक वृद्धि धेरै देशको लागि ‘नयाँ औसतस्थिति’ (न्यु नर्मल) बन्यो । त्यति नै वेला चीनले आफ्नो अर्थतन्त्रलाई पुनस्सन्तुलित बनाउने प्रयासलाई तीव्र बनायो । अब वृद्धिको चालक आम उत्पादन र निर्यातमुखी उद्योगको ठाउँमा राष्ट्रिय उपभोगका लागि वस्तु र सेवाको उत्पादनमा बन्न पुग्यो ।

चीनको अर्थतन्त्रका भावी गत्यात्मकताका लागि यो संक्रमणका दीर्घकालीन असर हुने छन् । यसअघिको निर्यात रणनीतिमा सरकारको मुख्य प्राथमिकता घरेलु आम उत्पादनका गतिविधिलाई विश्वव्यापी उत्पादन सञ्जालसँग एकीकृत गर्नु थियो । तर, चीनको अर्थतन्त्रको अहिलेको उद्देश्य घरेलु उपभोक्ताका विविध मागअनुरूप चल्नु हो । ती मागअनुरूप उत्पादन गर्ने उद्योग तीव्र रूपमा विस्तार भइरहेका छन् । अहिले फस्टाइरहेका आर्थिक गतिविधिलाई यसअघि आमउत्पादनका उद्योगका रूपमा होइन कि ‘सेवा’का रूपमा वर्गीकरण गरिन्थ्यो । तर, सेवा पनि शून्यमा रहन्नन् ।

सबै व्यवसायलाई औद्योगिक उत्पादन, यातायात, सूचना र सञ्चार प्रविधि (आइसिटी), लजिस्टिक, घरजग्गा, वित्त, बिमा र अन्य थुप्रै कुरा आवश्यक पर्छन् । नयाँ सेवाका लागि नयाँ मागले पूर्वाधार र उपकरणमा पुँजी लगानीको हकमा पवित्र–चक्रीय (भर्चवस–साइकल) असर पैदा गर्छ । परम्परागत बुद्धिमत्ताको ठीकविपरीत, चीनमा घरेलु माग पूरा गर्न सेवाको वृद्धिले औद्योगिक उत्पादन र पुँजी लगानीको अन्त्य गर्दैन । न त यसले आर्थिक वृद्धिलाई नै रोक्छ । निर्यातमुखी औद्योगिक शाखामा उत्पादनमा आएको कमीका कारण वृद्धिमा आएको कमीलाई सेवा क्षेत्रले क्षतिपूर्ति गर्न सक्छ ।

चीनको परिवहन, आइसिटी, वित्त, बिमा, घरजग्गा, शिक्षा र स्वास्थ्यसेवा क्षेत्रमा लामो समयदेखि कम श्रम उत्पादकत्व रहँदै आएको थियो । यसको अर्थ के हुन्छ भने ती क्षेत्रमा तीव्रतर वृद्धिका लागि उल्लेखनीय ठाउँ छ । अर्थशास्त्री जोङ ह्वा ली र वारविक जे. म्याक्किविनको एक शोधपत्रका अनुसार एसियामा हुने सेवा क्षेत्रको वृद्धिले ‘अन्ततः सबै क्षेत्रमा लाभ हुन्छ र एसियाली अर्थतन्त्रको दिगो र सन्तुलित विकासमा पनि योगदान गर्छ ।’

दक्षिण कोरियाको आर्थिक विकास प्रवृत्तिको निरीक्षणबाट लेखकले के पत्ता लगाएका छन् भने त्यहाँ परिवहन, घरजग्गा र आइसिटीको क्षेत्रमा प्रतिकामदार औसत मूल्य अभिवृद्धि औद्योगिक उत्पादनमा भन्दा बढी छ । उनीहरूले अमेरिका, जापान र चीनमा पनि यो प्रकारको गत्यात्मकता विद्यमान रहेको औाल्याएका छन् । उनीहरूको खोजले के सुझाएको छ भने चीनको सेवा अर्थतन्त्रमा तीव्र विकास गरेर सन् २००८ भन्दा यता बाह्य रूपमा निस्सृत मन्द आर्थिक वृद्धिको अवस्थालाई उल्ट्याउन सकिन्छ । तर, जापान र दक्षिण कोरियामा भएको निर्यातमुखीबाट घरेलु मागमुखी आर्थिक वृद्धितर्फको संक्रमणले स्पष्ट पारेजस्तै संरचनागत रूपान्तरण भनेको सुस्त र पीडादायी प्रक्रिया हो ।

चीन सोही प्रक्रियाको बीचमा छ । त्यसकारण संरचनागत खोरमा फस्न सक्ने खतरा हुने भएकाले आर्थिक वृद्धिका विद्यमान स्रोतलाई कमजोर बनाउने कुरामा निकै चनाखो हुन आवश्यक छ । कुनै पनि हिसाबले संक्रमणको क्रममा चुकाइने मूल्य नयाँ लाभलाई समेत हानि र्पुयाउने हदसम्मको हुनुहुँदैन । चीनका धेरै प्रान्तमा उच्च लागतले समग्र आर्थिक वृद्धिलाई पछाडि धकेल्नु राम्रो संकेत होइन । चिनियाा उपभोक्ताको अर्थिक सामथ्र्य राम्रो हुँदाहुँदै पनि उपरोक्त कुराले भविष्यका आधारभूत चुनौतीतर्फ संकेत गर्छ । 

सुरुवातकर्ताका लागि निर्यातमुखी विकासभन्दा विविधीकृत घरेलु मागमा आधारित आर्थिक वृद्धि बढी जटिल विषय हो । किनकि ती नयाँ क्षेत्रले परिस्कृत वित्तीय सेवा, स्वतन्त्र र सुलभ बजारको पहुँच, अझ बढी शिक्षित कामदार र अनुसन्धान एवं विकासमा अझ उच्चतर लगानीमा बढीभन्दा बढी निर्भर हुनुपर्छ ।
 परिणामस्वरूप आर्थिक वृद्धिको नयाँ मोडलतर्फ संक्रमणबाट उदाउने नयाँ व्यवसायले राख्ने अपेक्षाको तुलनामा चीनको विद्यमान आर्थिक प्रशासन प्रणाली अपर्याप्त छ । संरचनागत सुधारको क्रममा दीर्घकालमा ती समस्या समाधान हुन्छन्, तर त्यसका लागि चीनका नेताले कठोर राजनीतिक निर्णय लिनुपर्ने हुन्छ, जुन सबैलाई नपच्न सक्छ । चीनको अर्को आधारभूत चुनौती भनेको सहरीकरणको सुस्त दर हो । निर्यातमुखी आर्थिक वृद्धिको २५ वर्षपछि पनि चीन यो क्षेत्रमा संघर्षरत छ । आइसिटी, वित्त, बिमा, परिवहन र घरजग्गाजस्ता सेवा अर्थतन्त्रका सबै प्रमुख अवयव परस्पर निर्भर भएर फस्टाउँछन् ।

सहरले मात्रै तिनलाई एकठाउँमा ल्याउन सक्छ । यो ‘नेटवर्क एक्टरनालिटी’सम्बन्धी परिघटना हो । दुर्भाग्यवश, सहरी र ग्रामीण क्षेत्रलाई विभाजित गर्ने चीनको लामो समयदेखि विद्यमान प्रणालीका साथसाथै कमजोर सहरी योजनाले छरिएका र टुक्रे महानगरीय समुदायको सिर्जना गरेको छ । अनि तिनका विविधीकृत सञ्जाल पनि छैनन् । यसमा सुधार भए उत्पादकत्वलाई बढाउन सहयोग पुग्न सक्थ्यो । चीनको दीर्घकालीन आर्थिक सफलताका लागि मुख्य घटक सहर नै हुनेछन् । सहरीकरणलाई तीव्र बनाउन ढिला गर्नु हुन्न । गएका १०÷१५ वर्षमा महानगरीय क्षेत्रको विस्तार हुन सक्दा त्यसले सेवामुखी अर्थतन्त्रका आवश्यकता पूरा गर्न सक्छ । यदि चीनले उक्त चुनौतीको सामना गर्न सक्यो भने उच्च आर्थिक आम्दानीतर्फको बाटोमा रहेका अवरोधलाई पन्छाउन सफल हुनेछ । (प्रोजेक्ट सिन्डिकेटबाट)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]