February 18th, 2018

गाउँमा बैंक लैजान जनप्रतिनिधिले नै पहल गरेनन्

धुलिखेल । नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बैंकलाई शाखा स्थापना गर्न निर्देशन दिए पनि काभ्रेका विभिन्न स्थानीय तहमा भने अझै पनि बैंक पुगेका छैनन् । ७ गाउँपालिका र ६ नगरपालिका रहेको जिल्लामा भूम्लु गाउँपालिकाबाहेकका अन्य ६ वटा गाउँपालिकामा बैंक स्थापना भएका छैनन् । भूम्लुको पनि दोलालघाट बजारमा मात्रै बैंकको शाखा छ । गाउँपालिकाको कार्यालय पुग्न गाडीमा कम्तिमा डेढ घण्टा यात्रा गर्नुपर्छ । नगरपालिकामा भने बैंकको संख्या दिनदिनै बढ्दो छ । 

बनेपा नगरपालिका बैंकहरूको ‘हव’ जत्तिकै भइसकेको छ । राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेका अधिकांश बैंकका शाखा बनेपामा छन् । राज्य पुनर्संरचनासँगै गाउँमा प्रशासनिक सेवा पुगेको भन्दै बैंकलाई शाखा खोल्न भनिएको थियो । तर गाउँपालिकामा भने अहिलेसम्म कुनै पनि बैंकले शाखा विस्तार नगर्दा सर्वसाधारण मारमा परेका छन् । यतिसम्मकी गाउँपालिकाहरूले नै अहिलेसम्म आधिकारिक निर्णय गरेर बैंक शाखा स्थापनाका लागि समन्वय गरिदिन जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई आग्रहसमेत गरेका छैनन् । “बैंक शाखा स्थापनाबारे बैठकहरूमा कुनै छलफल भएको छैन,” डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाकी उपप्रमुख चेतकुमारी माझीले भनिन, “बैंक नहुँदा निकै समस्या परिरहेको छ ।”

विद्यमान कानुनी व्यवस्थाअनुसार सरकारी निकायको आर्थिक कारोबार बाणिज्य बैंकबाट गर्नुपर्छ । बैंकहरूले गाउँमा शाखा खोल्दा आर्थिक कारोबार र सुरक्षालाई पहिलो आधार बनाएका छन् । “गाउँमा बैंक पुग्ने हो भने सरकारी कार्यालयका लागि मात्रै होइन् सर्वसाधारणलाई समेत निकै सजिलो हुने थियो,” जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले भने “सम्बन्धित गाउँपालिकाले निर्णय गरेर पठाइदिए शाखा स्थापना गर्न हामी पनि पहल गर्ने थियौं ।” गाउँपालिकामा बैंक नहुँदा सबैभन्दा बढी भूकम्पप्रभावितले दुःख पाइरहेका छन् । जिल्लाको डाँडापारी, कोशीपारी, रोशी, तिमाललगायतका दुर्गम भेगका भूकम्पप्रभावित किस्ता रकम लिन पनौती, बनेपा, धुलिखेललगायतका सहरमा रहेका बैंकसम्म धाउनुपर्ने बाध्यता छ । “किस्ता रकम लिन बनेपासम्म पुग्नुपर्छ,” चौरीदेउराली गाउँपालिका वडा नम्बर–६ कात्तिकेकी निर्मला परियारले भनिन्, “आउँदा जाँदा नै खर्च धेरै लाग्छ, त्यसमा पनि कहिले काहिँ त कागजपत्र मिलेन भनेर बैंकहरूले फर्काइ दिन्छन्, नजिकै बैंक भयो भने त सजिलो हुने थियो ।”

गाउँपालिकाको आर्थिक कारोबार पनि सहरकै बैंकबाट भइरहेको छ । गाउँमा बैंक लैजाने र बैंकहरूका सुरुक्षा कसरी मिलाउने भन्नेबारे आफूलाई अहिलेसम्म कुनै पनि गाउँपालिकाका प्रतिनिधिले नसोधेको प्रमख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले बताए । “गाउँमा बैंक निकै आवश्यक भइसक्यो,” प्रजिअ सिम्खडाले भने “तर बैंक शाखा सञ्चालन गर्नु पर्यो भनेर मलाई बैंक नपुगेका स्थानीय तहका प्रतिनिधिले केही भनेका छैनन् ।” उनले लिखित निर्णय आए आफूले बैंकका शाखा स्थापनाका लागि आवश्यक पर्ने पहल गर्ने बताए । कारोबार दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]