January 14th, 2018

गाउँपालिकामा बैंक नहुँदा समस्या

पाल्पाका ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तार हुन नसक्दा नागरिकहरू सदरमुकाम तानसेन धाउन बाध्य भएका छन् ।जिल्लाका पूर्वखोला, तिनाउँ, माथागढी, रम्भा, निस्दी, बगनासकाली लगायतका गाउँपालिकाका केन्द्रमा अझै पनि नीजि र सरकारी स्तरका बैंक स्थापना हुन सकेका छैनन् । “गाउँ गाउँमा बैंक नहुँदा गाउँपालिका र वडा कार्यालयको काम गर्न पनि दुई जना कर्मचारी चेक साट्नकै लागि खटाउनुपरेको छ,” माथागढी गाउँपालिककाका प्रमुख सन्तोष थापा मगरले भने, “तत्काल सबै वडामा बैंकिङ पहुँच पुर्याउन बैंकहरूले आवश्यक कदम चाल्नु पर्छ ।”
जिल्लाका अधिकांश गाउँपालिकामा बैंकको पहुँच नहुँदा त्यहाँ रहेका सरकारी कार्यालय, गैरसरकारी कार्यालय र नीजि स्तरका संघ संस्था पनि बैंकिङ कारोबारका लागि जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो । गाउँपालिका र वडा कार्यालयका केन्द्रहरूमा बैंक नहुँदा रेमिट्यान्स सेवाका लागि समेत दिन बिताएर जिल्ला आउनुपर्ने बाध्यता स्थानीयलाई छ ।
गाउँपालिकामा रहेका सरकारी कार्यालयहरूले कर्मचारी तथा पदाधिकारीलाई तलव भत्तादेखि दैनिक कार्यालय सञ्चालन खर्च, सामाजिक सुरक्षा भत्ताको कारोबार सदरमुकाम तानसनस्थित बैंकका कार्यालयबाट गर्दै आएका छन् । यस्तै सामुदायिक वन, उपभोक्ता समिति, नीजि फर्म तथा व्यक्तिहरूले समेत आर्थिक कारोबार गर्ने चेक बोकेर सदरमुकाम तानसेन आउन बाध्य भएका छन् । सरकार र राजनीतिक दलले सिंहदरबारको अधिकार गाउँ–गाउँमा भनेर प्रचार गरे पनि पाल्पाका अधिकांश गाउँपालिकाका ग्रामीण भेगमा अझै नीजि तथा सरकारी बैंक पुग्न सकेका छैन्न । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीका राजकुमार पन्थीले भने, “वडा कार्यालयबाट गाउँपालिका, गाउँपालिकाबाट जिल्ला सदरमुकाम जानुपर्दा स्थानीयलाई झन् समस्या परेको छ ।”


सरकारले प्रत्येक स्थानीय तहमा बैंकिङ सुविधा पुर्याउने घोषणा गरे पनि कार्यान्वयन हुन नसक्दा कर्मचारी र उपभोक्तालाई समस्या परेको पूर्वखोला गाउँपालिकाका प्रमुख नुनबहादुर थापाले बताए । गाउँमा बैंक नहुँदा लाखौं रकम बोकेर आवतजावत गर्नुपर्ने बाध्यता बनेको कर्मचारीको गुनासो छ । सरकारका सबै जसो निकायले अहिले पनि सरकार मातहत रहेका वाणिज्य बैंक मार्फत आर्थिक कारोबार गर्छन् । कही गाउँपालिकाहरूले नीजि बैंकमा कारोबार गरे पनि सबै कारोबार गर्न समस्या भएको गाउँपालिकाका लेखा कर्मचारीको गुनासो छ । स्थानीय बासिन्दाले आर्थिक कारोबार सहकारी तथा नीजि बैंकबाट गर्दै आए पनि स्थानीय तहमा सरकारी स्वामित्वका बैंक नभएपछि गाउँपालिकाका आर्थिक कारोबार गर्न सदरमुकाम नै आउनुपर्ने बाध्यता रहेको रैनादेवी छहरा गाउँपालिकाका प्रमुख रामबहादुर कार्कीले बताए । पाल्पाको तानसेन, रामपुर नगरपालिका र रिब्दीकोट गाउँपालिकामा वाणिज्य बैंक सञ्चालनमा रहेकाले ती स्थानमा कारोबार गर्न सहज छ । तर अन्य स्थानमा वाणिज्य बैंक स्थापना गर्ने प्रक्रिया अघि बढे पनि कानुनी समस्या र सुरक्षाको कारण देखाउँदै बैंकहरू पुग्न सकेका छैनन् । 
अमृत अधिकारी / कारोबार दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]