November 28th, 2017

कर्जा व्याजदरले लघुवित्त प्रभावित

सुष्मा थापा/बैंकिङ खबर । कर्जाको व्याजदरमा आएको गिरावटको प्रभाव लघुवित्तहरुको मुनाफामा देखिएको छ । लघुवित्तीय संस्थाहरुले कर्जाको व्याजदर घटाएर १८ प्रतिशत मात्रै लिन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव लघुवित्तहरुको प्रथम त्रैमासिक रिपोर्टमा देखिएको हो । 

चालू आवको पहिलो त्रैमासमा ३४ ओटा लघुवित्त कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेकोमा अधिकांशको मुनाफामा गिरावट आएको छ । ३४ लघुवित्तमध्ये, १८ लघुवित्तको नाफा घटेको छ । १५ लघुवित्तको नाफा बढेको छ भने एउटा लघुवित्त घाटामा रहेको छ ।

यसअघि लघुवित्तहरुको २० प्रतिशत व्याजमा कर्जा प्रवाह गरेकोमा राष्ट्र बैंकले १८ प्रतिशतभन्दा बढी व्याज नलिन निर्देशन दिएको थियो । सोही निर्देशनअनुरुप, दुई प्रतिशत व्याजदर घटाएर कर्जा प्रवाह गर्दा मुनाफा प्रभावित भएको लघुवित्तकर्मीहरु बताउँछन् । एकातर्फ लघुवित्तहरुले कर्जाको व्याजदर घटाउनुपरेको र अर्कोतर्फ वाणिज्य बैंकहरुले लघुवित्तहरुलाई दिने कर्जाको व्याजदर बढेको कारण लघुवित्तहरुको खर्च बढ्न गई नाफा घटेको हो ।

नाफा बढाएका लघुवित्तहरु
सार्वजनिक भएका ३४ कम्पनीको वित्तीय विवरणमध्ये सिभिल लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको तुलनामा ९१ प्रतिशत बढेको छ । संस्थाले १८ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मिर्मिरे माइक्रोफाइनान्सले मुनाफामा ६७ प्रतिशत वृद्धि हासिल गर्दै ५२ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ ।  सोही अवधिमा फर्स्ट माइक्रोफाइनान्सको खुद मुनाफा ६० प्रतिशतले बढेर दुई करोड ४१ लाख रुपैयाँ नाघेको छ । त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्तको नाफा ५२ प्रतिशतले बढेर ३७ लाख २० हजार रुपैयाँपुगेको छ भने महिला सहयात्रा माइक्रोफाइनान्सको नाफा ४६ प्रतिशतले बढेर २५ लाख ५७ हजार रुपैयाँ पुगेको छ । नेशनल माइक्रोफाइनान्सको नाफा सात प्रतिशतले बढेर एक करोड ९७ लाख २३ हजार रुपैयाँ पुग्दा आरएसडीसी लघुवित्तको नाफा २९ प्रतिशतको वृद्धि हासिल गर्दै ५६ लाख ८५ हजार रुपैयाँ पुगेको छ भने रूरल माइक्रोफाइनान्सको नाफा ४५ प्रतिशतले बढेर पाँच करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

यता, स्वरोजगार लघुवित्तले ७५ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २३ प्रतिशत बढी हो । यसबाहेक, फरवार्ड माइक्रोफाइनान्सको नाफा १० प्रतिशत, साना किसानको तीन दशमलव ६४ प्रतिशत, स्वावलम्बन विकास बैङ्कको १० प्रतिशत, माहुली सामुदायिक लघुवित्तको सात प्रतिशत र मिथिला लघुवित्तको नाफा ४९ प्रतिशतले बढेका छन् । यी कम्पनीहरुले क्रमशः छ करोड ६८ लाख ३३ हजार, आठ करोड २० लाख २२ हजार, सात करोड ७३ लाख सात हजार, ७७ लाख ६४ हजार र १४ लाख ७४ हजार रुपैयाँ नाफा कमाएका छन् ।   

नाफा घटाएका लघुवित्तहरु
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार १९ कम्पनीको नाफा घटेको छ । नयाँ नेपाल लघुवित्तको नाफा गत आवको तुलनामा ७७ दशमलव ५४ प्रतिशतले घटेको छ । कम्पनीले दुई लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । छिमेक लघुवित्तको नाफा ३६ प्रतिशतले घटेर आठ करोड छ लाख ७२ हजार रुपैयाँ कायम भएको छ भने किसान माइक्रोफाइनान्सको नाफा ७१ प्रतिशतले घटेर १२ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । लक्ष्मी लघुवित्तको नाफा नौ प्रतिशतले घटेको छ । लघुवित्तले दुई करोड २५ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । मेरो माइक्रोफाइनान्सले एक करोड ९० लाख १७ हजार रुप्ैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ११ प्रतिशत कम हो । नागबेली लघुवित्तको नाफा ७०.८७ प्रतिशतले घटेर २५ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । नेरुडे लघुवित्तले गत आर्थिक वर्षको तुलनामा ७१ प्रतिशत कम अर्थात ४१ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । त्यस्तै, रिलायबल माइक्रोफाइनान्सको नाफा २७ प्रतिशतले घटेर २७ लाख ३५ हजार रुपैयाँ कायम भएको छ भने समिट माइक्रोफाइनान्सको नाफा २० प्रतिशतको गिरावटसँगै ८२ लाख पाँच हजार रुपैयाँमा सीमित भएको छ ।

सूर्योदय लघुवित्तको नाफा २९ प्रतिशतले घटेर ४७ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, एनएमबि माइक्रोफाइनान्सको नाफा सात प्रतिशतले घटेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८८ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिमा डिप्रोक्स लघुवित्तले पाँच करोड ४१ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । डिप्रोक्सको नाफा गत आपर्थक वर्षको पहिलो त्रैमासको तुलनामा २२ प्रतिशत कम हो । यता, निर्धन उत्थान बैंकको नाफा २० प्रतिशतको गिरावटसँगै १२ करोड ५५ लाख १६ हजार रुपैयाँ कायम हुँदा कालिका माइक्रोक्रेडिटको नाफा ७१ प्रतिशतले घटेर १६ लाख २३ हजार रुपैयाँ कायम भएको छ । नेपाल ग्रामीण विकास बैंकले गत आर्थिक वर्षको तुलनामा ४० प्रतिशत कम अर्थात एक करोड ८० लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ भने समता माइक्रोफाइनान्सले २२ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ५७ प्रतिशत कम हो । यसबाहेक, स्वदेशी लघुवित्तले २६ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको तुलनामा ५१ प्रतिशत कम हो । 

सपोर्ट माइक्रोफाइनान्स घाटामा
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड २१ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जबकी गत वर्षको सोहि अवधिमा कम्पनीले चार लाख रुपैयाँ नाफामा रहेको थियो । चार करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको सपोर्ट माइक्रोफाइनान्सले कर्जामा २९ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी छ दशमलव ३६ प्रतिशतले बढेर ४८ लाख रुपैयाँ पुगेको छ भने संचालन २९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । प्रोभिजनमा ३८ लाख रुपैयाँ राखेको सपोर्ट माइक्रोफाइनान्सको निष्कृय कर्जा तीन दशमलव ८६ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १४ दशमलव ७९ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]