February 12th, 2017

एकआपसमा गाभिए हिलटप जुनार र नवप्रगति सहकारी

काठमाडौं–राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि बैंकहरुबीच एकिकरण हुने क्रम बढी रहेकै बेला काठमाडौंका दुई सहकारीले पनि एकिकृत कारोबार सुरु गरेका छन् । काठमाडौंको तीनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र जोरपाटी स्थित नवप्रगति बचत तथा ऋण सहकारी संस्थाले शनिवार विशेष एकिकरण साधारणसभा गरी एकिकृत कारोबार थालेका हुन् ।

सरकारले सहकारीको संख्या धेरै हुनुभन्दा गुणात्मक सहकारी संस्था हुनु पर्ने भन्दै एकिकरणको नीति ल्याएपछि यी दुई संस्था एकिकृत भएका हुन् । एकिकरणपछिको संस्थाको नाम हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहने छ । 

विशेष साधारणसभामा एकिकृत संस्थाका अध्यक्ष कृष्ण गिरीले एकिकरणको आवश्यकता पहिचानबारे, कार्यकारी प्रमुख सुमनविक्रम थापाले एकिकरणको सर्त र कार्यविधि तथा उपाध्यक्ष बासुदेव घिमिरेले संस्था एकिकृत हुनुअघि र पछिको वित्तीय अबस्थाको प्रतिवेदन पेश गरेका थिए । तीन वटै प्रस्ताव विशेष साधारणसभाले पारित गरेको कार्यकारी प्रमुख थापाले जानकारी दिए । 

एकिकृत संस्थाको चुक्ता पूँजी एक करोेड ६६ लाख ७८ हजार रुपैयाँ, बचत ६ करोड २१ लाख ५० हजार, कर्जा लगानी ८ कराड ८३ लाख ९० हजार रुपैयाँ पुगेका छन् । दुवै संस्थाको गरी सेयर धनी संख्या ८ सय ९१ पुगेको छ । एकिकरणपश्चात दुवैं सस्थाको कुल पूँजी १० करोड ७५ लाख पुगेको कार्यकारी प्रमुख थापाले जानकारी दिए । 

एकिकरणपश्चात हिलटप जुनारले बचत तथा ऋणको कारोबारको अलावा कृषि तथा उत्पादनमूलक ब्यवसायका माध्यमबाट संस्थामा सदस्यहरुलाई रोजगारी सिर्जना गर्ने नीति लिने जनाएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]