September 8th, 2017

इन्भेष्टमेण्ट बैङ्कको लाभांश प्रकरण : सेबोनले सोध्यो स्पष्टीकरण

लाभांश वितरणको विषयलाई लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल इन्भेष्टमेण्ट बैङ्कलाई स्पष्टीकरण सोधेको छ । लगानीकर्तालाई भ्रममा पार्ने खालको सूचना प्रवाह गरेको भन्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न बोर्डले उक्त बैङ्कलाई पत्र काटेको हो ।

बोर्डका प्रवक्ता नीरज गिरीले लाभांशजस्तो संवेदनशील विषयमा गरिएको सूचना प्रवाहमा कसरी गल्ती हुन गयो भन्ने स्पष्ट पार्न पत्र काटिएको जानकारी दिए । उनले भने, ‘बुधवार ३ दिनको समय दिएर पत्र काटिएको छ । स्पष्टीकरण आएपछि मात्र थप कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

नेपाल इन्भेष्टमेण्ट बैङ्कले बुधवार २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय भएको नेप्सेलाई जानकारी गराएको थियो । पछि टाइप गर्दा गल्ती भएको भन्दै २५ प्रतिशत नगद र १५ प्रतिशत बोनस शेयर दिने सूचना प्रकाशित गरेको थियो । बैङ्कले शेयर बजारलाई प्रभाव पार्ने गरी सूचना प्रकाशित गरेकाले बोर्डको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता गिरीले बताए ।

शेयर लगानीकर्ता सङ्घले भने पहिलो सूचनाअनुसार नै नेपाल इन्भेष्टमेण्ट बैङ्कले लाभांश दिनुपर्ने माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै पहिलो सूचनाअनुसार नै २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिनुपर्ने माग गरेको हो । पहिलो सूचनाका आधारमा शेयर किनेका लगानीकर्ता मारमा परेको भन्दै सङ्घले बैङ्कको यस्तो प्रवृत्तिको घोर विरोध गरेको छ ।

साथै स्पष्ट नगरी सूचना सार्वजनिक गरेको भन्दै सङ्घले नेप्सेप्रति पनि आक्रोश पोखेको छ । नेप्सेको सूचनालाई आधिकारिक मान्ने लगानीकर्ता मारमा परेको भन्दै सङ्घ नेप्सेप्रति पनि आक्रोशित भएको हो ।

नेप्सेले कम्पनीसँगको सूचीकरण सम्झौताअनुुसार नै सूचना राखेको स्पष्ट पारेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सूचिकृत कम्पनीका सूचनाहरू कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृतबाट हस्ताक्षर भएर आएमा राख्ने सम्झौताअनुसार सूचना प्रवाह गरिएको बताए ।

नेपाल इन्भेष्टमेण्ट बैङ्कले बुधवार पठाएको सूचनामा कम्पनी सचिव सुधीरमान श्रेष्ठको हस्ताक्षर भएकाले आधिकारिक मानी सार्वजनिक गरेको उनको भनाइ छ । कम्पनीहरूबाट प्राप्त सूचनालाई छिटो सार्वजनिक गर्नुपर्ने नेप्सेको बाध्यता रहेको पनि पराजुलीले स्पष्ट पारे ।

नेपाल इन्भेष्टमेण्ट बैङ्कले गत आर्थिक वर्षमा रू. ३ अर्ब १६ करोड ६९ हजार नाफा कमाएको छ । बैङ्कको चुक्तापूँजी नेपाल राष्ट्र बैङ्कले तोकेको रू. ८ अर्ब भन्दा बढी रू. ९ अर्ब २४ करोड ३ लाख ७९ हजार पुगिसकेको छ । अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]