August 24th, 2021

बैंकबाट घर कर्जा निकाल्न के के गर्ने ? (सम्पूर्ण विवरणसहित)

बैंकिङ खबर । घर खरिद गर्नु सबैका लागि एउटा ठुलो सपना हो । यदि तपाई घर खरिद गर्ने सोचमा हुनुहुन्छ, साथ साथै होम लोन समेत लिने सोचमा हुनुहुन्छ भने तपाइले केहि कुराहरुमा विशेष ध्यान दिनु जरुरी हुन्छ । तपाइले ऋण लिनु पूर्व केही कुाहरुमा ध्यान दिनुभयो भने राम्रोसँग होमलोन डिल गर्न सक्नुहुनेछ ।

क्रेडिट स्कोर जाँच
जब तपाई लोनको लागी आवेदन दिनुहुन्छ भने सबै बैंकहरुले तपाइको तिर्नसक्ने क्षमतालाई ध्यानमा राख्दै लोनको लागि स्वीकृति दिन्छन् । एक उत्कृष्ट रेटिङका आधारमा तपाइले उत्तम व्याजदरमा राम्रो होमलोनको लाभ उठाउन सक्नुहुनेछ । राम्रो क्रेडिट स्कोर भएकालाई बैंक लोन दिन इच्छुक हुन्छ, किनभने यस्ता ऋणीहरु इमान्दार र योग्य मानिन्छन् । उनीहरुले समयमै व्याज भुक्तान गर्दछन् । यसर्थ वित्तीय अनुसासनको पालना गर्नुहोस् । आफ्नो क्षमता अनुसारको लोनका लागि आवेदन दिनुहोस् । यसले तपाईलाई अनावश्यक लोनको बोझबाट मुक्ति दिन्छ । यसपछि तपाई आवश्यक प्रक्रियाका लागि सबै प्रमाणहरु जस्तै पहिचान प्रमाण, ठेगाना प्रमाण, आयकर विवरण, तलव विवरण, बैंक स्टेटमेन्ट, रोजगारदाता प्रमाण र अन्य कागजातहरु तयार पार्नुहोस् ।

न्यूनतम ब्याजदर
बिभिन्न बैंकहरुले फरक ब्याजदर प्रदान गर्दछन् र कुराकानीका लागी समेत तयार हुन्छन् । थोरै प्रतिशतको फरकले तपाईलाई प्रति महिना महत्वपूर्ण धनराशि बचाउन मद्दत गर्न सक्छ । विशेष गरी लामो अवधिको लागी यसले झनै मद्धत गर्न सक्छ । एक ऋणीको रूपमा, सबैभन्दा कम ब्याजदरमा सबै भन्दा बढी ऋण दिने बैंकको छनौट गर्नुहोस् ।

कागजातका सबै विवरण पढ्नुहोस्

लोन दिने संस्थाहरुले तपाईलाई ऋण दिनुपूर्व धेरै कागजातहरुमा हस्ताक्षर गर्न लगाउछन् । सोध्नेछन् । ती सबै कागजातहरुलाई राम्ररी पढ्नु केही गाह्रो काम हो । तर सावधानी संग सबै कुराहरु पढ्ने प्रयास गर्नुहोस् । सानो फन्टमा लेखिएको खण्ड अझ ध्यान दिएर पढ्नु पदर्छ, त्यहाँ सामान्यतया नियम र शर्तहरु हुछन् जुन तपाईका लागि अस्वीकार्य समेत हुनसक्छ ।

डाउन पेमेन्ट बढाउनुहोस्, समय घटाउनुहोस्
डाउन पेमेन्ट बढाउने कोशिस गर्नुहोस् । डाउन पेमेन्ट जति बढी हुन्छ व्याजको बोझ त्यति नै कम हुन्छ । केही संस्थाहरुले ऋण चुक्ताको लागी लामो समयसम्मको अवधि प्रदान गर्दछन् । तर तपाईले सक्दो कम कार्यकालको छनौट गर्ने कोसिस गर्नुहोस् । किनभने लामो अवधिमा ब्याजको रूपमा धेरै तिर्नु पर्छ यसले ब्याज दर अस्थिरता जस्ता जोखिमको समेत सामना गर्नुपर्ने हुनसक्छ ।

बैंकबाट होम लोन लिने तरीका र आवश्यक डकुमेन्टहरु

बैंक तथा वित्तीय संस्थाले निश्चित मापदण्डभित्र रहेर घरजग्गा गरिद तथा निर्माणका लागि कर्जा प्रदान गर्ने गर्दछन् । यसका लागि निश्चित प्रक्रिया पुरा गर्नुपर्दछ । व्यक्तिगत प्रयोजनको घरजग्गा खरिद तथा निर्माणका लागि प्रवाह गरिने कर्जामा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ । यसअनुसार उपत्यकाभित्र घर कर्जा प्रवाह गर्दा धितो सम्पत्तिको मूल्यांकनमा मार्केट भ्यालुको ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् । कर्जा तिर्ने आधार राम्रो भए प्रिमियम ब्याजदरमा मोलमोलाई गर्न सकिन्छ भने सेवा शुल्कमा पनि मोलमोलाई गरेर खर्च घटाउन समेत सकिन्छ ।

कर्जा प्रक्रियाका लागि आवश्यक कागजातहरु
बैंक मार्फत कर्जा लिनका लागि ग्राहकले आफ्नो अचल सम्पत्ति धितोबन्धक राख्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त ऋणी तथा व्यक्तिगत जमानत बस्नेको नियमित आम्दानीको श्रोत हुन जरुरी छ भने एक बर्ष अवधिको बैंक स्टेटमेन्ट समेत पेश गर्नुपर्छ । त्यसपश्चात ऋण लिने ग्राहकले बैंकद्धारा तोकिएको कर्जाको माग आवेदन फारम भर्नुपर्ने हुन्छ ।

कर्जा माग आवेदनसँगै निम्न कागजातहरु आवश्यक पर्दछ :

  • कर्जा लिन चाहाने व्यक्तिको नागरीकता वा पासपोर्ट,
  • ऋणीको पासपोर्ट साइजको फोटो
  • ऋण लिने ब्यक्ति तथा व्यक्तिगत जमानत दिने व्यक्तिको समेत आयश्रोत सम्बन्धी विवरणहरु,
  • बैंकबाट कर्जा लिनको लागि राखिने धितो बन्धक राख्ने सम्पत्तिको चार किल्ला प्रमाणित भएको लालपुर्जा,
  • सम्पत्तिको बाटो खुल्ने कागजात,
  • सम्पत्तिको तिरो तिरेको कागज (जुन वडा कार्यालयमा पाइन्छ)
  • धितो बन्धक राखिने सम्पत्तिमा घर भएमा घर निमार्णका लागि लिएको इजाजत पत्र,
  • घरको स्थायी नक्सा पास र निर्माण सम्पन्न भएको प्रमाणपत्र
  • कानूनी रुपमा दर्ता भएका संघसंस्थाहरुमा काम गरिरहेका कर्मचारी वा तलबी व्यक्ति भएमा उनीहरुको तलब सम्बन्धि कागजात,
  • घर भाडा मार्फत आम्दानी गर्नेहरुको हकमा घरभाडाको सम्झौतापत्र र भाडा आउने घरको लालपुर्जाको प्रमाणपत्र
  • बैदेशीक रोजगारीबाट आम्दानी गर्नेको हकमा भिसा लागेको पासपोर्टको प्रमाण, तलबी कागजात, विदेशमा तलब राखिने बैंकको स्टेटमेन्ट र विदेशबाट नेपालमा पैसा पठाएको कागजात ।

धितो मूल्यांकन
आवेदन बुझाईसकेपछि बैंकले तपाईंले राख्न चाहेको धितोको मूल्याङ्कन गर्छन् । प्रचलित बजार मूल्य र सरकारी मूल्याङ्कनको भारित औसतका आधारमा धितो राख्न खोजेको सम्पत्ति अर्थात घर र जग्गाको फेयर मार्केट भ्यालुु निकाल्छ बैंकले । सोपछि त्यसको ४० देखि ५० प्रतिशतसम्म मात्र ऋण दिन्छन् । अग्रिम ऋण तिर्दा बैंकले ग्राहकसँग अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था छ ।

मासिक किस्ता हिसाब
मासिक किस्ता ईएमआई कति रकम तिर्नुपर्छ भनेर सजिलै निकाल्न सकिन्छ । यसका लागि स्मार्ट फोनमा कुनै ईएमआई क्यालकुलेटर एप्लिकेशन डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । बैंकहरूको वेबसाइटमा पनि इएमआई क्यालकुलेटर राखेको हुन्छ । त्यहाँ तपाईंले मासिक किस्ताको हिसाब निकाल्न सक्नुहुन्छ । तपाईंसँग बीचबीचमा आम्दानी बढ्यो भने कर्जा अवधिलाई घटाउन पनि सक्नुहुन्छ । वा अलिक बढी रकम भए त्यो तिरिदिएर बाँकी ऋणको ब्याज र किस्ता पनि तिर्न पाइने राष्ट्र बैंकको व्यवस्था छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]