Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

‘नगद कारोबार नगरौं, डिजिटल भुक्तानी असल नागरिकको दायित्व हो’

२०७८ असार २८ गते

भुवन कँडेल
कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा विगत ५/७ वर्ष अगाडिदेखि नै विभिन्न नीतिहरु तर्जुमा गर्दै आएको छ । राष्ट्र बैंकले यस बीचमा विभिन्न पोलिसीका पेपरहरु पनि तर्जुमा गरेको छ ।

‘भुक्तानी तथा फछ्र्योट ऐन २०७५’ तर्जुमा भएर आइसकेपछि पुन : ‘भुक्तानी तथा फछ्र्योट नियमावली २०७७’ समेत आइसकेको छ । त्यसपछि अनुमति नीति, एकिकृत निर्देशनहरु क्युआर गाईडलाइन्स र अन्य कार्यविधिहरु पनि आइसकेको छ । राष्ट्र बैंकको तर्फबाट गर्नुपर्ने पुर्वाधारको तर्जुमा लगभग सम्पन्न भइसकेको छ । यो निरन्तर प्रक्रिया भएको हुनाले आवश्यकता अनुसार अरु तर्जुमा हुँदै जानेछन् । विद्युतीय भुक्तानीको प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कानूनी र नीतिगत पूर्वाधारहरु लगभग सकेको अवस्था छ । अर्कोतर्फ बजारमा रहेका अन्य निकायहरुलाई पनि यसले प्रवद्र्धन गर्दै लगेको छ । त्यसैले कानूनी रुपमा हामीले स्पष्ट आधार खडा गरिसकेका छौं । पछिल्लो समय डिजिटलाईजेसनमा हामी जुन हिसावले अगाडि बढिरहेका छौं । यसरी नै हामी अगाडि बढ्दै जाने हो भने सोँचेभन्दा छिटो नै लक्ष्य नजिक पुग्नेछौं ।

‘विद्युतीय भुक्तानीमा उछाल’

हामीले अहिले ‘क्यासलेस’ नै नभने पनि ‘लेस क्यास अर्थात् कम नगद प्रयोग गर्नु भन्ने हो । नगदको प्रयोग विस्तारै कम गर्दै लगेर नगद नै प्रयोग गर्न नपर्ने गरी हामीले परिकल्पना गरेका छौं । पछिल्लो समय गर्भनर श्रीमान् महाप्रसाद अधिकारीज्यू आइसक्नुभएपछि विद्युतीय भुक्तानीमा फड्को नै मारेको छ । विद्युतीय भुक्तानीमा एक किसिमको उछाल नै आएको छ । पछिल्लो अवधिलाई हेर्ने हो भने पनि कतिपय विद्युतीय भुक्तानीमा दुई सय प्रतिशत, तीन सय प्रतिशतसम्मको प्रगति देख्न सकिन्छ । यसकारण पनि हामी सहि दिशा र लक्ष्यतिर अघि बढ्दै छौं भन्ने लाग्छ । यसमा राष्ट्र बैंक एक्लैने मात्र गर्ने भन्ने पटक्कै होइन । विभिन्न सरोकारवाला निकायहरु हुनुहुन्छ । नेपाल सरकारदेखि बैंक, वित्तीय संस्थाहरु हुनुहुन्छ । प्रविधि उपलव्ध गराउने निकायहरु हुनुहुन्छ । उहाँहरु पनि सँगसँगै लाग्नुपर्ने हुन्छ ।

सबैभन्दा मुख्य भनेको आम नागरिक नै हो । किनकी उहाँहरुले आफैँले म नगद कारोबार कम गर्छु, विद्युतीय भुक्तानीबाट आफुलाई अगाडि बढाउँछु । आफ्नो व्यवहारहरु पनि परिवर्तन गर्दै जान्छु भन्नुभयो भने पक्कै पनि हामी आगामी दिनमा विद्युतीय भुक्तानीमा सफल हुनेछौं ।
भुक्तानी प्रदायक सेवाहरुको पनि यसमा प्रत्यक्ष भूमिका छ । जस्तै, बैंक वित्तीय संस्थाहरुले विद्युतीय भुक्तानीमा यो यो सुविधा उपलव्ध छ । अर्थात् विद्युतीय भुक्तानी कारोबार गर्नेलाई यसरी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ छ, यो यो सुविधा लिन सकिन्छ । यसमा यति शुल्क लाग्छ । तपाईहरु यसरी गर्नुस् भन्ने खालका सामग्रीहरु बनाउनुपर्छ । यसरी सुविधा पनि उपलव्ध गराउने र यस विषयमा तल्लो स्तरमै सूचना पु¥याउने गर्नुपर्दछ । भुक्तानी सेवा प्रदायक संस्थाहरु जसले वालेट नै प्रयोग गरिराख्नुभएको छ । कतिपयले कार्डहरु पनि चलाउनु हुन्छ । उहाँहरुले पनि शहर केन्द्रित मात्र नभएर गाउँगाउँसम्म गएर जनचेतना फैलाउँदै र त्यसलाई अभ्यस्त बनाउँदै लैजानुपर्ने देखिन्छ ।

यसमा एजेन्ट नेटवर्कहरुको पनि भूमिका रहन्छ । उहाँहरुले एजेन्ट नेटवर्किङ माध्यमबाट विस्तारै अगाडि बढ्नुभयो भने राम्रो हुन्छ । त्यसैगरी दुरसञ्चार प्रदायक अथवा टेलिकमले पनि वाइफाईको सुविधाहरु सर्वसुलभ र एक्सिस छिटो हुने खालको बनाउनुपर्ने देखिन्छ । वाइफाइनै नभएको अवस्थामा पनि कम तथा सस्तो दरमा नेटको पहुँच भइदियो भने विद्युतीय भुक्तानीको प्रयोग बढ्नेछ । कर्पोरेट सेक्टरहरुले पनि अब कारोबार विद्युतीय माध्यमबाट मात्र हुन्छ है भन्ने वातावरण बनाउनुपर्छ । उनीहरुले विद्युतीय खाता भएका ग्राहकहरुसँग मात्रै कारोबार गर्छु भन्ने मापदण्ड बनाउनुभयो भने पनि विद्युतीय कारोबार बढ्नेछ । भुक्तानी लिँदा, वा दिँदा जोसँग यसको सर्वसुलभता छ उसले विद्युतीय माध्यमबाट तिर्न पाओस् । त्यो खालको विकल्प उपलव्ध गराइदिनुपर्छ । त्यसकारण कर्पोरेट विजनेश सेक्टर, प्राइभेट जो हुनुहुन्छ । उहाँहरुले पनि यस्तो खालको अभ्यासलाई अगाडि बढाउनुपर्छ ।

‘विद्युतीय भक्तानीका धेरै फाइदा छन्’
कम नगद प्रयोग गर्दाका जुन विशिष्ट फाइदाहरु छन्, त्यसलाई हामीले बेलैमा उपभोग गर्नुपर्छ । नगद प्रयोग नगरेर विद्युतिय माध्यमबाट कारोबार गर्ने वित्तिकै पहिला आफैलाई फाइदा हुन्छ । अहिलेको अवस्थामा कोरोनाको डर पनि हुँदैन । दोस्रो कुरा दिनेले दियो, लिनेले लियो जुन कुरा रेकर्डमा रहन्छ । भोली मैले कहाँ दिएको वा लिएको थिएँ ? भन्ने कुरा हुँदैन । त्यो रेकर्डमै बस्ने हुँदा ढुक्क भयो । नगद कारोबार गर्दा नोट च्यातिने डर हुन्छ । नयाँ नोट छपाउँदा राष्ट्र बैंकबाट सरकारी बजेट खर्च हुन्छ । विद्युतीय कारोबारपछि त्यसमा पनि बचत हुने भो । नक्कली नोट पर्छकि भन्ने डर पनि हुँदैन । त्यसकारण एकदम ट्रान्सपरेट, रेकडेट हुने हुँदा सबैलाई ढुक्क भएर विद्युतीय कारोबार गर्न हामी गनुरोध गर्दछौं । डिजिटल भुक्तानी कारोबार सिस्टममा नै भइसकेपछि एउटा डाटाबेस बन्छ । कहाँ कस्तो प्रकारको कारोबार भइरहेको छ । त्यो सबै कुराहरुको एउटा तथ्यांक डाटाबेस बनिसकेपछि नीति निमार्णमा पनि सहयोग पुग्नेछ । अर्को यसले हाम्रा अन्य आर्थिक गतिविधिमा पनि सहयोग पु¥याउँछ । यसबाट पारदर्शीता, सुशासन हुन्छ । केन्द्रीय बैंकलाई पनि नगद कम चल्दा बढी रकम छाप्न परेन, राज्यलाई प्रत्यक्ष फाइदा हुन्छ । यसबाट कुनै पनि घाटा त छँदै छैन ।

जुन देशले वा जुन समाजले कम नगद कारोबार गर्छ । जसले विद्युतिय भुक्तानी माध्यमलाई नै विकास गरेर लगेको छ । त्यो देशको सुचांक ओभरअल माथि रहेको देखिन्छ । कर्पोरेट गर्भनेन्समा उनीहरु नै अगाडी छन् । ह्याप्पिनेस इन्डेक्समा पनि उनीहरु नै अगाडि छन् ।

‘यो एउटा मौका हो’
विद्युतीय भुक्तानी एउटा मौका हो । यो एउटा अवसर पनि हो । यो सिस्टमले राज्य अब यसरी अगाडी बढ्दैछ भन्ने थाहा हुन्छ । कुनै सामान किन्नुभयो, त्यो आधारमा पेमेन्ट गर्नुभयो । तपाईलाई केहि पैसा लाग्दैन । बैंक जाउ वा एटिएम जाउ, पैसा निकाल । त्यहाँ राज्यको पनि खर्च भइरहेको हुन्छ, व्यक्तिको पनि खर्च भइरहेको हुन्छ, समय उत्तिकै बर्बाद हुन्छ । फेरि पसलमा गएर तिर्यो । यो प्रक्रिया झन्झट हुन्छ । त्यसकारण उपलव्ध भएसम्म हामीले विद्युतीय माध्यमबाटै बढीभन्दा बढी भुक्तानी गर्नै पर्ने हुन्छ । राज्य नीतिगत हिसाबले नै डिजिटल प्रविधिमा जाने भनेर लागि रहेको छ । हामीले कमि कमजोरीलाई हटाउँदै, विद्युतीय भुक्तानीलाई अगाडि बढाउँदै लैजानुपर्ने देखिन्छ । यो असल नागरिकको दायित्व पनि हुन आउँछ । नीतिगत रुपमा राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था, बैंक वित्तीय संस्थालाई अनुमति दिएको हुन्छ । तिनीहरुको नियमन, निरीक्षक, सुपरिवेक्षण पनि राष्ट्र बैंकले गरिराखेको छ । कुनै समस्या पर्दा गुनासो गर्ने ठाउँ भएका कारण सजिलो पनि हुन्छ । यो हाम्रै लागि हो । देशको सुशासनको लागि हो, छिटो ढिलो पुग्ने सबै देशहरु क्यासलेस कारोबारमा नै हो । बैंकिङ खबरसँगको कुराकानीमा आधारीत