April 18th, 2020

लकडाउन थप एकदुईमहिना लम्बियो भने वित्तीय अवस्था भयावह हुन सक्छ

 बैंकिङ खबर । कोरोना संक्रमण र लक डाउनका कारण समग्र अर्थतन्त्र नै प्रभावित भइरहेका बेला बैंकिङ क्षेत्र पनि यसबाट अछुतो रहन सकेको छैन । यसको दीर्घकालीन असर बैंकिङ क्षेत्रमा पर्ने सम्भावना रहेको छ । विशेष गरी फाइनान्स कम्पनीहरुमा हालसम्म कोरोनाको कस्तो असर परेको छ र आगामी दिनमा कस्तो अवस्था रहला भन्ने विषयमा केन्द्रित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी रुपा कोइरालाले वित्तीय संस्था संघका अध्यक्ष एवम् गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधरसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

कोरोना संक्रमणको कारण विशेष गरी फाइनान्स कम्पनीहरुमा कस्तो असर परेको छ ?
कोरोनाबाट यति नै प्रभाव पर्यो भनेर अहिले नै जोखिम मूल्यांकन गर्ने बेला भएको छैन जस्तो मलाई लाग्छ । अहिले हामीले आँकलन मात्रै गर्ने हो । यसको असर महामारी कति फैलिन्छ र लक डाउन कति लम्बिन्छ भन्ने कुरामा भर पर्छ । महामारी फैलिएन भने लकडाउन अर्को महिना लम्बिए पनि फरक पर्दैन ।

व्यवसायीहरुको आम्दानी बन्द भएका कारण कर्जा जोखिम बढ्ने सम्भावना होला नि ?
लक डाउन पिरियडभरि अफिसहरु चलाउन नपाएका कारण अर्थतन्त्र ठप्प भएको हिसाबले लोन तिर्नुपर्नेहरुलाइ तिर्न गाह्रो हुने र आम्दानीको स्रोत घट्ने हुँदा नेचुरल्ली त्यसको इफेक्ट पर्छ नै । तर, यो अवस्था एक महिनालाई मात्रै हो भने खासै ठूलो असर गर्दैन र त्यसलाई छिटै नै सुधार गर्न सकिन्छ । तर, जेठ, असारसम्म लकडाउन लम्बियो भने अवस्था भयावह हुन सक्छ र त्यसलाई सुधार गर्नका लागि पनि अप्ठेरो अवस्था आउन सक्छ ।
अहिलेसम्मकै लक डाउनलाई हिसाब गर्ने हो भने आत्तिहाल्नुपर्ने अवस्था भएको छैन । यसका लागि लक डाउनलाई सफल बनाएर बस्नु एक मात्र उपाय हो । जोखिम मूल्यांकन गर्नेभन्दा पनि अहिलेको अवस्थालाई कसरी गुजार्ने र कसरी थप फैलिन नदिने भन्नेतर्फ ध्यान दिनु आवश्यक छ ।

राष्ट्र बैंकमा नयाँ गभर्नरको नियुक्ति भएको छ । उहाँबाट फाइनान्स कम्पनीहरुले केकस्तो अपेक्षा गरेका छन् ?
नवनियुक्त गभर्नर सर प्रोफेसनल र बैंकिङ बुझेको मान्छे हुनुहुन्छ । उहाँले राष्ट्र बैंकलाई राम्रोसँग बुझेको बुझ्नुभएको छ । त्यसकारण, आगामी दिनमा उहाँले जे गर्नुहुन्छ, जस्तो नीति ल्याउनुहुन्छ, राम्रै ल्याउनुहुन्छ भन्ने विश्वास छ । अहिले समग्र अवस्थाका लागि भन्दा पनि सबैको अपेक्षा भनेकै कोभिड १९ ले अर्थतन्त्रमा पार्ने प्रभाव कसरी कम गर्ने र अर्थतन्त्रलाई कसरी सुरक्षित अवतरण गर्ने भन्ने छ । यो सिनारियोमा हामी सबै मिलेर अर्थतन्त्र बचाउने, रोजगारीमा ह्रास आउन नदिनेतर्फ फोकस गर्नुपर्छ । तत्कालीन अवस्थामा राष्ट्र बैंक पनि यसै विषयमा केन्द्रित रहनुपर्ने देखिन्छ ।

व्यवसायीहरु कर्जाको व्याजदर घटाउने माग गरिरहेका छन् । वाणिज्य बैंक र विकास बैंकहरुले व्याजदर घटाएका छन् । फाइनान्स कम्पनीहरुको अवस्था के छ ?
फाइनान्स कम्पनीहरुले व्याजदर घटाएर लागू पनि गरिसकेका छन् । फाइनान्स कम्पनीहरुले एक वर्षसम्मको निक्षेपमा ९.५ प्रतिशत, दुई वर्षभन्दा बढीको ९.७५ प्रतिशत र बचतमा ६.५ देखि ७.२५ प्रतिशत व्याज दिने निर्णय गरेका छन् । निर्णयअनुसार अधिकांशले व्याजदर घटाइसकेका छन् भने केही घटाउने क्रममा रहेका छन् । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]