April 11th, 2020

लघुवित्तसँग विपन्न बर्ग जोडिएका छन्, कोरोनाले दिर्घकालीन समस्या ल्याउनसक्छ

प्रकाश राज शर्मा कोभिड १९ को प्रभाव विश्व अर्थतन्त्रमा नै परेको छ । नेपालको अर्थतन्त्र र बैंकिङ एवं समग्र वित्तीय क्षेत्र पनि प्रभावित भएको छ । माइक्रोफाइनान्स क्षेत्रमा झन् धेरै नै प्रभाव परेको छ । हाम्रो अधिकांश लक्षित वर्ग विपन्न वर्ग र अरुसँग पहुँच नभएकाहरु छन् । यस्तै वर्गलाई कोरोना र लकडाउनको असर परिरहेको छ । आर्थिक क्रियाकलापहरु बन्द छन् । कर्जा पनि दिन सक्ने अवस्था छैन । अलिअलि जम्मा भएको रकम पनि भुक्तानी लिन पाएका छैनन् । यसरी आर्थिक क्रियाकलापको चेन नै अवरुद्ध भएका कारण लघुवित्तका ग्राहकहरुमा असर परेको छ ।

पहिले कर्मचारी र ग्राहकको सुरक्षा
अहिलेसम्मको हामीलाई जानकारी भएअनुसार लघुवित्तका स्टाफहरु सुरक्षित छन् । सबैले आफ्नो आफ्नो लकडाउनमा सरकारको नीतिअनुसार सहयोग गरेका छन् । बैंकहरुको कर्जा तिर्ने, कर्मचारीहरुको तलब भुक्तानी गर्ने जस्ता अत्यावश्यक कुराहरुमा सुरक्षित रहेर कार्य गरिरहेका छन् । त्यसबाहेकका कार्य अघि बढेको छैन ।

अहिलेको अवस्थामा कर्जा तिर्ने तिराउने असुल गर्ने भन्नेतर्फ सोच्ने कुरा भएन । अवस्था सामान्य भएपछि र आर्थिक क्रियाकलापहरु सुधारको चरणमा गएपछि मात्रै कर्जा लगानी गर्ने, असुल गर्ने लगायतका कार्य सुरु हुन्छ । अहिले सबैभन्दा ठूलो कुरा स्वास्थ्य भएकाले स्वस्थ रहनु, सरकारले दिएको निर्देशन पालना गर्नु भनेर कर्मचारी र ग्राहकहरुलाई कर्मचारीको माध्यमबाट सूसूचित गरिरहेका छौँ । टेलिफोनबाट केन्द्रका प्रमुखहरुमार्फत ऋणीहरुसँग पनि सम्पर्कमा रहेका छौँ ।

संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय
कतिपय अवस्थामा हाम्रो सामाजिक उत्तरदायिात्वको आधारमा कसैलाई गाह्रो परेको अवस्था छ भने व्यक्तिगत र संस्थागत रुपमा सहयोग गरिरहेका छौँ । संक्रमण बढेन र लक डाउन खुल्यो भने त्यसपछि मात्रै हाम्रो आर्थिक क्रियाकलाप सुरु हुन्छ । त्यसपछि हामीले अलि बढी मिहिनेत गर्नुपर्ने, ग्राहकलाई सहुलियत दिनुपर्ने अवस्था आउँछ । किनभने ब्रेक भएको आर्थिक क्रियाकलापको चेन पुनः सुचारु गर्नुपर्छ । किस्ता एवम् कर्जा असुलका कुराहरुलाई अहिले पर धकेलिएको छ । सामान्य भएपछि विस्तारै असुल गर्दै जानुपर्छ । यसमा राष्ट्र बैंकले पनि कतिपय प्रोभिजनहरुमार्फत खुकुलो बनाउँदै ग्राहकमैत्री र लघुवित्त संस्थामैत्री बनाउँदै लग्नुपर्छ ।

ग्रामीण अर्थतन्त्रको संरक्षणमा जोड
हामी अधिकांश ग्रामीण क्षेत्रमा कार्य गर्ने संस्था भएका कारणले ग्रामीण क्षेत्रको अर्थतन्त्र लघुवित्तका कारणले चलायमान भइरहन सक्यो भने त्यसले समग्र देशकै अर्थतन्त्रलाई सहयोग गर्छ र छिटै सामान्य अवस्थामा फर्किन सकिन्छ भने अपेक्षा छ । लघुवित्तमा आवद्ध ४०।४५ लाख सदस्यहरुलाई कुनै न कुनै रुपमा आर्थिक क्रियाकलापमा सक्रिय राख्न सक्यौँ भने त्यसले देशलाई सामान्य अवस्थामा ल्याउन सहज हुनेछ । आर्थिक क्रियाकलाप बन्द भएका कारण ग्राहकहरुको आम्दानी कम भई कर्जा असुली हुन नसक्ने अवस्था आउने सम्भावना छ, जसले गर्दा केही अप्ठेरोहरु निश्चिय नै आउँछन् । यसका लागि राष्ट्र बैंकले लघुवित्तमैत्री निर्देशनहरु ल्याउनुपर्छ जस्तो मलाई लाग्छ ।

गभर्नरको नियुक्तिले नयाँ आशा
समग्र देश नै अप्ठेरो अवस्थामा रहेको बेलामा महाप्रसाद अधिकारी नयाँ गभर्नर नियुक्त हुनुभएको छ । उहाँले माइक्रोफाइनान्सलाई पनि राम्रोसँग बुझ्नुभएको छ । उहाँको अनुभव र विज्ञताले निश्चय नै देशलाई अप्ठेरो अवस्थाबाट पुनर्जिवीत तुल्याउनेछ भन्ने अपेक्षा रहेको छ । यो बेलामा सबैले आफ्नो दायित्व सम्झेर काम गर्नुपर्ने हुन्छ । धेरै कमाउँछु र अघि बढ्छु भन्ने बेला छैन अहिले । कसरी समान्य अवस्था फर्किने भन्नेतर्फ मिलेर सोच्नुपर्छ । त्यही रुपमा राष्ट्र बैंकले कार्य गर्नेछ भन्ने अपेक्षा छ । बैंकिङ क्षेत्रको सुधारका लागि राष्ट्र बैंकले आगामी दिनमा ल्याउन सक्ने प्याकेजमा लघुवित्त र यसका ग्राहकको अवस्थालाई विशेष रुपमा हेरिनेमा विश्वस्त छु । (लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मासँग बैंकिङ खबर डट कमले गरेको कुराकानीमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]