February 27th, 2024

अधिक तरलता भएपछि बैंकहरुले एकैदिन राष्ट्र बैंकमा राखे एक खर्ब निक्षेप

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि बैंकहरुले एकैदिन करिब एक खर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्। लगानी योग्य रकम थुप्रिएपछि बैंकहरुले ३ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा निक्षेप राखेका हुन्।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन १३ गते बैंक तथा वित्तीय संस्थाले ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका हुन्। यसअघि ९ गते ६९ अर्ब ६५ करोड रुपैयाँ निक्षेप राखेका थिए भने ६ गते ६० अर्ब र २ गते २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राखेका थिए। यसमा बैंकहरुले ३ प्रतिशत ब्याज पाउने छन्।

बैंकहरुले महँगो ब्याजदर तिरेर लिएको निक्षेप कर्जाको रुपमा लगानी गर्न नसकेपछि राष्ट्र बैंकमा ३ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा राखेका हुन्। फागुनदेखि केन्द्रीय बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराएको छ। बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा बढी भएको तरलता निश्चित ब्याजदरमा राष्ट्र बैंकमा राख्न सक्छन्। अहिले ब्यादर करिडोरको तल्लो सिमा ३ प्रतिशत रहेकोले बैंकहरुले सोहि ब्याजदरमा निक्षेप राख्न पाउने छन्।

स्थायी निक्षेप सुविधा लिन चाहने योग्य काउण्टरपार्टीले तोकिएको बैंकिङ्ग कारोबार समय भित्र निवेदन र कारोबार विवरण विभागमा पेश गर्नुपर्नेछ । अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो तीस दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको, पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको बैंक तथा वित्तीय संस्थाले यो सुविधा पाउने छन्।

स्थायी निक्षेप सुविधाको न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्नेछ । यो सुविधा हरेक आइतबार र बुधबार दिनमा एकपटक मात्र उपलब्ध गराइने छ । यो सुविधा चार दिन अवधिका लागि उपलब्ध हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]