February 4th, 2024

राष्ट्र बैंकको प्रतिवेदन : कोशीमा किबी खेती गर्दा बढी लाभ, किसानलाई कर्जा आवश्यक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा किबी खेती गर्दा किसानलाई तुलनात्मक लाभ बढी रहेको, तर त्यस निम्ति सहुलियतपूर्ण कर्जा प्रवाह वृद्धि गर्न आवश्यक रहेको जनाएको छ । केन्द्रीय बैंकले ‘कोशी प्रदेशमा व्यवसायिक किबी खेतीको अवस्था, सम्भावना र चुनौतीहरू’ शीर्षकमा विशेष अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इलाम बाहेक प्रदेशका ५८ प्रतिशत किसानहरू करिब दशकयता किबी फल खेतीमा लागेको जनाएको छ । प्रदेशमा व्यावसायिक किबी खेती प्रारम्भ भएका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जिल्लाहरूमध्ये किबीको व्यावसायिक उत्पादन परिमाणको आधारमा इलाम, सोलुखुम्बु, पाँचथर र धनकुटा गरी ४ वटा जिल्लाहरू अग्रणि स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा किबी खेतीमा संलग्नमध्ये ७० प्रतिशत किसानहरूले यस व्यवसायसँग सम्बन्धित कुनैन कुनै किसिमका तालिम, प्रशिक्षण, परामर्श सेवा लिएका तर, गुणस्तरीय युवा जनशक्तिको किबी खेती व्यवसायमा आर्कषण नरहेको केन्द्रीय बैंकको विराटनगर कार्यालयले जनाएको छ ।

इलाम, सोलुखुम्वु र धनकुटा जिल्लाको प्रमुख समस्या मौसमी प्रतिकूलता र जंगली जनावरको आक्रमण रहेको र पाँचथर जिल्लामा मलखाद, उन्नत बीउ/बेर्ना र अन्य उत्पादन सामग्रीको अभाव प्रमुख समस्याको रूपमा रहेको देखिएको छ । किबी फलको माग फलफुलजन्य वस्तुका रूपमा अन्तिम उपभोक्ताले मात्र गरिरहेका तर किबी फललाई कच्चा पद्धार्थको रूपमा उपयोग गर्ने अन्य उद्योग कलकारखानाको स्थापना र विकास
नहुँदा दीर्घकालीन बजारको अभाव हुनगई मूल्यमा असामान्य उतार–चढाव हुनेगरेको अवस्था रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ ।

प्रदेशमा रहेका करिब ६१ प्रतिशत किबी किसानहरूको व्यावसायिक पुँजीको मुख्य स्रोत स्वःपुँजी रहेको तथाकिबी खेती व्यवसायमा बैंक–वित्तीय संस्थाको ऋण लगानी केवल २५ प्रतिशत रहेको देखिएको छ । वित्तीय क्षेत्रसँग सम्बन्धित समस्याको रूपमा सोलुखुम्वु र धनकुटा जिल्लामा बैंक वित्तीय संस्थाबाट ऋणको सहज उपलब्धता हुन नसक्नु प्रमुख रूपमा रहेको छ भने पाँचथर र इलाम जिल्लामा सहुलियतपूर्ण कर्जाको सहज
उपलब्धता हुन नसक्नु प्रमुख समस्याको रूपमा रहको देखिएको छ ।

कोशीमा किबी फल व्यवसाय आर्थिक रुपले लाभदायक र सम्भाव्य रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो प्रदेशमा उत्पादित किबीको प्रति के.जी. औसत आम्दानी रु.१३१ रुपैयाँ र प्रति के.जी. औसत मुनाफा रु.९६.९ रहेको छ ।

प्रदेशमा किबी खेती व्यवसायमा ठूला लगानीकर्ताहरूको पर्याप्त आकर्षण रहेको देखिएको छैन । परम्परागत कृषि व्यवसाय गर्दै आएका साना किसानहरूले नै यस व्यवसायको शुरुवात गरेको देखिन्छ । पूँजीको अभावमा व्यवसायलाई आधुनिकीकरण गरी ठूलो स्तरमा सञ्चालन गर्ने क्षमता रहेको छैन । नेपालका ठूला लगानीकर्ताहरूले आर्थिक रुपले अत्यन्त सम्भाव्य रहेको किबी खेती व्यवसायमा लगानी गर्दै यसलाई प्रशोधन र उपयोग गर्ने अन्य कलकारखानामा लगानी बढाउन आवश्यक देखिएको छ ।

Special-Study-Report-Biratnagar_Kiwi

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]