December 28th, 2023

वेनेफिसियरीको बैंक खातामा जम्मा हुनेगरी विदेशबाट पैसा ल्याउन सकिने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विदेशबाट फिर्ता नहुने गरी सम्बन्धित व्यक्ति वा संस्थाको खातामै जम्मा गरेर रकम नेपाल ल्याउन सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बिक्री, कमिशन, शुल्क तथा पारिश्रमिक बापतको फिर्ता नहुने रकम हुनुपर्ने ब्यवस्था गरेको हो । केन्द्रीय बैंकले बिक्री, कमिशन, शुल्क तथा पारिश्रमिक रकम विदेशबाट विप्रेषणको माध्यमबाट भित्र्याउँदाका सीमा भने बढाएको छ । यस्तो रकम यसभन्दा अघि १५ लाख रहेकोमा केन्द्रीय बैंकले बढाएर २० लाख रुपैयाँ कायम गरेको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक २० लाख रुपैयाँसम्म ल्याउन सकिने व्यवस्था गरेको छ । विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्था बमोजिम ग्राहक पहिचानका कागजातहरू लिएको हुनुपर्नेछ । त्यस्तो कारोबार सम्बन्धी विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र केन्द्रीय बैंकमा विवरण पेश गर्नुपर्नेछ ।

त्यसैगरी नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट प्राप्त हुने रकम सम्बन्धित वेनेफिसियरीको बैंक खातामा जम्मा गर्नेगरी ल्याउन सकिने छ । तर, समाज कल्याण ऐन, २०४९ बमोजिमका सामाजिक संघ संस्थाले भित्र्याउने रकमको हकमा भने प्रचलित कानुन बमोजिम समाज कल्याण परिषद्लाई गराइएको पूर्व जानकारी वा पूर्व स्वीकृति समेत आवश्यकपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि जापान, दक्षिण कोरिया, युरोप महादेश, संयुक्त राज्य अमेरिका र क्यानाडा जाने नेपाली नागरिकको हकमा अधिकतम अमेरिकी डलर ५०० सटही सुविधा हुने केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी अन्य मुलुक जानेको हकमा अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा दिने व्यवसथा केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी सुन बिक्रेता वाणिज्य बैंकमा सुन खरिद गर्ने व्यवसायीको बैंक खाता नभएता पनि सुन बिक्री गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ । तर, यसरी सुन खरिद गर्ने व्यवसायीले अन्य बैंक तथा वित्तीय संस्थामा भएको सम्बन्धित व्यवसायीको खाताबाट भुक्तानी गर्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]