December 12th, 2023

अपांगमैत्री बैंकिङ सेवाको माग

   

बैंकिङ खबर/ अपांगता भएका व्यक्ति तथा यससँग सरोकार राख्ने संघसंस्थाले अपांगतामैत्री बैंकिङ सेवाको माग गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित‘अपांगता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त बैंकिङ सेवाको आवश्यकता विषयक’गोष्ठीमा सहभागीहरुले नियामक निकाय नेपाल राष्ट्र बैंकसँग बैंकवित्तले पहुँचयुक्त बैंकिङ सेवा दिन नसकेको गुनासो गरे ।

उनीहरुले बैंकमा खाता खोल्दा साक्षी संरक्षणको समस्या, बैंकको खाता नम्बर, एटीएम कार्डमा समस्या, अपांगता भएका व्यक्तिहरु बैंकवित्तमा पुग्दा सहज पार्कीङ व्यवस्था नहुनु लगायतका समस्या हुने गरेको बताएका थिए । उनीहरुले अपांगतामैत्री पार्किङ स्थलको सुविधा, सवारी साधन खरिद गर्दा अपांगता भएका व्यक्तिहरुका सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरे ।

कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले ‘पहुँचयुक्त बैंकिङ सेवा, कानूनी प्रावधान, अवरोध तथा चुनौती र अबको बाटो’ विषयक कार्यपत्र प्रस्तुत गर्दै विभेदकारी कानून र नीतिहरू, कानून र नीतिहरूको गलत व्याख्या, पहुँचयुक्त नभएका भौतिक पूर्वाधार, सीमित डिजिटल पहुँच र पहुँचयुक्त सूचनाको अभाव मुख्य चुनौतीको रुपमा रहेको बताए । उनले विभेदकारी कानूनहरुको संशोधन, अपाङ्गता सम्बन्धी कानून र नीतिहरूमा समबुझाई निर्माण, ओपीडीको सहभागिता तथा परामर्श, भौतिक संरचनामा सुधार, डिजिटल बैंकिङ तथा सेवामा पहुँच बढाउन र सञ्चारका वैकल्पिक माध्यमहरुको प्रदान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अपाङ्गता अधिकार वकालत कोषका कृष्ण गहतराजले साउथ कोरियाको अपांगमैत्री बैंकिङ प्रणालीको उदाहरण दिँदै नेपालमा न्यूनतम रुपमा प्रगति हुन नसकेको बताए ।

नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले नेपालमा वाणिज्य बैंकहरुले अपांगता भएका व्यक्तिहरुका लागि सेवा सुविधा दिन नसकेको बताए ।

अपाङ्गता भएका महिलाहरुको महासंघकी अध्यक्ष निर्मला धितालले वाणिज्य बैंकका शाखाहरुमा एटीएम बुथ नहुने समस्या, क्यूआर कोडमा आवाज नहुँदा समस्या हुने गरेको बताइन् ।

कार्यक्रममा सहभागीको गुनासो सुन्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंक अन्तर्गत बैंक तथा वित्तीय नियामक शाखाकी डेपुटी डाइरेक्टर रागिनी सिंहले सबै बैंक तथा वित्तीय संस्थालाई जारी हुने गरी नेपाल राष्ट्र बैंकले सरल बैंकिङ सम्बन्धी व्यवस्था भनेर निर्देशन जारी गरेको बताइन् ।

उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाले अपांगता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङजस्ता वित्तीय सेवाहरु व्यक्ति स्वयम्ले उक्त सेवा उपयोग गर्न सक्षम रहेको एकीन गरी उपलव्ध गराउनुपर्ने छ भनेर भनेका छौं ।’ उनले राष्ट्र बैंकले विपन्न वर्ग कर्जा अन्तर्गत रहेर अपांगता भएका व्यक्तिलाई कर्जा प्रवाह गरेको बताइन् ।

नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय साक्षरता सम्बन्धी सचेतनालाई आक्रमक रुपमा अगाडि बढाएको पनि उनको भनाइ छ । बैंक वित्त सम्बन्धी केहि गुनासो भएमा राष्ट्र बैंकको छुट्टै शाखा स्थापना गरेको र वेभ साइडबाट पनि गुनासो दर्ता गर्न सकिने उनले बताइन् ।

अपाङ्गता अधिकार कोष र अपाङ्गता अधिकार वकालत कोषको सहयोगमा भएको कार्यक्रम बहिरा दृष्टीविहीन अभिभावक समाज, नेपाल नेत्रहीन संघ, अपांगता भएका महिलाहरुको महासंघ, राष्ट्रिय बहिरा महासंघ नेपालको संयुक्त आयोजनामा भएको हो । कार्यक्रमको सहजीकरण राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सन्तोष केसीले गरेका थिए ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]