February 14th, 2023

जोखिम के हो ? वित्तीय संस्थाहरुका जोखिम के हुन् ?

कृष्ण बाबु घिमिरे

सामान्य भाषामा भविष्यमा हुन सक्ने क्षति हानी नोक्सानी वा अनिश्चितताको अवस्था नै जोखिम हो । यो सम्भावना वा अनिश्चितता बीचको अवस्था हो । जोखिमको अर्थ भन्नि भिन्न पक्षको लागि फरक–फरक हुन सक्छ । गाडी, घोडा चढ्नेहरुका लागि जोखिम भन्नसाथ दुर्घटनालाई जनाउँछ । त्यसै गरी खेलाडिको लागि जोखिमले खेलमा हार्ने सम्भावनालाई जनाउँछ ।

विद्यार्थीहरुको लागि जोखिम भन्नाले परीक्षामा पास, फेललाई जनाउँछ भने लागनीकर्ताको लागि जोखिमले सम्पूर्ण लगानी डुब्ने वा आश गरेको भन्दा कम आन्दानी हुने सम्भावनालाई जनाउँछ । यि सबै सम्भावित परिणामहरुमा एउटा साझा तत्व छ जुन सबैले चाहँदैनन् ।

जोखिम लिन कसैले चाहदैनन् । त्यसैले यसलाई पन्छाउन चाहन्छन् । वित्तशास्त्रमा जोखिमको अर्थ लगानी प्रतिफलको उतारचढाव हो । त्यसैले अपेक्षित प्रतिफल प्राप्त हुन नसक्ने सम्भावनालाई जोखिम भनिन्छ । सम्भावना र अनिश्चय जोखिमका जन्मदाता हुन् । शतप्रतिशत निश्चत र शतप्रतिशत अवस्थामा जोखिमको अस्तित्व रहँदैन । यसको अस्तित्व शुन्य भन्दा माथि र एक भन्दा तल मात्र रहन्छ ।

जोखिम र प्रतिफल बीच सोझो सम्बन्ध हुन्छ । जसरी तोरीको दाना भित्र तेल र दुध भित्र घिउ लुकेको हुन्छ । त्यसै गरी सम्भावना र अनिश्चिय भित्र अवसर अनि जोखिम भित्र प्रतिफल लुकेर बसेको हुन्छ । भनिन्छ ‘Hight Risk High Return And Low Risk Low Return’ वित्तीय संस्थाहरुको व्यवस्थापनको सन्दर्भमा जोखिमलाई यसरी प्रस्ट्याउन सकिन्छ ।

(१) कर्जा सम्बन्धी जोखिम (Credit Risk)

सबै वित्तीय संस्थाहरुको प्राथमिक काम भनेको कर्जा दिने र लिने हो । वित्तीय संस्थाहरुले तोकिएको समयमा व्याज पाउने र भविष्यमा साँवा फिर्ता पाउने हेतुले कर्जा दिने गर्दछन् । तर केही ऋणीहरुले ब्याज र सावा भुक्तानी गर्न सक्दैनन् । यसरी साँवा र व्याजको भुक्तानी दिन नसक्नुलाई कर्जा जोखिम भनिन्छ ।

सबै प्रकारका वित्तीय संस्थाहरुले यस्तो जोखिम बहन गर्नुपर्दछ । वित्तीय संस्थाहरुको मुनाफामा कर्जा जोखिमको प्रभाव बढी हुन्छ । कर्जा जोखिमले वित्तीय संस्थामा नकारात्मक असर पार्छ ।

(२).तरलता सम्बिन्धत जोखिम (Liquidity Risk)

वित्तीय संस्थाहरुको लागि तरलता सम्बन्धी जोखिम गम्भीर प्रकृतिको हुन्छ । जुन अवस्थामा संस्थाहरुको नगद अकस्मात बहिर्गमन बढ्न सक्छ । त्यसलाई नै तरलता जोखिम भनिन्छ ।

निक्षेप कर्ताले मागेको बखत दिन नसक्ने अवस्था तरलता जोखिम हो । तरलता सम्बन्धी जोखिमलाई दायित्व तर्फको तरलता जोखिम र सम्पत्ति तर्फको तरलता सम्बन्धी जोखिम गरी बुझ्न सकिन्छ ।

वित्तीय संरचनाले तरलताको दिर्घकालिन समस्या समाधान नगरे दामासाहीको समस्यामा परिवर्तन हुन सक्छ । यसले वित्तीय संस्थाको नगद मौज्दात र equity दुवै शुन्यमा झार्न सक्छ ।

३, ब्याजसम्बन्धी जोखिम(Interest Rate Risk)

ब्याजदर सम्बन्धी जोखिम व्याजदरमा आउने तीब्र उतारचढाप र सम्पत्ति तथा दायित्वको भुक्तानी समयको विमेलले हुन सक्छ । ब्याजदर सम्बन्धी जोखिम पुर्नःकर्जा जोखिम र पुनरलगानी जोखिम गरी २ प्रकारका छन् ।

दायित्तवको भुक्तानी अर्थात् सम्पत्तिको भुक्तानी अवधिभन्दा कम भएको अवस्थामा ब्याजदरमा लचकता पैदा हुन सक्छ । तसर्थ, यसलाई ब्याजदर सम्बन्धी जोखिम भन्न सकिन्छ ।

४) ब्याज जोखिम(Market Risk)

खास गरी बजार सम्बन्धी जोखिम वित्तीय संस्थाहरुले धितोपत्र कारोबारमा संलग्न भएको कारणले सिर्जना हुन्छ । बजार सम्बन्धी जोमि व्याज सम्बन्धी जोखिम र वैदेशिक विनिमय जोखिम भन्दा अतिरिक्त जोखिम हो । समयको परिवर्तनशिल गतिको साथसाथै वित्तीय संस्थाहरुको परम्परागत भूमिकामा परिवर्तनले आएको छ ।

आफ्नो बजार ओगट्न तथ्य विस्तार गर्नका लागि वित्तीय संस्थाहरुले विभिन्न नयाँ नयाँ काम गर्ने गरेको पाइन्छ । सन् १९९५ मा दुई वर्ष पुरानो ब्रिटिश मर्नेन्ट बैंक–बोरिङ, धितोपत्रको बारोबारमा भएको घाटाले गर्दा असफल भयो । सो समयमा १ महिनामा $ १.२ अर्बभन्दा बढी घाटा व्यहोर्नु पर्‍यो । त्यसैले गर्दा बैंक विलय भयो । बजार नबुझी धितोपत्रको कारोबार गर्दा ठूलो जोखिम व्यहोर्नु पर्दछ । 

५.वासलात बाहिरको जोखिम

वसलात बाहिरको जोखिमहरु भन्नाले एलसी, ज्ञारेन्टी, फरवार्ड, Swaps आदि बुझिन्छ । आजभोली वित्तीय संस्थाहरुलाई यस्ता कारोबारमा बढी संलग्न भएको पाईन्छ । तत्काल वासलातमा नदेखिएको भविष्यमा दायित्वमा परिवर्तन हुन सक्ने भएकोले जोखिम उच्च हुन्छ ।

६.विदेशी विनिमय सम्बन्धी जोखिम

वित्तीय सेवाहरुको बढ्दो भुमण्डलीकरणको कारणले गर्दा वित्तीय संस्थाहरुको विनिमय सम्बन्धी जोखिम पनि बढ्दो छ । वैदेखिक विनियम जोखिमले वैदेशिक विनिमयदरमा घटबढ हुँदा वित्तीय संस्थाहरुको विदेशी मुद्रामा भएको सम्पत्ती र दायित्वको मूल्याकन हुन सक्ने प्रभावलाई जनाउँछ ।

७.सार्वभौम जोखिम

विदेशी सरकारको हस्तक्षेपबाट विदेशी ऋणीलाई दिएको कर्जाको भुक्तानी नहुन सक्दछ । विदेशी सरकारको हस्तक्षेपबाट कर्जा असुली नहुने जोखिमलाई सार्वभौम जोखिम भनिन्छ । यो जोमिखलाई कन्ट्रि रिक्स पनि भनिन्छ ।

८.प्रविधि तथा सञ्चालन जोखिम

विश्वव्यापी रुपमा बदलिँदो प्राविधिक विकासले वित्तीय संस्थाहरुले दिने सेवामा क्रान्ति नै ल्याएको छ । वित्तीय संस्थाहरुलाई प्रविधिसँग समायोजना हुन अति नै कठिन छ । प्रविधि सम्बन्धी जोखिम र सञ्चालन जोखिम एक आपसमा सम्बन्धित छन् ।

सञ्चालन जोखिम भनेको अपर्याप्त वा कमजोर आन्तकिर प्रणाली, कमजोर कार्य प्रद्धति, अपर्याप्त जनशक्ति वा कुनै बाह्य कारणले हुन सक्ने सम्भावित नोक्सानीलाई सञ्चालन जोखिम भन्न सकिन्छ ।

९.दामसाही सम्बन्धी जोखिम(Insolverey Risk)

वित्तीय संस्थाहरुको सम्पत्तीको मूल्य यिनिहरुको दायित्वको तुलनामा अकस्मात कम हुन सक्छ । यस्तो अवस्थामा वित्तीय संस्थाहरुसँग अकस्मात घटेको मुल्यलाई पुरा गर्नको लागि आवश्यक पुँजी नहुन सक्दछ । संस्थाहरुको यस्तो जोखिमलाई दामासाही सम्बन्धी जोखिम भनिन्छ ।

१०).अन्या जोखिमहरु
वित्तीय संस्थाहरुले खेल्नुपर्ने अन्य जोखिमहरुमध्ये
–करको दरमा अकस्मात परिवर्तन हुनु
–कानूनी नियम परिवर्तन हुनु
–मुद्रास्फीति दर
–रोजगारीको अवस्था
–आर्थिक सूचक आदिले संस्थाहरुको जोखिमलाई प्रभाव पार्दछ ।

लेखक घिमिरे बैंकर हुन् ।

 

 

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]