December 23rd, 2022

राष्ट्र बैंकको प्रतिवेदन : २८ प्रतिशत वयस्कको सेयरमा लगानी

बैंकिङ खबर/राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार करिब २८ प्रतिशत वयस्कले सेयरमा लगानी गरेका छन्। राष्ट्र बैंकले प्रतिवेदन अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका कुल नौ हजार तीन सय ६१ नेपाली नागरिकको छनोट गरेको थियो। वित्तीय साक्षरतासम्बन्धमा राष्ट्र बैंकले नमूना सर्वेक्षण गरेको हो।

प्रतिवेदन अनुसार नेपालीहरूको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७.९ प्रतिशत छ । राष्ट्र बैंकले वित्तीय ज्ञान, वित्तीय व्यवहार र वित्तीय मनोवृत्तिको आधारमा सर्वेक्षणमा सहभागीहरूलाई अंक प्रदान गरेको छ । प्राप्त अंकको आधारमा राष्ट्र बैंक यस्तो निचोडमा पुगेको हो। राष्ट्र बैंकका अनुसार सहभागीमध्ये ४७.३ प्रतिशतमा वित्तीय ज्ञान, ६३.५ प्रतिशतले वित्तीय व्यवहार गर्ने गरेको र ६२.९ प्रतिशतमा वित्तीय मनोवृत्ति रहेको पाइएको छ ।

वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयामहरूमा न्यूनतम अंक प्राप्त गरेका छन्। वित्तीय ज्ञानमा ३६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसहरूले न्यूनतम अंक प्राप्त गरेका छन्।

वित्तीय ज्ञानमा युवा पुस्ताहरू बढी अगाडि छन्। १८–३० वर्षका मानिसरूको वित्तीय साक्षरता ६३.२ प्रतिशत रहेको छ जबकी ६० वर्ष काटेकाहरूको वित्तीय साक्षरता २७.९ प्रतिशत पाइएको छ। त्यस्तै शिक्षाको तह बढ्दै जादा पनि वित्तीय साक्षरता बढ्दै गएको छ। वित्तीय समावेशिताको स्थिति आँकलन गर्न राष्ट्र बैंकले वित्तीय उपकरणहरुको प्रयोगलाई हेरेको छ। सर्वेक्षणमा सहभागी ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३०.०२ प्रतिशतले बीमा सेवा र ४६.३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेको पाइएको छ ।

बचत उपकरणहरूमध्ये ७१.०६ प्रतिशत वयस्क जनसंख्याले बचत खाताको प्रयोग गरेको पाइएको छ। सहभागीमध्ये लगानी कोषको प्रयोग सबैभन्दा कमले गरेका छन्। वयस्क जनसंख्याको ८.४६ प्रतिशतले निर्जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन् भने २६.७८ प्रतिशतले जीवन बीमा उपकरणहरू प्रयोग गरेका छन्।

लगभग दुई तिहाइ वयस्क जनसंख्या कम्तीमा ५ किसिमका वित्तीय उपकरणबारे सचेत छन्। अझै पनि ७१.८३ प्रतिशत वयस्क जनसंख्या आफ्नो आर्थिक आवश्यकता पूरा गर्न परिवार तथा साथीभाइमा बचत वा ऋणको लागि माथि निर्भर रहेका छन्। पुरुषको वित्तीय साक्षरता ६१.८ प्रतिशत पाइएको छ जुन महिलाको तुलनामा ७.५ प्रतिशतले बढी हो। पुरुषको वित्तीय ज्ञानमा ५६.५ प्रतिशत रहेको छ जुन महिलाको तुलनामा १७.९ प्रतिशतले बढी छ। वित्तीय ज्ञानमा लैङ्गिक भिन्नता सबै प्रदेशमा पाइन्छ।

वागमती प्रदेशका वयस्कहरू सबैभन्दा बढी वित्तीय रुपमा साक्षर रहेको देखिन्छ। यो प्रदेशमा ६४.५ प्रतिशत वित्तीय रूपमा साक्षर छन्। मधेश प्रदेशको सबैभन्दा कम ५२ प्रतिशत छ। वित्तीय ज्ञानमा रहेको भिन्नताको कारण वित्तीय साक्षरता अंकमा फरक फरक देखिएको हो।

तुलनात्मक रूपमा बागमती प्रदेशमा जनसंख्याको सबैभन्दा बढी हिस्साले र मधेश प्रदेशमा सबैभन्दा कम हिस्साले वित्तीय प्रयोग गर्ने गरेका छन्।भुक्तानी सेवाका प्रयोग सबैभन्दा बढी महानगरपालिकामा ९१.९ प्रतिशत वयस्क जनसंख्याले गर्ने गरेको पाइएको छ। कृषि, निर्माण र अन्य क्षेत्रहरूमा रहेका कामदारहरू भुक्तानी उपकरणको कम प्रयोग गर्छन्। अझै पनि ठूलो संख्यामा (४५.५४ प्रतिशत) मानिसहरू सामूहिक बचत ऋण प्रयोग गरिरहेका छन्।

तुलनात्मक रूपमा युवा पुस्ताले बचत, लगानी उपकरणहरूको प्रयोग गर्ने गरेको पाइएको छ। अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रका मानिसहरुको थोरै हिस्साले मात्र बचत उपकरण प्रयोग गरेका छन्।

सर्वेक्षणमा ४६.३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेका छन भने जम्मा १७.६० प्रतिशतले मात्र बैंक कर्जा उपयोग गरेका छन्। कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम बैंक कर्जा प्रयोग गरेका छन्।

होटल र रेष्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन्। राष्ट्रिय स्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेका छन्।

अध्ययनका लागि देशभरिबाट १८ वर्ष माथिका कुल ९ हजार ३६१ नेपाली नागरिकहरूलाई छनोट गरिएको हो। व्यक्ति चयन गर्नको लागि बहु–चरण नमूना छनोट विधि प्रयोग गरिएको थियो।

Baseline-Survey-on-Financial-Literacy-in-Nepal-including-Financial-Inclusion-Indicators

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]