December 4th, 2022

बैंकिङ कसुरबाट बच्न बैंक/वित्तमा कार्यरत कर्मचारीले यी सावधानीहरु अपनाउनुहोस्

बैंकिङ खबर/ पछिल्लो समय निकै नै चर्चामा आएको विषय हो बैंकिङ कसुर । बैंकिङ कसुरकै कारण दिनप्रतिदिन विभिन्न व्यक्तिहरु जेल चलान भएका छन् । नेपालको इतिहासमा बैंकका प्रमुख कार्यकारी अधिकृतदेखि शाखा प्रबन्धकसम्मले बैंकिङ कसुरको सजाय भोगिरहेका छन् । बैंकमै कार्यरत कर्मचारीहरुमध्ये करिव २ दर्जन व्यक्तिहरु अहिले पनि जेलमा छन् । त्यसैगरी एकदर्जन बढी फरार अवस्थामा छन् ।

बाउन्स चेक दिने त कैयौं जेलमा छन् । फरारको संख्या पनि उत्तिकै छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भएका छन् । जुन आर्थिक वर्ष ०७७/७८ मा आठ सय ८० वटा मात्र बैकिङ कसुरका घटना दर्ता भएका थिए ।

पछिल्लो समय चेक बाउन्सले नै बैंकिङ कसुरका घटना बढाएको पाइएको छ । पछिल्लो समय चेक काउन्सकै कारण पक्राउ पर्ने क्रम बढ्दो रहेको छ । गत आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भए । त्यसमध्ये करिब पाँच हजार तीन सय चेक बाउन्ससँग सम्बन्धित रहेको प्रहरी आँकलन छ ।

प्रस्ट कानुन नभएकाले विगतमा चेक बाउन्सका थोरै मात्र घटनामा प्रहरीले बैंकिङ कसुर अपराधमा अनुसन्धान गर्दथ्यो । तर, पछिल्ला वर्ष चेक बाउन्स प्रहरी कार्यालयमा सर्वाधिक उजुरी पर्ने मुद्दा बन्न पुगेको छ । धेरैजसो देवानी प्रकृतिको लेनदेनसँग सम्बन्धित हुने भए पनि प्रहरीमार्फत जाँदा प्रभावकारी हुने भएकाले धेरै सर्वसाधारण बैंकिङ कसुरअन्तर्गत उजुरी गर्दछन् । यस्तो अपराधमा पीडित सीधै चेक अनादरको कसुरमा अदालत पुग्न सक्ने प्रावधान पनि छ ।

सीआईवीका प्रवक्ता एवं सूचना अधिकारी श्याम कुमार महतो चेक बाउन्सका घटनाले नै पछिल्लो समय बैंकिङ कसुरका घटना बढेको बताउनुहुन्छ । बैंकिङ खबरसँगको कुराकानीमा उहाँले भन्नुभयो,‘पछिल्लो समय समग्रमा फाइनान्सियल क्राइमहरु बढेको देखिन्छ । बैंकिङ कसूरको घटना बढेको छ, चेक बाउन्सको केशले अझ बढाएको छ ।’

बैंकिङ कसूरको घटना ३ वर्ष पहिलाको र अहिलेको संख्या हेर्ने हो भने दोव्वर बढेको उहाँ बताउनुहुन्छ । १० वर्ष पहिला बैंकिङ कसूरको घटना १० प्रतिशत मात्र हुन्थ्यो भने अहिले ठ्याक्कै उल्टो छ ।

बैंकिङ कसुरका घटनामा मुछिनेहरु बैंकका कर्मचारीदेखि बाउन्स चेक काट्नेसम्म छन् । यहाँ बैंकवित्तमा काम गर्ने कर्मचारीले बैंकिङ कसुरबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीहरु उल्लेख गरिएको छ ।

-अनधिकृत रुपमा कर्जा लिन वा दिन हुँदैन । अन्यथा बैंकिङ कसुर लाग्न सक्छ । कसैले पनि बैंक वा वित्तीय संस्थाबाट कर्जा लिँदा वा दिँदा देहायको कार्य गर्नु हुँदैनःगलत, झुट्टा वा नरहे नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी कर्जा लिन वा दिन हुँदैन ।

-धितोको अस्वाभाविक रुपमा बढी मूल्याड्ढन गरी कर्जा लिन वा दिन हुँदैन ।

-झुट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रुपमा बढाई बढी कर्जा लिन वा दिन हुँदैन ।

-आफुलाई प्राप्त भएको अख्तियारी वा स्वीकृत सीमा भन्दा बाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्न वा उपलब्ध गराउन हुँदैन ।

-बैंक वा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत वा कर्मचारीले सो बैंक वा वित्तीय संस्थाको प्रचलित कर्मचारी प्रशासन सम्बन्धी विनियमावली वा प्रचलित कर्मचारी -सापटी वा सुविधा सम्बन्धी विनियमावली बमोजिम पाउने कर्मचारी सुविधा अन्तर्गतको कर्जा वा सापटी बाहेक अन्य तवरले आफ्नो बैंक वा वित्तीय संस्थाबाट कर्जा वा सापटी लिन हुँदैन ।

-बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रचलित कानून बमोजिम वित्तीय स्वार्थ रहेको मानिने शेयरधनी वा त्यस्तो व्यक्तिको परिवारका सदस्यले आफ्नो बैंक वा वित्तीय संस्थाबाट कर्जा लिन हुँदैन ।

-तर मुद्दती रसिद, सुन वा सरकारी ऋणपत्रको सुरक्षणमा कर्जा लिन उल्लिखित व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।

-कुनै एक बैंक वा वित्तीय संस्थालाई एकपटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभई सोही सुरक्षण अर्को बैंक वा वित्तीय संस्थामा राखी पुनः कर्जा लिन वा दिन, हुँदैन । तर सुरक्षणको मूल्यले खामेको हदसम्म सहवित्तीयकरण सम्बन्धी प्रचलित कानून बमोजिम दोश्रो हक कायम (पारिपासु) हुने गरी कर्जा दिन वा लिन यो बन्देज लागू हुने छैन ।

-व्यवसाय सञ्चालन गर्न सक्ने वित्तीय हैसियत नभएको वा आफूले अनुचित प्रभाव पार्न सक्ने व्यक्तिको नाममा संस्था संस्थापना गराई त्यस्तो संस्था मार्फत वा नक्कली ऋणी खडा गरी त्यस्तो ऋणी मार्फत कर्जा लिन वा त्यस्तो कुरा जानी जानी कर्जा दिन वा कर्जा लिने वा दिने कार्य गर्न वा गराउन हुँदैन ।

-ग्राहकको कारोबारको तुलनामा आवश्यकता भन्दा बढी कर्जा दिन हुँदैन ।

-कर्जा सुविधा उपलब्ध गराए बापत कुनै किसिमको अनुचित लाभ लिन वा दिन हुँदैन ।

-बैंक वा वित्तीय संस्थाका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफूले समेत ऋण सुविधा उपभोग गर्ने मनसायले -नक्कली ऋणी खडा गरी त्यस्तो ऋणको पुरै वा आंशिक रकमको भुक्तानी लिन वा दिन हुँदैन ।

-बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफ्नो वित्तीय स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको नाममा कुनै प्रकारको ऋण प्रवाह गर्न हुँदैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]