May 20th, 2022

साताभर के के भए बैंकिङ गतिविधि ? हेर्नुहास्, एउटै पानामा

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले बढी चर्चा पायो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :-

नबिललाई एनबी गाभ्न बाटो खुल्यो, लक्ष्मीबहादुरले लिए मुद्दा फिर्ता

नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्दा अन्ततः फिर्ता भएको छ । सो रिट निवेदकले फिर्ता लिएसँगै दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने बाटो खुलेको छ ।

नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो ।

एकल इजलासले तत्काल मर्जर अगाडि नबढाउन आदेश दिएपछि दुबै पक्षको कुरा सुन्न उक्त मुद्धा संयुक्त इजलासमा पुगेको थियो । मंगलबारको लागि सुनुवाइ तोकिएको उक्त मुद्दा मंगलबार पनि सुनुवाइ हुन सकेन भने बुधबार पनि सो मुद्दा हेर्न नमिल्नेमा परेको थियो ।
बिहीबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र सुस्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो । तर सुनुवाई सुरु नहुँदै मुद्दा फिर्ता लिएको छ ।

मुद्दा फिर्ता भएसँगै अब दुई बैंकबीचको मर्जर प्रकृया अघि बढ्ने भएको छ। दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने ती बैंकले जेठ ७ गते एक्विजेशनको लागि विशेष साधारणसभा बोलाएका छन् ।

संसदमा बजेट बहस 

आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तावित बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि संसदमा छलफल भइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ ३ गते संसदमा प्रस्ताव गर्नुभएको उक्त विधेयकमाथि सांसदहरुले आफ्ना धारणाहरु राखि रहेका छन् । हालसम्म दर्जन बढी सांसदले आफ्नो धारणा राखिसकेका छन् ।

साउन १ गतेदेखि नै बजेट कार्यान्वयन गर्ने गरी जेठ १५ गते बजेट ल्याउन थालेको सातौँ वर्षमा चल्दै छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेर सरकारले विदेशिएका युवालाई देशभित्रै रोजगारी तथा कृषिको उत्पादन वृद्धि गर्ने लक्ष्यलाई पनि बजेटको केन्द्रमा राख्ने उल्लेख गरिएको छ ।

गभर्नर अधिकारीसँग लगानीकर्ताले राखे ४ बुँदे माग

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सेयर लगानीकर्ताले यसै साता ४ बुँदे माग पेश गरेका छन् । बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताका संघले गभर्नर अधिकारीलाई नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघले मागपत्र पेश गरेका हुन् ।

दुई वटा संघले पेश गरेको मागपत्रमा ४ करोड एउटा बैंक र १२ करोड सम्मको सेयर कजाए ऋणको सिमाले सेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई राष्ट्र बैंकबाट फिर्ता लिने रहेको छ । उनीहरूले यो व्यवस्था तत्काल हटाउन समेत माग गरेका छन् ।

यस्तै आर्थिक वर्ष २०७९/८० को साउन १ देखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन अनुरोध गरेको छ ।

अर्को मागमा मर्जर एक्यूजिसनले सेयर कारोबार रोकिदा आम लगानीकर्ताको चल अचल सम्पति बन्ध भइ नोक्सानीर राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परेको छ । उक्त कार्य काल बैंक तथा वित्तीय संस्थाले बार्षिक साधारणसभाको लागि दाखिल खारेजी गर्ने व्यवस्था गरे जस्तै गरी केही सिमित अवधिको लागि मात्रै कारोबार रोक्का रहने व्यवस्था गर्न अनुरोध गरेको छ ।

दुवै वटा संघले राखेको मागमा देशमा विद्यमान तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना भएकोले राष्ट्र बैंक जस्तो संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

बैंकवित्त हप्तामा २ दिन बिदा लागू 

यहि साताबाट बैंकवित्तमा हप्तामा दुई दिन बिदा लागू भएको छ । नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थामा पनि शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बुधबारको स्वीकृति बमोजिम बैंकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । दसैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंक विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखासमेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट हुने आटीजीएस सेवा, मौद्रिक व्यवस्थापन विभागबाट हुने सेवालगायत अन्य अत्यावश्यक सेवा तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारीलाई खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्नुपर्ने पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। ती सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउन पनि निर्देशन दिइएको छ ।

जेठबाट कार्यालय समय बिहान ९ः३० बजेबाट अपराह्न ५ः३० बजेसम्म कायम गरिएको छ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय सयम बिहान ९ः३० बजेबाट ४ः३० बजेसम्म कायम गरिएको छ ।

यसैगरी जेठबाट बैंकिङ कारोबार समय बिहान ९ः३० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ कारोबार समय बिहान ९ः३० बजेबाट अपराह्न ३ः३० बजेसम्म तोकिएको छ । सार्वजनिक बिदाबाहेक २०७९ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

यसअघि कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।

त्यस्तै सार्वजनिक बिदाबाहेक वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म आइतबारदेखि बिहीबारसम्म बैंकिङ बिहान १० बजेदेखि साँझ ४ बजेसम्म खुला रहने भनिएको थियो ।

यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबारका दिन भने बिहान १० बजेदेखि दिउँसो मध्याह्न १२ः३० बजेसम्म कामकारबाही हुने भनिएको थियो ।

नेपालसहित ३२ देशका केन्द्रीय बैंक ‘बिटक्वाइन’ बारे छलफलमा

नेपाल राष्ट्र बैंकसहित ३२ देशका केन्द्रीय बैंक र १२ वटा वित्तीय गरि ४४ देशहरु यसै हप्तादेखि बिटक्वाइनबारे छलफलमा जुटेका छन् । विश्वभरका ३२ मुलुकका केन्द्रीय बैंक र १२ वित्तीय अधिकारीबीच सेल्ट्रल अमेरिकी राष्ट्र एल साल्भाडोरमा वित्तीय समावेशीकरण, डिजिटल इकोनोमीका साथै बिटक्वाइनका विषयमा छलफलमा जुटेका हुन् ।

एल साल्भाडोरका ४३ औँ राष्ट्रपति नयिब बुकेलेका अनुसार छलफलमा नेपालसहित अन्य ३२ वटा मुलुकका केन्द्रीय बैंक र १२ वटा वित्तीय संस्थाका अधिकारीहरुको उपस्थिति भएका छन् । बुकेलेले ट्विटरमा भनेका छन्, ‘छलफलमा बिटक्वाइन, डिजिटल इकोनोमीलगायतले मुलुकलाई हुने फाइदाबारे छलफल गरिने छ ।’

एल साल्भाडोर बिटक्वाइनलाई मुद्राका रुपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश पनि हो । कार्यक्रममा वित्तीय समावेशीकरण, डिजिटल अर्थतन्त्र, बैंकिङ व्यवस्था लगायत एल साल्भाडोरमा बिटक्वाइनको प्रयोग र देशले यसबाट लिएका फाइदाको विषयमा छलफल हुनेछ ।

आरटीजीएस प्रणाली थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध

रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमा मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आबद्ध भएका हुन्।

बुधबारदेखि नै यी ४ बैंक तथा वित्तीय संस्थाले आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट्सका रुपमा आबद्ध भई कारोबार गर्ने राष्ट्र बैंकले जनाएको छ।

५ वीमा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान

बीमा समितिले ३ वटा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । बीमा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं.लि. र युनियन लाइफ इन्स्योरेन्स कं.लि. लाई एक आपसमा गाभ्न र गाभिन मंगलबार सैद्धान्तिक सहमति दिएको हो।

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ । ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि, मिति २०७९/०१/२३ मा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स कं।लि। र एभरेष्ट इन्स्योरेन्स कं।लि। लाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

 

मिथिला लघुवित्तको सीईओमा पुनः राउत 

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सत्यदेव राउत नियुक्त हुनुभएको छ । संस्थाको सञ्चालक समितिको जेठ २ गते सोमबार बसेको बैठकले सीईओमा पुनः राउतलाई नियुक्त गरेको हो। योसँगै राउतको कार्यकाल पुनः ४ वर्षका लागि थपिएको छ।

राउतले विगत ४ वर्षमा मधेश प्रदेशका सबै जिल्लामा शाखा सञ्जाल पुर्याई ४४ वटा शाखामार्फत ३२ हजार ग्राहक सदस्यलाई आर्थिक रुपमा मात्र नभई सामाजिक तथा स्वास्थ्य क्षेत्रमा समेत सेवा गर्दै आएको बताउनुभयो ।

आईपिओ निष्काशनको अनुमति माग्दै थप ३ कम्पनीले दिए आवेदन

नेपाल धितोपत्र बोर्डमा थप ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन् । बोर्डमा मायाखोला हाइड्रोपावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मकर जितुमाया सुरी हाइड्रोले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

मायाखोला हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि ३४ करोड बराबरको ३४ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख २८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि १६ करोड ३२ लाख १६ हजार बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले गत चैत्र २ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

मकर जितुमाया सुरी हाइड्रोले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि २२ करोड ८० बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले बैशाख ८ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले शेयर निष्काशन गर्नेछन् ।

झन् मजबुद बन्यो डलर, हालसम्मकै उच्च मूल्य

 पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको भाउ निरन्तर कमजोर बन्दै गएको छ । सोही क्रममा शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १ सय २४.६७ रुपैयाँ (बिक्री दर) पुगेको छ । यो हालसम्मकै उच्च हो ।

राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको अमेरिकी डलरको विनिमय दरमा अघिल्लो दिनको तुलनामा २६ पैसाले बढी हो । गत बुधबार राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २४.४१ रुपैयाँ तोकेको थियो ।

गत मंगलबार (वैशाख २७ मा) देखि अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ । त्यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ र २०७७ वैशाख १० मा १ सय २३.२४ रुपैयाँसम्म पुगेको थियो । करिब ३ महिनाअघिसम्म डलर उकालो लाग्ने दरमा केही कमी आए पनि केही दिनयता पुनः उकालो लाग्न थालेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]