March 23rd, 2022

मोवाइल वालेट कम्पनीः मर्जरको सम्भावना कति ?

बैंकिङ खबर/ नेपालमा विद्युतीय भुक्तानी बढ्दै गईरहेको बेलासम्बन्धित कम्पनीहरुबीच मर्जरको चर्चा पनि हुने गरेको छ । सानो बजारमा डिजिटल भुक्तानी गर्ने कम्पनीहरुको संख्या तीव्र रुपमा बढ्दै गएकाले सबै कम्पनी टिक्नसक्ने अवस्था छैन । जसका कारण पनि मर्जरको चर्चा शुरु भएको हो ।

मर्जरमा जाऊ भनेर अहिलेसम्म कसैले मुख फोरेर प्रस्ताव अगाडि बढाएका छैनन् । धेरैजसो साना कम्पनीको मनसाय भने मर्जरमा गएर राम्रो व्यवसाय गरौं भन्ने देखिन्छ ।

विद्युतीय भुक्तानीसम्बन्धी कम्पनीहरुमा पनि बैंकहरुमा जस्तै समस्या हुने र मर्जरको स्थिति हुनसक्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले मोबाइल वालेट कम्पनीहरुलाई मर्जर र प्राप्ति (एक्विजेसन) जानसक्ने बाटो खोलिदिएको छ ।

राष्ट्र बैंकले ‘भुक्तानी तथा पछ्र्यौट विनियमावली, २०७७’ जारी गर्दै ‘अनुमतिपत्र प्राप्त संस्था एकआपसमा गाभ्न, गाभिन वा प्राप्ति गर्नसक्ने’ प्रावधान ल्याएको हो ।
राष्ट्र बैंकका अनुसार भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरु एकआपसमा गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्नेछन् र सो सम्बन्धमा बैंकले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछन् ।

राष्ट्र बैंकले मर्जरको विकल्प खोलिदिए पनि अहिलेसम्म कसैले त्यस्तो मनसाय व्यक्त गरिसकेका छैनन् । त्यस्तै, राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्ने मोबाइल वालेट कम्पनीहरुलाई पनि प्राथमिक साधारण सेयर अर्थात् आईपीओ जारी गर्नुपर्ने नियम ल्याएको छ ।
राष्ट्र बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ मार्फत ती कम्पनीहरुले तीन वर्षमा २० प्रतिशत यस्तो सेयर जारी गर्नुपर्ने प्रावधान ल्याएको छ ।

‘मर्जरको सम्भावना छ’
आशिष गौतम
चिफ म्यानेजर, इसेवा

इसेवा डिजिटल वालेटले ६० लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको अवस्था छ । साथै एजेण्टको प्रयोग गरी १ करोडभन्दा माथि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

इसेवा डिजिटल वालेटले ग्राहकहरुलाई नयाँ नयाँ फिचरहरु रिसर्च गरी बाहिरका फिचरहरु नेपालमा ल्याउने तथा ग्राहकहरुको मागअनुसारको फिचरहरु ल्याएर सेवा विस्तार गर्दै आएको अवस्था छ ।

इसेवा डिजिटल वालेटले ग्राहकको फिडब्याकलाई फोकस गरेर त्यही अनुसार नयाँ नयाँ फिचरहरु ल्याएर सेवा प्रदान गर्दै आएको छ । मर्जरको बारेमा नेपाल राष्ट्र बैँकले पनि कुरा उठाएको अवस्था छ । अहिले वालेट कम्पनीहरु २७ वटा पीएसपी र १० वटा पीएसओ छन् ।

टेक्नोलोजी फिल्ड भएकाले गर्दा मर्जरको सम्भावना पनि धेरै छ । वालेट कम्पनीहरु पनि मर्जरमा जानका लागि तयार छन् । उपयुक्त समयमा उपयुक्त पार्टनरको खोजी गरेर मर्जरमा जान सक्ने सम्भावनालाई नकार्न सकिदैँन ।

‘राष्ट्र बैंकबाट निर्देशन दिनुपर्ने देखिन्छ’

बिक्की शाही
प्रभु पे

प्रभु पे डिजिटल वालेटमा ग्राहक संख्या आठ लाखभन्दा बढी छन् । प्रभु पे भनेको मोबाइलबाट पनि कारोबार गर्न सकिने डिजिटल माध्यम हो । एउटै इकोसिस्टमबाट सबै किसिमका पेमेन्टहरु गर्न सकिन्छ । जहाँ युटिलिटी पेमेन्ट, ट्राभल टिकट, रेमिट्यान्स, इभेन्ट तथा भोटिङका टिकटहरु पनि प्राप्त गर्न सकिन्छ ।

यसबारेमा नेपाल राष्ट्र बैंकबाट निर्देशन तथा सूचना जारी भएपछि मात्र मर्जरको बारेमा विचार गर्न सकिने कुरा हो । अहिले सञ्चालन अनुमति पाएको संख्या नेपालका लागि धेरै हो । एउटै कम्पनीमा धेरैले लगानी गर्ने गरी मर्ज हुँदा राम्रो हुनेछ ।

‘मर्जरबारे नियमन निकायले बुझ्नुपर्ने हो’
राजु पौडेल
आईएमई ग्रुप

ग्राहकहरुलाई नेटवर्कको एक्सेस पु¥याउने हो । पछिल्लो समयमा रेमिट्यान्समा डिजिटल वालेटको माग भएअनुसार त्यसतर्फ पनि सेवा विस्तार गरेको अवस्था छ । अहिले यो डिजिटल वालेट कम्पनीहरुको इन्ड्रस्ट्रि नै नयाँ हो ।

कुनै पनि बिजनेशमा कुनै पनि कम्पनीले बिजनेश सुरु गर्दैमा नाफा कमाउँछ भन्ने हुदैन । सेवाग्राही पनि उक्त सेवाका बारेमा जानकार हुनुपर्छ, विस्तारै इन्डटी फैलिदै गरेको अवस्था छ । डिजिटल इन्डटीको भर्खर भर्खर मात्र उदय भएको कारणले कम्पनीहरु सक्षम होलान् भन्ने अपेक्षा गर्न सकिन्छ । मर्जरको सम्भावनाको बारेमा नियमन निकायलाई थाहा हुने कुरा हो । 

‘मर्जर सम्भावना  र आवश्यकता छ’
बिनय खड्का
सी.ई.ओ, खल्ती डिजिटल वालेट

खल्ती डिजिटल वालेटको ग्राहक संख्या २१ लाख भन्दा माथि रहेको छ । खल्ती डिजिटल वालेटले डाइरेक्ट ग्राहकमार्फत सेवा दिइरहेका छौँ । भन्नाले खल्ती एप नै डाउनलोड गरेर केवाइसी भेरीफाई गरेर मोबाइलबाट पेमेन्टहरु गर्नुहुन्छ । अर्काे स्मार्ट फोन प्रयोग नगर्ने ग्राहकहरुले तथा इन्टरनेट एक्सेस नभएको ठाउँमा ४५ हजारभन्दा बढी एजेन्टहरु छन् । त्यहाँबाट पनि हामीले पसल तथा स्टेशनरीहरुको माध्यमबाट सेवा विस्तार गर्दै आइरहेको अवस्था छ ।

नेपाल राष्ट्र बैंकले धेरै डिजिटल वालेट कम्पनीहरुलाई लाइसेन्स दिएको अवस्था छ । चार पाँच वटा बाहेक अरु डिजिटल वालेट कम्पनीहरुले राष्ट्र बैँकको क्राइटेरिया (तोकिएको युजर संख्या पुर्याउनुपर्ने, तोकिएको ट्रान्जेक्सन गर्नुपर्ने ) भन्ने नियम पुरा गर्न नसकेको अवस्था छ । त्यसैले मर्जरको सम्भावना छ । कतिपय कम्पनीहरु घाटामा पनि छन् ।

कम्पनीहरु नसकेर घाटामा भन्दा पनि एक्सपान्सनको खर्च, ¥यापिड ग्रोथका लागि लगानी गरेको भएर नाफा नदेखेको पनि हुन सक्छ ।समग्रमा जुन कम्पनी अलि हार्ड सिपमा छन्, तिनीहरुको मर्जरको सम्भावना छ, तर टपलाइनमा भएका कम्पनीहरु इ–सेवा, आईएमई, खल्ती जस्ता डिजिटल वालेट कम्पनीहरुको आफ्नै स्टाटिजी भएका कारणले त्यही अनुसार नै मर्जरको सम्भावना रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]