February 22nd, 2022

धितोमा बीमालेख, बीमितले लिए ५७ अर्ब ६९ करोड कर्जा

बैंकिङ खबर/ बीमालेख धितोमा राखेर बीमितले ५७ अर्ब ६९ करोड रुपैयाँ ऋण लिएका छन् । बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई आर्थिक समस्या पर्दा बीमालेख धितोमा राखेर कर्जा दिँदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि धितो मूल्याङ्कन हुन पर्छ । तर बीमा कम्पनीहरुले पोलिसीलाई नै धितो मानेर कर्जा दिने भएकाले यसमा बीमितको आकर्षण बढिरहेको छ ।

गत वर्षको तुलनामा यस वर्ष यस्तो कर्जा २२.४१ प्रतिशतले बढेको छ । गत वर्ष ४७ अर्ब १२ करोड रुपैयाँ प्रवाह गरेका थिए । जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले पोलिसी खरिद गरेको तीन वर्ष पूरा भएपछि मात्रै कर्जा पाउन सक्छन् ।

यस भन्दा अगाडी बीमालेख खरिद गरेको २ वर्ष पछि कर्जा पाउने व्यवस्था थियो । यसमा विक्रिति बढ्दै गएपछि समितिले कर्जा पाउन सक्ने अवधि बढाइदिएको हो । ऋणको रकम बढीमा समर्पण मूल्यको नब्बे प्रतिशत र घटीमा एक हजार रुपैयाँसम्म कायम गर्नु पर्ने व्यवस्था छ ।

समितिले कम्पनीहरुलाई यस्तो कर्जामा बाणिज्य बैंकहरुको प्रचलित व्याजदर भन्दा धेरै नलिन निर्देशन दिँदै आएको छ । यस वर्ष सबैभन्दा धेरै नेपाल लाइफले बीमितहरुलाई २१ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै दोस्रो धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनले १५ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको पाइन्छ । नेशनल लाइफले बीमालेख धितोमा राखेर ६ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको ।

एशियन लाइफले ३ अर्ब ३१ करोड रुपैया कर्जा लगानी गरेको पाइन्छ । राष्ट्रिय बीमा संस्थानले सबैभन्दा धेरै यस्तो कर्जा बृद्धि गरेको छ । संस्थाले यस्तो कर्जा ३०० प्रतिशतले बढाएर एक अर्ब ६० करोड रुपैया प्रवाह गरेको छ । पुराना जीवन बीमा कम्पनीहरु प्राइम, मेट लाइफ र सूर्या लाइफले एक अर्ब भन्दा धेरै लगानी गरेका छन् ।

नयाँ जीवन बीम कम्पनी मध्ये सबैभन्दा धेरै युनियन लाइफले ९१ करोड रुपैयाँ बीमालेख धितोमा राखेर कर्जा प्रवाह गरेको छ । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कम रिलायबल नेपाल लाइफले बीमालेख धितोमा राखेर जम्मा ९ करोड ७१ लाख रुपैयाँ मात्रै लगानी गरेको देखिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]