August 29th, 2018

 ‘नगद बीमा’: जसले चोरी भएको पैसाको क्षतिपूर्ति गर्छ

बैंकिङ खबर । तपाईँलाई थाहा छ ? नगद कारोबार गर्ने कुनै पनि संस्थाले नगद चोरी, डकैती हुनेजस्ता सम्भावित दुर्घटनाका जोखिम कम गर्न नगदको पनि बीमा गर्न पाइन्छ नि । बीमा समितिले हालसालै जारी गरेको बीमालेख हो नगद बीमा । यस बिमालेखले बैंक नोट, ट्रेजरी नोट, सुनको लाप्सा, गरगहना, एटीएमको रकम, सिक्का, बैंक ड्राफट, चेक, हुलाक आदेश, धनादेश, प्रमिसरी नोट, बिल अफ एक्सचेञ्ज, हुलाक टिकट तथा परिवत्र्य विदेशी मुद्राको बीमा गर्न सकिने व्यवस्था गरेको छ ।

कस्तो अवस्थामा बीमा दाबी भुक्तानी पाइन्छ ?
सो बीमा योजनाअनुसार बीमित वा बीमितले आफनो कामदार, कर्मचारी तथा आधिकारी प्रतिनिधिको साथमा अन्यत्र पठाएको नगद चोरी, डकैती वा अन्य कुनै कारणबाट क्षति वा हानि नोक्सानी भएमा बिमकबाट क्षतिपूर्ति भुक्तान गर्नेछ । त्यस्तै, बीमितको परिसरभित्र रहेको सेफ वा आलमारीमा राखेको नगद, कार्यलय समयभित्र भएको नगद वा कार्यलयको कर्मचारीले बेइमानीपूर्वक नगद चोरी गर्ने अवस्थाको समेत यस योजनाले जोखिम बहन गर्नेछ । साथै बीमितको कार्यालय परिसरमा नगद चोरी भएको अवस्थामा कार्यलयकै कुनै पनि कर्मचारीको व्यक्तिगत नगदसमेत हानि नोक्सानी भएमा प्रति बिमा अवधिमा बढीमा १० हजार रुपैयाँसम्म भुक्तान गर्ने व्यवस्था गरिएको छ ।

कस्तो अवस्थामा दाबी भुक्तानी पाइँदैन ?
भूकम्प ज्वालामुखी, आगलागी वा अरु कुनै प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई भने यस बिमा योजनाले समेट्ने छैन । त्यस्तै, वातावरणीय उथल पुथल, युद्ध, आक्रमण, विदेशी शत्रुको कारबाही, सैन्य विद्रोह, क्रान्ति, जंगी कानुन, घेराबन्दीको स्थिति, भूलचुक, लेखा स्रेस्ताको गल्ती, बीमितले आधिकारिक व्यक्तिबाहेक अन्यलाई सुम्पेको लगायतका कारणले नगद हिनामिना भएका यस योजनाले क्षतिपूर्ति भुक्तानी गर्दैन ।

अन्य शर्त तथा सीमाहरु
एउटा बिमालेखले एउटा मात्रै कार्यलयको रक्षावरण गर्न सक्नेछ । अर्थात् कुनै पनि बीमितकोे एकभन्दा बढी व्यावसायिक ईकाइ वा एकै व्यवसायका विभिन्न शाखा रहेको खण्डमा यो बिमालेख एक व्यावसायिक ईकाइका लागि मात्रै जारी गर्न सकिने व्यवस्था छ । त्यस्तै, बिमकले यस बीमालेखले बहन गर्ने जोखिमबाहेक अन्य जोखिम पनि बीमा गर्न चाहेमा बिमाशुल्क थप गरी जोखिम पनि थप गर्नसक्ने समितिले जनाएको छ । तर, बीमालेख जारी भइसकेपछि भने जोखिम थप गर्न पाइने छैन । साथै बीमा गर्दा बीमितले आफनो कार्यलय खुल्ने समय पनि बिमा सम्झौतामा उल्लेख गर्नुपर्नेछ । बीमितले आफूले बिमा नगरेको नगदको दैनिक अभिलेख राख्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]