March 31st, 2019

नेपाल लगानी सम्मेलन २०१९, यी हुन् लगानी सम्झौता भएका १५ परियोजनाहरु

बैंकिङ खबर । नेपाल लगानी सम्मेलन २०१९ सम्पन्न भएको छ । शुक्रबार बाट राजधानिमा शुरु भएको लगानी सम्मेलन शनिबार साँझ समापन भएको हो । सरकारले शोकेसमा राखेका विभिन्न ७७ परियोजना मध्ये विदेशी लगानीकर्ताले १७ वटा परियोजनामा लगानी गर्न इच्छा देखाएका छन् । लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारीले समापन समारोहमा बोल्दै १६ वटा परियोजनाको लागि १७ जनाको आवेदन परेको बताएका हुन् । उनीहरुले लिखित रूपमै लगानी गर्ने इच्छा देखाएका छन् । लगानी वोर्डका अनुसार सरकारले तोकेको राजश्व तिररै १६ वटा परियोजनाको लागि १७ वटा आशय आएको जनाएको छ ।

लगानी सम्मेलनमा नै लिखित प्रस्ताव आएका आयोजनाहरुमा पूर्वाधार तथा यातायात क्षेत्रको ७ वटा, ऊर्जा क्षेत्रको ४ वटा, कृषि क्षेत्रको ३ वटा, शिक्षा र स्वास्थ्य क्षेत्रको २ वटा र लजिस्टिक क्षेत्रको १ वटा रहेको छ । सरकारले तोकेको ७७ वटा परियोजनामा २० अप्रिल सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । त्यसैले अझै लगानीमा अझै प्रतिवद्धता आउने विश्वास वोर्डले गरेको छ । वोर्डले सम्मेलनमै १७ वटा परियोजनामा लगानी प्रतिवद्धता आउनु महत्वपूर्ण भएको बताएको छ ।

सम्मेलनमा१५ परियोजनामा एमओयु कुन परियोजनमा कसले लगानी गर्दै
त्यस्तै सरकारले उर्जा क्षेत्रका ६ सहित विभिन्न १५ वटा परियोजनामा लगानीको लागि सम्झौता गरेको छ । जसमध्ये यसअघि नै लगानी गर्ने समझ्दारी भइसकेको तर अमओयु हुन बाँकी रहेका अधिकांश परियोजनाहरु रहेका छन् ।

यस्ता छन् लगानीका सम्झौता र घोषणा भएका परियोजनाहरु
चौधरी ग्रुप र सराफ ग्रुपबीच संयुक्त लगानीमा मल्टिपर्पोज सेन्टर विकास गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सराफ ग्रुपका कार्यकारी निर्देशक सलाह सराफले हस्ताक्षर गरका छन् ।

चौधरी ग्रुप र स्काई पावरबीच संयुक्त लगानीमा ६ सय मेगावाटको सोलार पावर स्थापना गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा चौधरी ग्रुपका तर्फबाट निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सिजी लाइफसेल र तुर्कसेलबीच फाइभ–जी नेटवर्क सेवामा संयुक्त लगानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा चौधरी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र तुर्कसेलका बिजनेस प्रमुख नेजत मुरातले हस्ताक्षर गरेका छन् ।

१ सय ६४ मेगावाटको कालिगण्डकी जलविद्युत् परियोजना संयुक्त विकास गर्न हाइड्रो सोलुुुसन ग्रुप, नेपाल र सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । उक्त सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सांघाई इन्भेस्टिगेसनका अन्तराष्ट्रिय व्यवसाय प्रमुख जु जेङसेङले हस्ताक्षर गरेका छन् ।

लगानी बोर्ड नेपाल (आइबिएन), इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) र विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणबीच पिपिपी मोडलमा सिमरा सेज विकास गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आइएफसीका वरिष्ठ लगानी अधिकृत पंकज सिन्हाद्वारा हस्ताक्षर गरेका छन्  ।

सिन्सियर कन्सल्टिङ लिमिटेड र रिसोर्सेस हिमालय बुटिक भिलेज रिसोर्ट प्रा.लि. बीच बनेपामा हिमालय बुटिक भिलेज रिसोर्ट संचालन सम्झौता भएको छ  । उक्त सम्झौतामा रिसोर्स हिमालयका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङका प्रबन्ध निर्देशक एडिइ सियाले हस्ताक्षर गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएन) र उद्योग विभागबीच नेपालमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा एनआरएनका अध्यक्ष भवन भट्ट र विभागका महानिर्देशक विनोद प्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र म्यानमार लाइसेन्स्ड कन्ट्र्याक्टर एसोसिएसन (एमएलसिए)बीच पूर्वाधार विकासमा सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र एमएलसिएका अध्यक्ष यु किवाले हस्ताक्षर गरेका छन् ।

कोरियन इन्भेस्टर (कोसेप)ले २ सय १६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत आयोजनामा ६५ करोड डलर लगानी गर्ने घोषण गरेको छ । कोरियन इन्भेस्टरका उपाध्यक्ष हाक विन किमले उक्त परियोजनामा लगानीको गर्ने घोषणा गरेका हुन् ।

भारतको मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । मुथुट ग्रुपका अध्यक्षले यूनाइटेड फाइनान्सका अध्यक्षलाई उक्त लगानीको चेक हस्तान्तरण गरेका हुन् ।
लगानी बोर्ड नेपाल (आइबिएन) र इन्भेस्टमेन्ट बोर्ड, साउथ अफ्रिकाबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र इन्भेस्ट साउथ अफ्रिकाका कार्यकारी प्रमुख युनुस हुसेनले हस्ताक्षर गरेका छन् ।

अपि पावर कम्पनी लिमिटेड नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच सोलार पावर (१८ मेगावाट), जलविद्युत परियोजना (९८ मेगावाट) र विन्ड प्रोजेक्ट (१० मेगावाट) विकासमा लागनी गर्ने सम्झौता भएको छ  । उक्त सम्झौतामा अपि पावरका अध्यक्ष गुरु न्यौपाने र कँडेल ग्रुपका अधयक्ष राजन कँडेलले हस्ताक्षर गरेका छन् ।

डोल्पा हिमालयन फाउन्डेसनले जलविद्युतमा ८ करोड डलर लगानी गर्ने घोषण गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक सन्दीप साहले उक्त लगानीको गर्ने घोषणा गरेका हुन् ।

प्रदेश नं २ सरकार र सीजी इन्फ्रास्ट्रक्चर प्रा.ली. बीच २ नं प्रदेशमा सोलार प्लान्ट स्थापना गर्ने सम्झौता भएको छ  । उक्त सम्झौतामा चौधरी गु्रपका निर्वाण चौधरी र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले हस्ताक्षर गरेका छन् ।

१ खर्ब १२ अर्ब २८ करोड ८५ लाख रुपैयाँ लगात रहेको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धतापत्रमा भारतीय तथा नेपाली बैंक र आयोजन निमार्ण गर्ने कम्पनी एसजिभिएनबीच लगानी सम्झौता भएको छ । उक्त आयोजनामा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोडर नेपालको एभरेस्ट बैंक ८ अर्ब १२ करोड ६१ लाख तथा नबिल बैंकले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ लगानी गर्ने छन् । उक्त सम्झौतापत्रमा एसजिभिएनका प्रमुख कार्यकारी अधिकृत सतिश कुमार शर्मा, स्टेट बैंक अफ इन्डियाका सहायक महाप्रबन्धक पिसारोती विनोद कुमार, एभरेस्ट बैंकका उप प्रबन्धक गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन्  ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]