November 22nd, 2019

आर्थिक वर्षको सुरुवातमै उच्च महँगी, उपत्यकाका उपभोक्ता बढी मारमा

बैंकिङ खबर । चालू आर्थिक वर्षमा महँगी अत्याधिक बढेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गर्दै यस्तो बताएको छ । राष्ट्र बैंकले जारी गरेको रिपोर्टमा असोज मसान्तसम्मको औसत मुद्रास्फीति (मूल्यवृद्धिदर) ६.२१ प्रतिशत रहेका उल्लेख छ, जबकी गत आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति ४.६८ प्रतिशत मात्रै थियो भने गत भदौ महिनामा ६.१६ प्रतिशत थियो ।

खाद्य र पेयको मूल्यवृद्धि उच्च
तीन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.०४ प्रतिशतले बढेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य बढेको छ ।

उपत्यकामै बढी महँगी
असोज मसान्तसम्मको अवस्था हेर्दा काठमाडौं उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ असोजमा यी क्षेत्रहरुमा क्रमशः ४.०४ प्रतिशत, ४.३४ प्रतिशत, ६.१० प्रतिशत र ४.२४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]