January 13th, 2019

सेयर बजारमा बजार निर्माता भित्रिएपछि होला त सुधार ?

बैंकिङ खबर । सेयर बजारमा बजार निर्माताको रुपमा सरकारी स्वामित्वमा रहेका गैरबैंकिङ वित्तीय संस्थाहरु कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष भित्रिने चर्चा हुन थालेको पनि एक दशकभन्दा बढी भइसकेको छ । तर यी कम्पनीहरु नीतिगत व्यवस्थाका कारण औपचारिक रुपमा सेयर बजारमा बजार निर्माता बनेर काम गर्न आउन सकेका छैनन् । नेपाल धितोपत्र बोर्डले बजार निर्माताको आवश्यकता महशूस गरि आवहान गरेमा यी दुई संस्था बाहेक अन्य निजी क्षेत्रका संस्थाहरुले पनि बजार निर्माताको भूमिकामा काम गर्न इच्छा देखाउन सक्छन् । तर जे होस अहिलेसम्म ठुलो लगानीयोग्य पूँजी लिएर बसेका यी दुई संस्था पूँजी बजारमा भित्रिन सक्ने सम्भावना सबैले देखेका छन् । तर यी दुवै संस्थाले बजार निर्माताको काम गर्न सक्छन् भन्ने पनि छैन । 

के हो बजार निर्माता ?
सेयर बजारमा तरलता प्रदान गर्ने उद्देश्यले काम गर्ने कम्पनी नै बजार निर्माता हो । बजार निर्माताले बजारमा हुने उच्च उतारचढावलाई नियन्त्रणमा राख्ने गर्दछ । सेयर कारोबारमा आउने अस्वभाविक उतारचढावबाट बजारमा पर्ने प्रभाव न्यूनीकरण गरी बजारलाई स्थिरता प्रदान गर्छ । बजारमा उच्च उतारचढाव हुँदा यस्तो कम्पनी हरेक समय सेयर खरिद विक्री गर्न तयार रहेको हुन्छ । यस्तो कम्पनीले बजार निर्माण गर्ने भएकाले धितोपत्रको सम्बन्धमा धितोपत्र कारोबार गराउने कम्पनी (नेपालमा नेपाल स्टक एक्सचेन्ज)ले तोकिदिए बमोजिम न्यूनतम परिमाणमा नघटाई कारोबार गर्नुपर्ने हुन्छ । 

नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहलाई बजार निर्माता÷व्यापारीको रुपमा समेत कार्य गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरी बोर्डमा सिफारिश गर्न निर्देशन दिएको छ । यहि निर्देशनका आधारमा बाजरमा लगानीकर्ताले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष मार्केट मेकर तथा डिलरका रुपमा भित्रिने विश्वास गरिसकेका छन् । यी दुई कम्पनी कारोबारमा आएमा १० प्रतिशत भन्दा बढि कारोबार बढने लगानीकर्ताको बुझाई छ ।

कानूनी व्यवस्था के छ ?
नागरिक लगानी कोषले ‘नागरिक लगानी कोष ऐन २०४७’मा पूँजी बजारमा मार्केट मेकरको काम गर्ने व्यवस्था गरिसकेको छ । त्यस्तै कर्मचारी सञ्चय कोषले पनि पूँजी बजारमा कारोबार गर्न सञ्चय कोष २०१९ संशोधन गरि बाटो खुल्ला गरिसकेको छ । यसले पनि यी दुई संस्थाहरु पूँजी बजारमा राम्रै भूमिकामा आउन चाहन्छन् भन्ने स्पष्ट हुन्छ । नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बजार निर्माता तथा डिलरका रुपमा प्रवेश गराउन आवश्यक अध्ययन गर्न निर्देशन दिएपछि भने अब छिट्टै यस्ता कम्पनीहरु दोस्रो बजारमा भित्रिन सक्ने देखिन्छ ।

बजार निर्माता आउँदैमा बजार बढ्छ ?
बजार निर्माताका रुपमा ठूला कम्पनीहरु दोस्रो बजारमा प्रवेश गर्दैमा बजारका परिसूचकहरु बढ्छन भन्ने छैन । कारोबार केही बढ्न सक्छ । बजार निर्माताले कारोबार बढाउने र परिसूचकहरु बढाउने खेलमा लाग्ने भन्दा बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्ने प्रयास गर्छन् । बजारमा अत्याधिक खरिदकर्ताहरु आए र सेयरको माग उच्च भयो भने बजार निर्माता तथा सेयर डिलरले विक्री चाप बढाउँछन् । त्यस्तै अत्याधिक विक्रीकर्ताहरु आए र सेयरको विक्री बढाए भने बजार निर्माता तथा सेयर डिलरले खरिद चाप बढाउँछन् । जसले गर्दा सेयर बजारमा अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्छ । त्यसैले बजार निर्माता आउँदैमा बजार बढ्छ भन्ने मान्यता राख्न नहुने सेयर बजारका जानकारहरु बताउँछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]