January 2nd, 2019

११८०.४३ अंकमा झर्यो सेयर बजार, पौने २६ करोडको कारोबार

बैंकिङ खबर । बुधबार सेयर बजार ५.४२ अंकले घटेर ११८०.४३ अंकमा कायम भएको छ । व्यापार र लघुवित्तबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह ६८.३९ अंकले घटेको छ । 

कारोबार रकम सामान्य बढेको छ । मंगलबार २२ करोड ८५ लाखको कारोबार भएको बजारमा बुधबार २५ करोड ७६ लाख सात हजार एक सय ६६ रुपैयाँको कारोबार भएको छ । १५४ वटा कम्पनीका सात लाख ५१ हजार चार सय ११ कित्ता सेयर तीन हजार तीन सय ७१ पटक खरिदविक्री भएका छन् । 

चिलिमे हाइड्रोको सबैभन्दा धेरै दुई करोड २८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र छिमेकी लघुवित्तको सेयर कारोबार एक करोड नाघेको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः एनएमबि बैंक, जनता बैंक, कालिका लघुवित्त, सिद्धार्थ बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् । 

जम्मा ४० वटा कम्पनीका सेयरधनीले कमाएका छन् । कालिका लघुवित्त र युनाइटेड इन्स्योरेन्सका सेयरधनीले क्रमशः ९.४२ र ८.७९ प्रतिशतले कमाएका छन् । साल्ट ट्रेडिङ, निर्धन उत्थान लघुवित्त, सूर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स, देवः विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, स्वाबलम्वन लघुवित्त, एभरेष्ट इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, अरुण काबेली पावर र हाथवे फाइनान्सका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, रिडी हाइड्रो, प्रभु इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, सिभिल लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]