August 4th, 2016

६ वर्षमा ३ खर्ब १९ अर्बको निक्षेप बीमा, भुक्तानी एउटा कम्पनीको मात्रै

insuranceबैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमध्ये ३ खर्ब १९ अर्ब रुपैयाँको सुरक्षण (बिमा) भएको छ । असार असान्तसम्म बैंक तथा वित्तीय संस्था (क, ख र ग वर्गका वित्तीय संस्था) मा रहेको करिब २० खर्ब रुपैयाँ निक्षेपको करिब १६ प्रतिशतको बीमा भएको हो । सुरक्षण भएको निक्षेपमध्ये २८ वाणिज्य बैंक, ६७ विकास बैंक, ४२ वित्त कम्पनी र २ लघुवित्त बैंकको रहेको छ । 
 
सुरक्षण भएको निक्षेप १ करोड ३० लाख निक्षेपकर्ताको हो । अहिले बैंक तथा वित्तीय संस्थामा १ करोड ६५ लाख ५६ हजार निक्षेप खाता खुलेका छन् । गत वर्षको उक्त अवधिको तुलनामा खाता संख्या करिब साढे ३ प्रतिशतले बढी हो । निक्षेप सुरक्षण सुरु भएदेखि हालसम्म निगमले एउटा मात्र संस्था (हिमालय फाइनान्स कम्पनी) का निक्षेपकर्तालाई बिमा रकम भुक्तानी गरेको छ । त्यसमध्ये करिब साढे ११ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । बाँकी करिब साढे २ करोड रुपैयाँ भुक्तानी प्रक्रियामा रहेको निगमले बताएको छ ।

२०३१ सालदेखि कर्जा सुरक्षण गर्दै आएको निगमले ०६७ देखि निक्षेपको पनि सुरक्षण गर्दै आएको हो । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपमध्ये एउटा संस्थामा एउटा व्यक्तिको (प्राकृतिक व्यक्ति) २ लाख रुपैयाँसम्म सुरक्षण हुने कानुनी प्रावधान छ । संस्थागत निक्षेपको भने बिमा हुँदैन । निक्षेप सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाले निक्षेप तथा कर्जा सुरक्षण निगमसँग निक्षेप सुरक्षणबारे सम्झौता गर्नुपर्छ । निक्षेप सुरक्षण विनियमावली, २०६७’ अनुसार राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले निगमसँग सम्झौता गरी निक्षेपको सुरक्षण गराउन सक्ने छन् । निक्षेपको सुरक्षण गराएबापत सदस्य संस्थाले सुरक्षण हुने निक्षेपको ० दशमलव २ प्रतिशत प्रतिवर्ष अर्थात प्रतिसय रुपैयाँ निक्षेपमा वार्षिक २० पैसाका दरले निगमलाई शुल्क बुझाउनुपर्छ । संस्थामा जोखिम (संकट) उत्पन्न भएको अवस्थामा १० पैसा थप दस्तुर लाग्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले निगमसँग निक्षेप सुरक्षण सम्झौता गरेको मितिदेखि बचत तथा मुद्दती निक्षेप राख्ने सबै व्यक्तिगत निक्षेपकर्ताको २ लाखसम्मको निक्षेप स्वतः सुरक्षण हुन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]