July 27th, 2016

भारतमा २ लाख ३६ हजार धनाढ्य : बैंकिङ प्रणाली भने अझै अव्यवस्थित

icउच्च सम्पत्ति भएका भारतीयहरू (एचएनडब्लूआई) को संख्या सन् २००७ को तुलनामा ५५ प्रतिशतले बढेको छ । सन् २००७ मा यस्तो संख्या १ लाख ५२ हजार रहेकोमा २०१५ सम्म आइपुग्दा बढेर २ लाख ३६ हजार पुगेको हो । उक्त अवधिमा भारतका धनाढ्यहरुको कुल सम्पत्ति समेत ९० अर्ब डलर बढेको छ । हाल उनीहरुको कुल सम्पत्ति १५ खर्ब डलर पुगेको छ । मिलिनियर अर्थात् एचएनडब्लूआईले १० लाख वा सोभन्दा बढी डलरको सम्पत्ति भएका मानिसलाई जनाउँछ ।

केले बढायो धनाढ्यको संख्या र सम्पत्ति ?
स्थानीय निर्माण, वित्तीय सेवा, सूचना–प्रविधि, व्यावसायिक प्रक्रिया र स्वास्थ्य हेरचाहको क्षेत्रमा भएको सकारात्मक प्रभावले वृद्धिमा योगदान पुर्याएको बताइएको छ । ठोस किसिमको आर्थिक वृद्धि र व्यवसायमा भएको वृद्धिले पनि भारतीयहरूको सम्पत्ति वृद्धिमा योगदान पुगेको छ । यद्यपि डलरसँगको विनिमयमा स्थानीय मुद्रामा भएको ४१ प्रतिशतको अवमूल्यनको भने नकारात्मक प्रभाव रहेको अनुसन्धानले देखाएको छ । डलरसँग भारतीय मुद्राको विनिमय दर सन् २००७ को अन्त्यमा ३९.४ रुपैयाँ थियो । सन् २०१५ को अन्त्यमा आएर ६६.२ रुपैयाँ कायम भएको छ । २००७ देखि २०१५ सम्मको अवधिमा स्थानीय धितोपत्र बजारमा पनि २५ प्रतिशतको गिरावट आएको छ ।

यस्तो छ भारतको आर्थिक तथा वित्तीय अवस्था
सन् २००७ देखि २०१५ सम्मको अवधिमा भारतबाट २५ हजार हाराहारी एचएनडब्लूआई आप्रवासनमा गए । राम्रो आर्थिक वृद्धिमा भारतले ९/१० अंक प्राप्त गरेको छ । २०१५ मा भारतको जीडीपी वृद्धि ७.३ प्रतिशत थियो । चालू वर्षका लागि ७.४ प्रतिशतको वृद्धि प्रक्षेपण गरिएको छ । भारतको बैंकिङ प्रणाली र धितोपत्र बजारका बारेमा अध्ययनले ५/१० अंक प्रदान गरेको छ । देशको आकारको तुलनामा भारतको धितोपत्र बजार अविकसित अवस्थामा छ । परिणामस्वरूप धेरै भारतीय कम्पनीहरू सञ्चालनका लागि विदेशतर्फ जाने गरेका छन् । बैंकिङ प्रणाली पनि अविकसित अवस्थामै छ । न्यून आम्दानी कर र कम्पनीको कर दरमा भारतले १० मा ६ अंक प्राप्त गरेको छ । लगानी गर्ने सहज वातावरणको मामिलामा अध्ययनले भारतलाई १० मा ३ अंक दिएको छ । भारतीय अर्थतन्त्रका धेरै क्षेत्रमा पारदर्शिताको अभाव भएको र भारतमा व्यवसाय सुरु गर्ने लागत अत्यन्त उच्च भएको अध्ययनले जनाएको छ ।

‘न्यू वल्र्ड वेल्थ’ले विश्वव्यापी वित्तीय संकट सुरु हुनुभन्दा अघिल्लो वर्ष सन् २००७ मा यस किसिमको अध्ययन सुरु गरेको थियो । उक्त समयमा विश्वका मुलुकहरूले ऋणात्मक वृद्धिको सामना गर्दै आएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]