June 2nd, 2016

विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुकको हैसियत बनाउँदै भारत

indiaभारतीय अर्थतन्त्र आर्थिक वर्ष २०१५–१६ मा ७.६ प्रतिशतले वृद्धि भएको छ । यो अघिल्लो वर्षको ७.२ प्रतिशतको दाँजोमा बढी हो । यो वृद्धिसँगै देशले ठूला अर्थतन्त्रमध्ये विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुकको हैसियत प्राप्त गरेको छ । अप्रिलसम्मको त्रैमासिक अवधिमा भारतले ७.९ प्रतिशतको वृद्धि हासिल गरेको सरकारी तथ्यांकले देखाएको छ । यो वृद्धिदर विश्लेषकहरूको अनुमानभन्दा बढी हो । चिनियाँ अर्थतन्त्र सुस्ताएको अवस्थामा विश्वले वृद्धिका लागि अर्को मुलुक खोजिरहेको अर्थमन्त्री अरुन जेट्लीले बताए । एसियाको भविष्य बारेको सम्मेलनमा मन्त्री जेट्लीले भारतले पूर्वाधारमा खर्च गर्ने योजना बनाएको बताए ।

वर्षभरिको अवधिमा ७ प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका क्षेत्रहरूमा वित्तीय, रियल इस्टेट र व्यावसायिक, उत्पादनमूलक, व्यापार, होटल, यातायात, सञ्चार र प्रसारण सम्बन्धित सेवा र खानीलगायत छन् । कृषि, वन र फिसिङ क्षेत्रमा १.२ प्रतिशतको वृद्धि हासिल भएको छ । यसैगरी निर्माण क्षेत्रमा ३.९ प्रतिशतको वृद्धि हासिल भएको छ । विद्युत्, ग्यास, पानी आपूर्ति र अन्य युटिलिटी सेवाका क्षेत्रमा ६.६ प्रतिशतको वृद्धि भएको छ । यसैगरी सार्वजनिक प्रशासन, प्रतिरक्षा र अन्य सेवाका क्षेत्रमा पनि यही दरको वृद्धि हासिल भएको छ ।

स्क्रोडर्सका उदीयमान बजार अर्थशास्त्री क्रेइङ बोथामले आफूलाई भारतको वृद्धिको वास्तविक दरप्रति अझै शंका भएको बताएकमा छन् ।“उदाहरणका लागि पहिलो त्रैमासिक अवधिमा औद्योगिक उत्पादन मुश्किलैले सकारात्मक भएको थियो । सामान्यमा बाँकी आर्थिक तथ्यांक ६ प्रतिशतको हाराहारीमा छ । अन्य मानिसले यसलाई ८ प्रतिशतको हाराहारीमा हुने अपेक्षा गरेका थिए,” उनले भने । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]