fbpx
Sunday , September 23 2018

चर्को व्याज लिने परिपार्टीलाई  लघुवित्तले रिप्लेश गर्दैछ 

September 9, 2018

सहकारी र लघुवित्त संस्थाबीचको प्रतिष्पर्धाका कारण कतिपय स्थानहरुमा लघुवित्तहरुलाई असहज अवस्था भइरहेको छ । लघुवित्तले कर्जामा लिने व्याजको सम्बन्धमा पनि समयसमयमा टिकाटिप्पणीहरु भइरहन्छन् । तर, पनि लघुवित्तले वित्तीय पहुँच विस्तार, उद्यमशीलता विकास र गरीबी न्युनीकरणमा पुर्याएको योगदानलाई नकार्न मिल्दैन । वित्तीय पहुँच विस्तारकै लागि भने राष्ट्र बैंकले लघुवित्तको संख्या थप्दैछ । यी सबै विषयहरुमा केन्द्रित रहेर बैंकिङ खबर डट कमका लागि सहकर्मी विजय पराजुलीले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी निर्देशक उदय राज खतिवडासँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

स्वरोजगार लघुवित्तले के के सेवा दिईरहेको छ ?
स्वरोजगार लघुवित्त विकास बैंकको नाम परिवर्तन गरि हाल स्वरोजगार लघुवित्त वित्तीय संस्था राखिएको छ । यसले सम्पूर्ण लघुवित्तीय सेवाहरु दिईरहेको छ । लघुवित्तीय सेवा सामुहिक जमानीमा विना धितो कर्जा, बचत, बीमा सेवा, रेमिट्यान्स सेवा, वित्तीय साक्षरता, सिप मुलक तालिम र चेतना मुलक तालिमहरु दिदैँ आईरहेको छ । महिलाहरुको आर्थिक, सामाजिक, सांस्कृतिक उन्नती हुने विभिन्न प्रोडक्टहरुको प्याकेजहरु संस्थाले प्रवाह गरिरहेको छ । 

स्वरोजगार लघुवित्तको शाखा कति जिल्लामा पुगेका छन् ? आगामी दिनमा कहाँ कहाँ खुल्दैछन् ।
स्वरोजगार लघुवित्त विकास बैंक २०७४ साल माघ १८ गते राष्ट्रिय स्तरको लघुवित्त भएको हो । स्वरोजगार लघुवित्त (काभे्र, मकवापुर र चितवन) ३ जिल्लाबाट सुरुवात गरि आफ्नो कार्यकाल सुरु गरेकोे हो । दोस्रो पटक ७ जिल्ला (पर्सा, बारा, रौउतहट, नवलपरासी, गोरखा, तनँहु, लमजुङ) थपि १० जिल्लामा कार्यकाल सुरु गरेको हो । त्यसपछि नुवाकोट, धादिङ, पाल्पा, गुल्मी, अर्घाखाची गरी ५ जिल्लामा थप गरि १५ जिल्लामा पुगेको हो । 
१५ जिल्लाबाट १० जिल्लामा शाखा थप गरि (मोरङ, धनुषा, सुनसरी, महोत्तरी, सर्लाही, रुपनदेही, कपिलवस्तु, दाङ, बाके, बर्दिया) हालसम्म २५ जिल्लाबाट आफ्नो सेवा प्रदान गरिरहेको छ । हाल स्वरोजगार लघुवित्तले ५६ वटा शाखा मार्फत सेवा दिइरहेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले ५६ वटा शाखा मार्फत ६० हजार महिला दिदिबहिनीहरुलाई सेवा प्रदान गरिरहेको छ । शाखा निरन्तर विस्तारको क्रममा रहेको छ ।  चालु आर्थिक वर्षमा शाखा थप्नका लागि अहिले नै जिल्ला तोकिएको छैन   । 


कतिपय ठाउँहरुमा सहकारी र जनप्रतिनिधिहरुले माइक्रोफाइनान्सलाई नवसामन्तीको नाम दिईरहेका छन् । यसले लघुवित्त क्षेत्रमा कस्तो प्रभाव परिरहेको छ ?
हरेक व्यक्तिको कुनै पनि चिजलाई हेर्ने दृष्टिकोण फरक फरक हुन्छ । यसलाई आपत्ति मान्नुपर्ने अवस्था छैन । लघुवित्तले संसारभर आफ्नो सेवा प्रदान गरिरहेको छ । सहकारी र स्थानीय निकायका जनप्रतिनिधिहरुले प्रतिष्पर्धाका कारणले पनि आरोप लगाएको हुनसक्छन् । स्थानीय निकाय भनेको स्थानीय सरकार हो । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका स्थानिय प्रतिनिधीहरुले लघुवित्त संस्थाहरुलाई आफ्नो गाउँमा सेवा प्रवाह नगरि उक्त ठाउँबाट छोडेर जानुपर्ने भनि पत्र समेत काटेको अवस्था थियो । उक्त पत्रलाई राष्ट्र बैंकले स्पष्ट गराएको छ । संविधानतः कुनै पनि संस्थालाई सेवा प्रवाह नगर भनेर कुनै निकायले भन्न मिल्दैन । जुनसुकै संस्थाले आफ्ना सेवा प्रवाह गर्न सक्छन् । जनतालाई सेवा चाहिए लिन्छन् र नचाहिए लिँदैनन् ।त्यसकारण, संविधान प्रदक्त एउटा संस्थाले सेवा दिन पाउने हक हो र उक्त हक अनुसार संस्थाहरु गएका छन् ।

त्यसबाहेक, सहकारीका व्यक्तिहरुले माइक्रोफाइनान्सलाई नवसामन्ती भन्नु त्यति व्यवहारित त होइन र यसले केही फरक पर्दैन । नेपालकै लहान बजारस्थित बहमान गोर्छाडीका गरिब तथा निम्न वर्गका मानिसहरु ६० प्रतिशतदेखि १२० प्रतिशतसम्मको चर्को व्याजमा रकम लगिरहेको अवस्था छ । यो परिपार्टीलाई विस्तारै लघुवित्तले रिपलेश गर्दैछ । लघुवित्तको व्याज पहिले २४ प्रतिशतसम्म थियो, तर अहिले घटिरहेको छ ।  २०७४ साल साउन १ देखि राष्ट्र बैंकको निर्देशनले व्याज १८ प्रतिशतमा झारेको छ । गत वर्षको मौद्रिक नीतिले लघुवित्तहरुको क्याप हटाईदिएको छ । तर पनि लघुवित्तहरुले व्याजदर बढाएका छैनन् । लघुवित्तहरु पनि देशको एउटा जिम्मेवार संस्था हुन् । लघुवित्तहरुले आफ्ना सेवाग्राहीहरुलाई सस्तोदर र सजिलोमा कसरीसेवा प्रदान गर्न सकिन्छ भनेर सोचिरहेका छन् ।

लघुवित्तको संख्या बढ्दा अस्वस्थ प्रतिस्पर्धा हुन्छ कि हुँदैन ?
लघुवित्तको संख्या बढ्दा अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ । कुनै पनि क्षेत्रमा दुई वा दुई भन्दा बढि खालको सेवा प्रवाह भयो भने प्रतिस्पर्धा हुन्छ । स्वस्थ प्रतिस्पर्धामा सबै संस्थाहरुले काम गर्न पाउनुपर्छ । अहिले सहकारी र लघुवित्तमा प्रतिस्पर्धा छ । लघुवित्त लघुवित्तहरुमा पनि प्रतिस्पर्धा छ । तर, समग्रमा भन्दा धेरै अस्वस्थ प्रतिस्पर्धा भएको छैन । लघुवित्त वित्तीय संस्थाहरुले हाल २८ लाख महिलाहरुलाई उद्यमी बनाउनुका साथै सेवा दिईरहेका छन् । राष्ट्र बैंकको सिस्टम र नियमन, नियमभित्र बसेर सेवा पुर्याएको हुनाले अस्वस्थ प्रतिस्पर्धा भन्न मिल्दैन ।

अब लघुवित्तको संख्या बढ्दैछ । संख्या बढेसँगै प्रतिष्पर्धा अवश्य पनि बढ्छ, जुन स्वस्थ र अस्वस्थ दुबै हुन्छ । प्रतिष्पर्धा हुनु राम्रो हो । प्रतिष्पर्धाका कारण व्याजदर घटिरहेको छ, सेवाको विविधिकरण भइरहेको छ, दुरदराजसम्म सेवा प्रवाह भइरहेको छ । प्रतिस्पर्धाले लघुवित्तको समग्र दायरा र आयामलाई बढाइदिन्छ । राष्ट्र बैंक संख्या वृद्धिसँगै केही पहल गर्ने प्रयासमा छ । अब कर्जा सुचना लिएर मात्र लगानी एवम् जनताले लिने कर्जामा सिमितता लगायतका निर्देशन जारी गरेको छ । एउटा लघुवित्तको विना धितोको कर्जाले महिलाहरुलाई धेरै जाखिम हुने कुरालाई राष्ट्र बैंकको निर्देशनले अलि सुधार गर्छ । 

संख्यात्मक वृद्धिले दोहोरोपनाको समस्या कतिको हुन्छ नि ?
बीचमा रेफ्री भएन भने खेलाडीहरुले जथाभाबी खेल्छन् । तर, लघुवित्तहरुको बीचमा राष्ट्र बैंक छ । राष्ट्र बैंकले ५० हजारभन्दा माथि कर्जा लगानी गर्दा कर्जा सुचना लिएर लगानी गर्नुपर्ने, सुचना लिँदा कुनै ऋणी डिफल्टर छ भने उसलाई कर्जा दिन नमिल्ने अथवा डिफल्टर होइन भने उक्त व्यक्तिले नेपाल राष्ट्र बैंकको लिमिटभित्र कर्जा लिएको छ भने नयाँ कर्जा दिन नमिल्ने र यदि डिफल्टर ऋणि छैन र राष्ट्र बैंकको लिमिटभित्रको मात्र कर्जा लिएको छ भने मात्र लगानी गर्नुपर्ने निर्देशन दिएको छ । त्यसले गर्दा, दाहोरोपना विस्तारै अब टाइट हुँदै गईरहेको छ । 

लघुवित्तले पैसाको कारोबार गर्न सिकायो, उद्यमशीलता गर्न सिकाएन भन्ने सुनिन्छ नि ? 
लघुवित्तले उद्यम गर्न पनि सिकाईरहेको छ । पैसा मात्र खेलाउने उद्यमशीलताको बाटोमा नहिड्ने केही व्यक्ति छन्  । समग्रमा भन्नुपर्दा, मोटामोटी ५।७ प्रतिशत महिलाहरुले राम्ररी सदुपयोग नगरेको हुनसक्छ । तर, त्यसबाहेक अरु सबै लिएका पैसाहरु सदुपयोग भएका छन् । मानिसका विभिन्न सर्ट टर्म र लङ टर्म आवश्यकताहरुलाई लघुवित्तले एडरेस गरिरहेको छ । 

लघुवित्तहरुले उद्यमशीलताको विकासमा कसरी सहयोग पुर्यारहेका छन् ?
लघुवित्तकोे सहयोगबाट आज ठाउँ ठाउँमा महिलाहरुले साना तथा ठूला व्यापार, व्यवसाय गरेको देख्न सकिन्छ । महिलाहरुले किराना पसल, होलसेल पसल, नास्ता पसल, चिया पसल, तरकारी खेति, गाई पालन, कुखुरा पालन, भैँसिपालन, बाख्रा पालन जस्ता हरेक किसिमका कार्यहरु गरिरहेका छन् । यसरी व्यवसायीकरण हुने क्रममा लघुवित्तले सानोतिनो तालिमबाट, कर्मचारीको काउन्सिलिङबाट, संस्थाका अन्य काउन्सिलिङ माध्यमबाट, पैसा दिँदा वरिएन्टेन्सनबाट, संस्थाका विभिन्न सिसिडी पीसीडी गर्ने प्रक्रियाबाट उद्यमशीलता सिकाइरहेको छ । 

लघुवित्त क्षेत्रका मुख्य चुनौतीहरु के के छन् ?
लघुवित्त क्षेत्रमा व्यवसायिक सोचको कमि छ । व्यवसायिक हिसाबले दुध उत्पादन गरेर बिक्री गर्न सकिन्छ । तरकारी उत्पादन गरेर बिक्री गर्न सकिन्छ । तर, गाम्रीण क्षेत्रमा मानिसले दुध बिक्री गर्नुपर्दा लाज मान्ने गर्छन् । नेपाली समाजमा, विशेषगरी पहाडी क्षेत्रमा व्यवसायिक सोच अत्यन्तै कम छ । तराईका क्षेत्रमा व्यवसायिक सोच ठिक ठिकै छ । पहाडी क्षेत्रमा कुनै एक व्यक्तिलाई ५० हजार लघुवित्तले व्यवसाय गर्नका लागि दिन्छ । तर व्यक्तिले ५० हजारले मात्र व्यापार हुँदैन, पुग्दैन भन्छ । तर, २० देखि ३० हजार मात्र मधेशका व्यक्तिले पाए ध्यान दिएर साना खालका व्यापार व्यसाय गर्दछन् । तराईमा लघुवित्तले राम्रो सेवा दिईरहेको छ । तराईमा व्यवसायिक सोच हुनुका साथै काम गर्ने इच्छा र वातावरण पनि छ । तराईमा सानो पैसाको पनि महत्व छ । त्यसैले, तराईका मानिस सफल भएका छन् । यो कुरा पहाडी क्षेत्रका मानिसहरुले बुझेका छैनन् । यस्ता कुरालाई ध्यानमा राखि लघुवित्तले विस्तारै पहाडी क्षेत्रमा पनि व्यवसायिक सोचको विकास गराउँदै लैजानेछ । साथै, अरु पनि सामाजिक, आर्थिक, सांस्कृतिक विभिन्न लिमिटेसनहरु छन् । नेपाली समाजमा एउटा दलितले दुध उत्पादन गरेर विक्री गर्न नसक्ने लिमिटेसन छन् । यस्ता लिमिटेसनहरुलाई विभिन्न क्षेत्रले चिर्दै लानुपर्ने हुन्छ । यस्ता प्रकारका लिमिटेसन विस्तारै हटाइयो भने एकदिन दलितले पनि दुध उत्पादन गरेर बिक्री  गर्नसक्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.