August 12th, 2018

बझाङमा बैंकको झल्को मेट्दै लघुवित्त 

बैंकिङ खबर । अतिविकट जिल्लाहरुमध्येको एक बझाङ जिल्ला वित्तीय पहुँचका हिसाबले निकै पछाडी रहेको छ । ठूला बैंकहरुको उपस्थिती र न्युन छ नै, यहाँ माइक्रोफाइनान्सहरु समेत निकै कम संख्यामा पुगेका छन् । ग्रामीण तथा दुर्गम भेगलाई लक्षित लघुवित्त वित्तीय संस्थाहरु बझाङ जिल्ला भरिमा जम्मा पाँच वटा रहेका छन् । यसै जिल्लामा केन्द्रीय कार्यालय भएका माइक्रोफाइनान्स भने कुनै पनि छैनन् । 

जिल्लामा थोरै संख्यामा वित्तीय संस्था रहेको हुँदा एउटै संस्थामा धेरै ग्राहकहरु आउने गरेका छन् । यहाँ संचालनमा रहेको एउटै माइक्रोफाइनान्सले ६/७ सय जनालाई कर्जा उपलब्ध गराएको छ । एउटा माइक्रोफाइनान्सले १५ सयको हाराहारीमा उद्यमीहरु उत्पादन गरिरहेको छ । 

ग्रामीण भेगमा उद्यमशीलताको विकास गरी विपन्न वर्गको जिवनस्तर माथि उठाइरहेका बझाङका लघुवित्तहरुलाई स्थानीय निकायको राम्रो सपोर्ट रहेको छ । स्थानीय निकाय एवम् सर्वसाधारणको राम्रो सहयोग भएकाले सहकारीहरुसँग प्रतिष्पर्धा गर्न असहज अवस्था नरहेको बझाङको चैनपूरस्थित लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शाखा प्रबन्धक दल बहादुर थापाले बताए । 

यहाँका सर्वसाधारणले लघुवित्तबाट कर्जा लगेर बाख्रापालन, भैंसिपालन, तरकारी खेति, किराना पसल, फेन्सी पसलहरु जस्ता व्यवसाय सञ्चालन गरिरहेका छन् । जिल्लामा लघुवित्तमार्फत प्रवाहित कर्जाको दुरुपयोग नभएको लक्ष्मी लघुवित्तको  चैनपूर शाखाका प्रबन्धक थापाले बताए । थोरै लघुवित्त र धेरै जनसंख्या भएको यस जिल्लामा एउटै व्यक्ति धेरै संस्थामा सदस्य बन्ने समस्या पनि नरहेको उनको भनाई छ । उनी भन्छन्, ‘अबका दिनमा लघुवित्तको संख्या बढ्यो भने यस्तो समस्या स्वत सिर्जना हुन्छ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]