July 1st, 2018

सहकारी विभाग भन्छ – ‘प्रविधिको आवश्यकता छैन’

निर्जला खड्का/बैंकिङ खबर । अहिले बैंकहरु नपुगेको ठाउँमा पनि सहकरीहरु पुगेका छन् । यी सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा बढि जोड दिएर लगानी गरेका हुन्छन् । किनकि, सहकारी संस्था ग्रामीण क्षेत्रमा सेवा दिने उद्देश्यले स्थापित संस्था हो । ग्रामीण क्षेत्रमा उद्यमशीलता बढाउने किसिमका क्रियाकलापमा सहकारीहरुले लगानी गर्दछन् । 

अर्थतन्त्रको तीन खम्बामध्येको एक भनिएको नेपालको सहकारी क्षेत्रमा प्रविधिको विकास हुन सकेको छैन । सहकारीमा आबद्ध सबै मानिसहरुले हालसम्म चेकबाट नै आफ्नो सबै कारोबार गरिरहेका छन् । 

को‐अपरेटिभ एण्ड प्रोपटी मेनेजमेन्ट इनफरमेसन सिस्टम
हालसालै चेकबाहेकको को‐अपरेटिभ एण्ड प्रोपटी मेनेजमेन्ट इनफरमेसन सिस्टम नामक एउटा प्रविधि प्रयोगमा आएको छ । यो मन्त्रालयबाट जारी गरि बनाइएको व्यवस्थित प्रणाली हो । यो प्रविधिको प्रयोगबाट सबै सहकारीको बारेमा ग्राहकहरुले र संस्थाका सबै कर्मचारीहरुले थाहा पाउन सक्छन् । जस्तै, उत्पादन कति भयो ? बिक्री कति भयो ? कारोबारको अवस्था कस्तो छ ? कति ग्राहकले कुन कुन संस्थाबाट पैसा लिएका छन् ? एउटा ग्राहकले कति ठाउँबाट पैसा लिएको छ ? जस्ता सबै कुराको बारेमा यो प्रणली मार्फत जानकारी लिन सकिन्छ ।   

एटिएम
सहकारी क्षेत्रमा केही बैंकहरुले एटिएमको पनि सुरुवात गरेका छन् । यद्यपि, यसका प्रयोगकर्ता एकदमै न्युन छन् । सहकारीमा २०७४ भदौ ६ गतेदेखि एटिएमको सुरुवात भएको हो । बिकु बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७औँ वार्षिकोत्सवको अवसर पारेर नेपालमै पहिलोपटक एटिएमको सुरुवात गरेको थियो । एससिटी नेटवर्कमा सञ्चालित एटिमबाट नेपाल भारत र भुटानका जुनसुकै स्थानबाट रकम निकाल्न सकिने सुविभा दिइएको थियो । एटिएमको सुरुवात भएतापनि यसको आम प्रयोग भने हुन सकेको छैन ।

ट्याबलेट बैंकिङ
कतिपय सहकारीहरुले ट्याबलेट बैंकिङ पनि प्रयोगमा ल्याइरहेका छन् । ट्याबलेट बैंकिङ मार्फत सहकारीले आफ्ना ग्राहक सदस्यहरुलाई घरमै बसेर कारोबार गर्ने सुविधा दिएका छन् । यद्यपि, सहकारीले लक्षित गरेका ग्रामीण भेगका विपन्न वर्गहरुले यसले प्रयोग गर्न सकेका छैनन् ।

सहकारीमा प्रविधिको आवश्यकता
सहकारी क्षेत्रमा बैंकको जस्तो प्रविधिको आवश्यकता नपर्ने सहकारी विभागका उपरजिष्ट्रार नारायण प्रसाद अर्यालले बताए । सहकारी एउटा सानो संस्था भएको र थोरै मानिसहरु मिलेर खोलेको संस्था भएकाले सहकारीमा प्रविधिको त्यत्ति आवश्यकता नपर्ने उनले बताए । अर्यालका अनुसार, यो संस्थामा सबै सदस्यहरुको संस्थासँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ । सहकारीमा नेपाली नागरिकहरुको मात्र संलग्नता रहेको हुन्छ । यसमा सदस्य र संस्थापकहरुको सम्बन्ध पनि नजिक हुन्छ । त्यसकारण बैंकहरुमा जस्तो प्रविधिको आवश्यकता सहकारी क्षेत्रमा पर्दैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]