May 24th, 2018

प्रदेश सातमा ‘बीमायुक्त प्रदेश, जोखिममुक्त जनता’ नीति

राम खत्री/बैंकिङ खबर । आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले सात नम्बर प्रदेशमा ‘बीमा युक्त प्रदेश, जोखिम मुक्त जनता’ अबलम्बन गरिने बताएका छन् । जीवन बीमा र निर्जीवन बीमाका प्रबन्धकहरुसँग छलफल गर्दै मन्त्री वोहराले सो कुरा बताएका हुन् । बीमा कम्पनीहरूलाई केन्द्र र शहरमुखी मात्र नभई गाउँगाउँमा पुर्याउनुपर्नेमा उनको जोड थियो । मन्त्री वोहराले प्रदेश ७ मा रहेका बिना इजाजत सञ्चालनमा रहेका बीमा कम्पनीलाई सरकारले कारवाही गर्ने समेत बताए । उनले भारतीय कुनै पनि बीमा कम्पनीमा बीमा नगर्न आह्वान समेत गरे ।

कार्यक्रममा शिखर इन्स्योरेन्सका धनगढी प्रबन्धक डिल्लीराज शर्माले बीमा समितिको प्रदेश स्तरीय कार्यालय आवश्यक रहेको बताए । प्रबन्धक शर्माले अहिले प्रदेश सरकारले राइट म्यान राइट पिलेस पाएको हुँदा प्रदेशको आर्थिक विकासमा मन्त्रीबाट जनताले ठूलो आश रहेको बताए ।

त्यस्तै, सूर्यलाइफ इन्स्योरेन्सका प्रबन्धक वीरसिंह महराले अब प्रदेश सरकारले स्थानीय तहमा बीमा अनिवार्य गराउन अनुरोध गरे । उनले सरकारले वैदेशिक मजदूरको बीमा गरेको तर, स्वदेशी कामदारहरूको बीमा अनिवार्य गर्न नसकेको गुनासो राखे ।

एनएलजी इन्स्योरेन्स धनगढीका प्रबन्धक सुनिल क्षेष्ठले अहिलेसम्म सरकारी कार्यालयहरूको नै बीमा हुन नसकेकोले अब प्रदेश सरकारले सरकारी कार्यालयको बीमा सुरु गर्न अनुरोध गरे । प्रदेश नम्बर ७ मा १६ निर्जीवन र १८ जीवन बीमा गरी ३४ ओटा बीमा कम्पनी प्रदेशमा सञ्चालनमा रहेका छन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]