May 15th, 2018

प्रभु लाइफ इन्स्योरेन्सको शाखा पोखरामा

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बैशाख ३१ गते सोमवारदेखि आफ्नो पोखरा शाखा कार्यालयको शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमवार एक कार्यक्रमका बीच शाखा कार्यालयको शुभारम्भ गरे ।

कम्पनीका अध्यक्ष राम बहादुर पाण्डेको अध्यक्ष्यतामा सम्पन्न शाखा शुभारम्भ समारोहमा सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा. रबीन्द्र श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, उप महा सचिब अर्जुन पोखरेल लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बिभागीय प्रमुखहरु तथा प्रदेश नं. ४ मा रहेका बिभिन्न कार्यालय तथा संकायहरुमा सम्बद्घ अतिथि लगायत स्थानिय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो ।

शुभारम्भ कार्यक्रममा मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले अन्य जीवन बीमा योजनासँगै स्वास्थ्य बीमा योजना समेत संचालन गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत थप विस्तार गर्न सघाउ पुग्ने बिचार ब्यक्त गरे । यसैगरी देशैभरि नै आफ्ना संजालहरु बिस्तार गर्दै प्रभु लाइफ इन्स्योरेन्सको प्रगती तथा थप ब्यवसायिक सफलताको लागि समेत उनले शुभकामना ब्यक्त गरे ।

सोही अवसरमा सांग्रिला डेभलपमेण्ट बैंकका अध्यक्ष डा. रबीन्द्र श्रेष्ठले कम्पनीले व्यवसायीक उचाई हासील गर्ने विश्वास व्यक्त गरे । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले कम्पनीको उत्तरोत्तर प्रगतीको कामना गर्दै बीमा आवश्यकता भएको र जीवन बीमालाई सरकारी स्तरबाट अनिवार्य गर्नुपर्ने बिचार व्यक्त गरे ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमा एक दीर्घकालिन प्रकृतिको व्यवसाय रहेको तथ्यलाई हृदयङ्गम गर्दै कम्पनीले पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्य गर्ने र संस्थागत सुशासनको माध्यमबाट कम्पनीले सफलता पुर्वक जीवन बीमा व्यवसायको क्षेत्रमा आफूलाई एक अग्रणी कम्पनीको रुपमा उभ्याउन सफल हुने विश्वास व्यक्त गरे । साथै कम्पनीले आम जनताको सुरक्षा र समृद्धिको चाहनालाई ध्यानमा राख्दै फरक किसिममा र समाजका सबै वर्गलाई समेट्ने किसिमका बीमा योजनाहरु कार्यान्वयनमा ल्याउने योजना सहित कार्य अघि बढिरहेको उल्लेख गरे ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कम्पनीका हाल बिभिन्न २० शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए ।
 
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्दैछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]