March 1st, 2018

नगरबासीमा नै छैन बीमा चेतना, स्वास्थ्य बीमा गर्ने अत्यन्त न्यून

काँकडभिट्टा ।  जनचेतनाको अभावले गर्दा सरकारले लागू गरेको स्वास्थ्य बीमा सेवामा आबद्ध हुनेहरुको संख्या मेचीनगरमा अति न्यून पाइएको छ । पाँच जनासम्मको परिवारमा रु दुई हजार ५०० बीमा रकम तिर्दा एक वर्षसम्म रु ५० हजारको स्वास्थ्य उपचार सेवा निःशुल्क पाइने गरी सरकारले झापासहित अन्य जिल्लामा स्वास्थ्य बीमा लागू गरेको छ । तर बीमाको फाइदा बुझ्न नसकेर र बुझाउने अभियानको कमीका कारण मेचीनगरमा बीमामा आबद्ध हुनेहरु न्यून भएका हुन् ।

झापामा गत मंसिरदेखि स्वास्थ्य बीमा लागू भएको हो । तर मेचीनगरमा गत साढे तीन महिनामा दुई हजार १६१ जनाले मात्र बीमाको सदस्यता लिएका छन् । झापा जिल्लाका सबै १५ स्थानीय तहमा यो बीमा लागू भइसकेको छ भने हालसम्ममा ३७ हजार ९१९ जनाले बीमा गराइसकेका छन् । मेचीनगरको जनसंख्या हाल एक लाख ११ हजार ७९७ रहेको छ । मेचीनगरका बीमा दर्ता अधिकारी दिलीप पोखरेलका अनुसार मेचीनगरको वडा नं १० मा सबैभन्दा बढी ५१५ जनाले बीमा गराएका छन् । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]