बैंकिङ क्षेत्रमा देखिएका सात जोखिमहरु

January 12, 2018

मृगेन्द्र नाथ रिमाल । वित्तीय रुपले सक्षम हुँदै सर्वसाधारणहरुलाई कर्जा लगानी गरी नाफा पनि कमाउनुपर्ने कारणहरुले गर्दा बैंकहरु (खासगरी सरकारी स्वामित्वका) मा जोखिम हुने खतरा भइरहन्छ । त्यसकारण सार्वजनिक क्षेत्रका बैंकहरुको हकमा जोखिम सामान्य रुपमा देखा पर्ने गर्दछ । प्रभावकारी जोखिम व्यवस्थापन गर्ने वित्तीय संस्थाहरु मात्रै बजारमा लामो समयसम्म टिक्न सक्षम हुन्छन् । बैंकिङ व्यवसायमा विभिन्न किसिमका जोखिमहरुमध्ये, कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिमलाई विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यी जोखिमहरुलाई न्युनिकरण गर्न बैंकहरुले विभिन्न प्रकारका योजना तथा निर्णयहरु लिनुपर्दछ । नेपालका सार्वजनिक क्षेत्रका बैंकहरुमा जोखिम न्युनिकरणका लागि बाह्र वित्तीय तथा कानुनी सहायताको साथै व्यवस्थित योजना तथा रणनीति समेत अबलम्बन गर्नुपर्ने देखिन्छ ।

कर्जा जोखिम
कर्जा जोखिम भन्नाले कर्जा वा सापटी लिने वा दिने कुनै एक पक्षले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नबाट बञ्चित गराइएको कारणबाट उत्पन्न हुने जोखिमलाई बुझ्नुपर्दछ । अर्थात, यो कर्जा लिने व्यक्ति वा संस्था वा कर्जा ग्राहकले लिएको कर्जा वा ऋिण वा सापट नतिरेको कारणले उत्पन्न हुन जाने जोखिम हो । कर्जा अवधिभित्रको विभिन्न चरणहरुमा यस्तो जोखिम सिर्जना हुन सक्दछ । कर्जा जोखिम व्यवस्थापनको मूख्य उद्देश्य जोखिमको न्युनिकरण गर्नका साथै कर्जा जोखिमलाई स्वीकृत मापदण्डभित्र कायम राखि बैंकको जोखिम समायोजित प्रतिफल दरलाई अधिकतममा पुर्याउनु हो । 

कर्जा जोखिम हुनुमा खास गरेर प्रभाग जोखिम (पोर्टफोलियो रिस्क) को ठूलो भूमिका हुन्छ । यस्तो जोखिम विशेषतः अतिकेन्द्रित जोखिमको कारण उत्पन्न हुन्छ । कुनै खास शीर्षकमा मात्रै लगानी केन्द्रित गर्ने र उक्त शीर्षकको असुलीमा बाधा आउँदा यस्तो जोखिम देखा पर्दछ । 

कारोबारको शिलशिलामा कर्जा जोखिमलाई मुल्यांकन गर्न कर्जा मापनले ठूलो मद्दत पुर्याउँछ । त्यस्तै, कर्जा प्रभाव विश्लेषणको माध्यमबाट पनि कर्जा जोखिमलाई अतिकेन्द्रित हुनबाट बचाउँछ । 

कर्जा मुल्यांकनको माध्यमबाट मापन गर्ने, कर्जा नोक्सानीको परिमाणको अनुमान गर्ने, वैज्ञानिक तवरले व्याजदर निर्धारण गर्ने तथा प्रभावकारी कर्जा विश्लेषण एवम् उचित प्रभाव व्यवस्थापन गर्न सक्यो भने कर्जा जोखिम व्यवस्थापन गर्न सरल हुन्छ । 

बजार जोखिम
बजारमा भइरहने परिवर्तनका कारण बैंकमा हुने सम्भावित नोक्सानीलाई बजार जोखिम भनिन्छ । यस्तो जोखिममा व्याजदर तथा मुद्रा विनिमय दर जस्ता वासलातभित्र वा बाहिरको मूल्यहरु नकारात्मक ढंगले प्रभावित हुन्छन् । व्याजदर तथा विदेशी विनिमयको मूल्यमा हुने परिवर्तनका कारण बैंकको आर्जनमा पूर्ण प्रभाव पर्न जान्छ । बजार जोखिम व्यवस्थापनले बैंकको तरलता, व्याजदर, विदेशी विनिमय लगायत अन्य सम्बन्धित पक्षहरुको मापन, अनुगमन एवम् व्यवस्थापन गर्न एक गतिशील ढाँचाको व्यवस्था गर्दछ । 

दबाब परीक्षण तथा पृष्ठभूमी विश्लेषण मूलतः यस्ता संयन्त्र हुन्, जसले भविष्यमा आउन सक्ने विभिन्न कठिनाइहरुको आँकलन गरी सोका लागि अग्रीम रुपमा चनाखो भएर बस्न सहायता पुर्याउँछ । अनुमानहरु समय समयमा परिवर्तन भइरहने भएकाले परिक्षणका नतिजाहरुको आवधिक अध्ययन जरुरी हुन्छ । 

तरलता जोखिम
बैंकले आफ्नो दायित्व पूरा गर्न रकम जुटाउन नसक्नु वा जुटाउँदा अस्वभाविक दस्तुर र्तिुपर्ने अवस्थाले तरलता जोखिमको सिर्जना हुन्छ । यस्तो हुनुमा अत्याधिक मात्रमा कर्जा प्रभाव हुनु वा एकैपल्ट ठूलो रकम भुक्तानी हुनु पनि हो । लगानीभन्दा निक्षेपको अनुबंदित परिपक्वता छोटो हुने भएकाले तरलता व्यवस्थापनको माध्यमबाट ग्राहकले आफ्नो निक्षेप निकाल्न सक्ने सम्भावित अवस्थाको आँकलन गरिन्छ । खास गरेर निक्षेप, लगानी गर्न एवम् वासलात बाहिरको दाबीलाई भुक्तानी दिन सहायक हुन्छ । 

बैंकको जोखिम व्यवस्थापन गर्नको लागि सम्पत्ति दायित्व व्यवस्थापनलाई एक प्रमुख अंगको रुपमा लिइन्छ । यसले सम्पूर्ण सम्पत्ति तथा दायित्वको निरन्तर रुपमा सँगसँगै जाँच गर्ने कार्य गर्दछ र यस्तो कार्य गर्नुको प्रमुख उद्देश्य नगद परिचालन एवम् भुक्तानी, लागत, असुली र जोखिम अनावरणमा सन्तुलन कायम राख्नु हो । यसमा मू्ख्यतयाः निक्षेप तथा लगानीका विभिन्न सेवाहरुको मूल्य(व्याजदर) निर्धारण गर्ने गरिन्छ । 

व्याजदर जोखिम
बजारका कारण व्याजदरमा परिवर्तन आई व्याज आम्दानीम नकारात्मक असर पर्नु नै व्याजदर जोखिम हो । यसको कारण बैंकको नाफा नोक्सान प्रभावित भई यसको वित्तीय स्थिती समेतलाई प्रभावित बनाउँछ । बजारको माग तथा आपूर्तिको अवस्था विचार गरी नियमित रुपमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एवम् कर्जा लगानी व्याजदरहरुको तुलनात्मक स्थिती एवम् पुँजी लागत अध्ययनको आधारमा सम्पत्ति दायित्व व्यवस्थापन समितिमार्फत व्याजदर निर्धारण गरिन्छ । 

व्याजदरमा परिवर्तन भइरहँदा नाफा, सम्पत्तिको मूल्य, वासलात बाहिरका दायित्वहरु एवम् नगद प्रवाहलाई असर पार्छ । त्यसकारण, व्याजदर जोखिम व्यवस्थापनको मूख्य उद्देश्य बैंकको आर्जनलाई कायम राख्ने क्षमताको विकास गर्ने, सम्भावित नोक्सानीलाई ग्रहण गर्न सक्ने क्षमता नै हो । व्याजदर जोखिम व्यवस्थापन गर्ने शिलशिलामा बैंकहरुले बजार व्याजदरको उतारचढावबाट प्रभावित हुने खालका प्रभागहरुको जोखिम मूल्यांकन गर्न सक्नुपर्दछ । 

आवधिक रुपमा व्याजदर समायोजन हुने गरी प्रवाह गरिएको कर्जालाई जुन अवधिमा व्याजदर समायोृजन गरिन्छ, सोही समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । कुनै व्याजदर विशेष परिवर्तनसँग समायोजन हुने (जस्तै ट्रेजरी बिलको व्याजदर) गरी प्रवाह गरिएको आवधिक कर्जालाई सबैभन्दा कम अवधिको समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । 

व्याजदरमा भएको परिवर्तनका कारण प्रभावित हुने निश्चित भुक्तानी अवधि नभएका दायित्वहरुलाई मात्र जुन अवधिमा व्याजदर समायोजन गरिन्छ सोही समय अन्तरालभित्र समावेश गर्नुपर्दछ ।

अन्तर मापन
विभिन्न समय अन्तरालका कुल सम्पत्तिबाट कुल दायित्व घटाएर सो समय अन्तरालको सम्पत्ति तथा दायित्वको अन्तर निर्धारण गर्नुपर्दछ । उक्त अन्तर धनात्मक अथवा ऋणत्मक दुवै हुन सक्छ । व्याजदर जोखिम न्युन गर्ने प्रयोजनको निमित्त प्रत्येक समय अन्तरालको सञ्चित अन्तर समेत निर्धारण गर्नुपर्दछ । सञ्चित अन्तर निर्धारण गर्दा जुन समय अन्तरालको सञ्चित अन्तर निर्धारण गर्नुपर्ने हो सो समय अन्तरालको अन्तरसहित सोभन्दा अघिका समय अन्तरालका अन्तरलाई समेत जोडेर राख्नुपर्दछ । 

व्याजदरमा हुनसक्ने सम्भावित परिवर्तनलाई अनुमान गर्नका लागि सामान्यतयाः एक प्रतिशतले व्याजदर परिवर्तनबाट पर्न जाने असरलाई हेर्न सकिन्छ । परिवर्तन हुने अनुमान गरिएको व्याजदरलाई प्रत्येक समय अन्तरालको समयावधिसँग समायोजित हुने गरी निर्धारण गर्नुपर्दछ । 

विदेशी विनिमय जोखिम
विदेशी मुद्राको विनिमय दरमा आउने परिवर्तनबाट संस्थाको वित्तीय अवस्थामा पर्न सक्ने असरलाई विदेशी विनिमयसम्बन्धी जोखिम भनिन्छ । यसले गर्दा अनुमान गएिको सावा रकम तथा लगानीको प्रतिफल प्राप्त गर्न सकिँदैन । बैंकले विदेशी विनिमय दरमा आउने परिवर्तनबाट उत्पन्न हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न केन्द्रीय बैंकले जारी गरेको लेखासम्बन्धी नीति तथा वित्तीय विवरणहरुको ढाँचासम्बन्धी निर्देशन बमोजिमको सटही घटबढ कोषको व्यवस्था गर्नुपर्दछ । बैंकले अल्पकालीन तथा दीर्घकालीन भुक्तानी अवधिका आधारमा विदेशी विनिमयलाई मुद्रागत रुपमा वर्गीकरण गरी दुबै अवधिको खुद अवस्था देखाउनुपर्दछ । 

बैंकको विदेशी विनिमयको दैनिक खुद अवस्था बढीमा प्राथमिक पुँजीको ३० प्रतिशतसम्म हुने गरी नेपाल राष्ट्र बैंकले सीमा कायम गरेको छ । खुद अवस्था उक्त सीमाभन्दा बढी हुन गएमा बैंक स्वयम्ले त्यस्तो अवस्थालाई सीमाभित्र ल्याउन प्रयास गर्नुपर्दछ । एक महिनाभित्र पनि बैंकले खुद अवस्थालाई सीमाभित्र नल्याएमा नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाही हुन्छ । खुद अवस्था गणना गर्दा परिवत्र्य विदेशी मुद्रा निक्षेप दायित्व तथा अग्रिम विदेशी विनिमय खरिदविक्री रकम समेतलाई समायोजन गरेको हुनुपर्दछ । 

सञ्चालन जोखिम
मानवीय गल्ती, वित्तीय जालसाझी तथा प्राकृतिक प्रकोपका कारण उत्पत्ति हुने जोखिमहरुले बैंकलाई सताइरहेको हुन्छ । प्रविधिको उल्लेखनिय उपयोग तथा आपसी वित्तीय सम्पर्क जस्ता कारणहरुले गर्दा यस्ता जोखिम बढ्दै गएको देखिन्छ । सञ्चालन जोखिम अपर्याप्त वा असफल आन्तरिक प्रक्रिया, व्यक्ति तथा प्रणाली वा बाहिरी घटनाको कारण नोक्सानी हुने जोखिम हो । यसलाई न्युनिकरण गर्ने शिलशिलामा आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक लेखा परीक्षणलाई प्रारम्भिक उपायको रुपमा अपनाइन्छ । यो जोखिम तथ्यांक राख्ने कार्य तथा नियमनहरु पालना गर्ने सन्दर्भमा देखा गर्ने गर्छ । संस्थाको लागि यो उजागर भएको अवस्थामा ठूलो मूल्य चुकाएर मात्र पार लगाउन सकिने खालको हुन्छ । बैंकले आफूले गरेको सम्झौता सम्बन्धी शर्तहरु तोकिएको समयमा पूरा गर्न नसक्दा पनि यस्तो जोखिम व्यहोर्नुपर्ने हुन्छ । राफसाफ, फर्छ्यौट वा अन्य क्रियाकलापमा भर पर्नुपर्ने अन्य निकायको कारणले पनि यस्तो जोखिम हुन जान्छ । जटिल कार्यहरु सञ्चालन गर्नुपूर्व सोसम्बन्धी ज्ञान हरेक तहका सम्पूर्ण कर्मचारीलाई नियमित रुपले दिँदा पनि केही हदसम्म सञ्चालन जोखिमलाई घटाउन सकिन्छ । बीमा पनि सञ्चालन जोखिम न्युनिकरण गर्नेमध्येको प्रमुख कार्य हो । सञ्चालन जोखिम सम्बन्धी घटनाहरु आन्तरिक नियन्त्रण प्रक्रियाहरुसँग गाँसिएका हुन्छन् । सञ्चालन जोखिमलाई व्यवस्थापन गरी आफ्नो हितको सुरक्षा गर्न अप्ठ्यारो तथा अनपेक्षित खराब अवस्थामा पनि त्यसलाई व्यवस्थापन गर्ने कार्य बैंकको क्षमतामा निर्भर गर्ने हुन्छ । 

सञ्चालन जोखिमले गर्दा आन्तरिक नियन्त्रण तथा संस्थागन सुशासन प्रभावित भई गल्ती, जालसाझी, कार्य असफलता, व्याजमा समर्पण आदि दिशातर्फ उन्मुख हुने हुनाले वित्तीय नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । उचित संस्थागत सुशासन अभ्यास आफैँमा एक प्रभावकारी जोखिम व्यवस्थापन संयन्त्र हो । खास गरेर सञ्चालन जोखिम बजार तथा कर्जा जोखिमसँगै अल्झिने र यसलाई छुट्याउन कठिनाई हुने कारण बैंकबले सञ्चालन जोखिम सम्बन्धी साझा समझदारीलाई विशेष जोड दिनुपर्दछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *