December 22nd, 2017

साताको पाँचै दिन ओरालो लाग्यो सेयर बजार, साढे दुई अर्बको कारोबार

बैंकिङ खबर । साताको पाँचै दिन सेयर बजार ओरालो लागेको छ । साताको सुरुवात दोहोरो अंकको गिरावटबाट गरेको बजार साताको अन्तिम दिन पनि दोहोरो अंकले नै घटेको छ । गत साताको अन्तिम दिन १५२०.१५ अंकमा बन्द भएको सेयर बजार यो साताको अन्तिम दिन १४७२.१५ अंकमा कायम भएको छ । यस आधारमा हेर्दा, साताभरमा सेयर बजार ४८ अंकले घटेको देखिन्छ । जबकी गत साता नेप्से १६.३९ अंकले घटेको थियो ।

यो साता कारोबार रकम पनि सुस्ताएको छ । आइतबार ५१ करोडको कारोबार भएको बजारमा सोमबार थोरै बढेर ५६ करोडको कारोबार भएको थियो । त्यस्तै, मंगलबार झन्डै ६० करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम ४२ करोडमा झरेको थियो । साताको अन्तिम दिन भने कारोबार रकम थोरै बढेर ४६ करोड ८८ लाख रुपैयाँ पुगेको थियो । समग्रमा, यो साता दुई अर्ब ५४ करोड २१ लाख ६२ हजार दुई सय २४ रुपैयाँको कारोबार भएको छ । गत साता दुई अर्ब ९१ करोड ९८ लाख ८८ हजार एक सय छ रुपैयाँको सेयर कारोबार भएको थियो । 

यस साता स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकले लगानीकर्तालाई १०० प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि कारोबारमा आकर्षण देखिएको हो । बैंकको १४ करोड ८० लाख रुपैयाँको हाराहारीमा सेयर कारोबार भउको छ । यसबाहेक, नेपाल टेलिकम, नेपाल ग्रामीण विकास बैंक, जनता बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, प्राइम बैंक लगायतको राम्रो कारोबार भएको छ । नेप्सेमा दिनदिनै गिरावट आएपछि यो साता धेरै कम्पनीले गुमाएका छन् भने थोरै कम्पनीले मात्रै कमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]