December 2nd, 2017

बैंकमा जागीर खानेको व्यथा : हामी त तल्लो स्तरको नागरिक भयौँ

बैंकिङ खबर ।  धादिङका हरिहर थापा अहिले ५७ वर्ष लागे । उनी अहिले धर्मपथस्थित नेपाल बैंकको केन्द्रीय कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत छन् । उमेरले ५६ काटेपनि अझै सुगठित देखिने उनी २० वर्ष इन्डीयन आर्मीका अनुभवि सीपाही पनि हुन् । एकताका गाउँतिर लाहूरे हुन चाहानेहरुको संख्या ठूलो थियो । टक्क काँधमा फित्तावाल रेडियो, आँखी भुई देखाउने साइजको कालो चश्मा र गर्हौँ झोला बोकेर गाउँ जाने लाहूरेलाई छोरी दिनेको पनि होडबाजी चल्थ्यो । त्यतिबेला हरिहर १८ वर्षका थिए । उनलाई पनि गाउँ घरमा ईन्डियन लाहुरे हुने होड चलेपछि भारततिर हानिने जोश चढ्यो । जोशसँगै परिवारको गर्जो टार्नुपर्ने अर्को जिम्मेवारी पनि थियो उनीसँग । त्यस्तै जोश र बाध्यताले धकेलेपछि उनी लाहुरे हुन भारततिर लागे र चाहाना अनुसार सफल पनि भए । 

त्यसपछि उनले पल्टनमा २० वर्ष समय विताए । वि.सं. ०५९ सालमा पल्टने जागिर छाडेर नेपाल फर्किएपछि उनी एक वर्ष घरमै बसे । पल्टनमा कठोर कसरत गर्ने बानी भएको उनको ज्यानले बसेर खान मानेन र उनी आफुलाई फिट हुने जागिर खोज्न थाले । अन्ततः उनी नेपाल बैंकमा गार्डको रुपमा जागिर खान छिरे । राम्रै अनुभव भएकाले उनले जागिर त पाए तर पल्टनमा जस्तो सेवा सुविधा भने पाएनन् । ‘काम २४ घण्टै जस्तो गर्नुपर्छ ।’ उनी भन्छन् ‘तर हामीलाई दिने सेवासुविधा भने काम अनुसारको छैन ।’ 

बैंक भनेको पैसाको कुञ्ज हो र त्यहाँ काम गर्ने मालामाल हुन्छन् भन्ने कुरा अरुबाट धेरै पटक सुनेका थापा त्यही कुञ्ज र ती मालामाल हुनेहरुलाई पुरै सुरक्षा गर्ने बैंकको गार्डलाई दिइने सेवा सुविधाप्रति सन्तुष्ट छैनन् । पल्टनमा उनले चित्तबुझ्दो स्यालरी बुझ्थे । 

थापा अहिले नेपाल बैंकमा प्रमुख सुरक्षकको जिम्मेवारीमा छन् । उनी सुरक्षक अधिकृतको रोहवरमा रहेर काम गर्ने गर्दछन् । उनको रोहवरमा काम गर्ने ५ जना छन् । उनले नेपाल बैंकमा लाईट चेक गर्ने, सीसी टिभि हेर्ने, बैंकमा सुरक्षा गर्ने देखि सबै काम गर्नुपर्दछ । ‘काम २४ घण्टै गर्नुपर्छ ।’ उनी भन्छन् । तर, आर्मीमा जस्तो सेवा सुविधा भने छैन, यहाँ खान र बस्न गरी जम्मा १९ हजार तलब छ ।’

नगबचमसेवा सुविधाप्रति असन्तुष्ट थापा आम मानिसले गार्डलाई गर्ने व्यवहारप्रति झनै दुखि छन् । उनी भन्छन्– ‘विदेशमा अर्काको नोकरी गरेर चश्मा ढल्काएर आउनेलाई सबैले मान्छन् तर गार्डकै रुपमा काम गरेर भएपनि आफ्नै देशमा गरिखाने हामीलाई गर्ने व्यवहार धेरै फरक हुन्छ ।’

मुलुकको विकासका लागि आम मानिसमा कुनै पनि कामको सम्मान गर्ने बानीको विकास हुनुपर्ने उनी बताउँछन् । ‘हामीकहाँ उद्यमशिलता बढाउन नसक्नुको प्रमुख कारण भनेकै देशमा सिर्जना भएको कामको मानिसले सम्मान नगर्नु हो ।’ उनले भने । ‘सुरक्षा गार्डलाई तल्लो स्तरको व्यवहार गरिन्छ । तर मलाई भने सुरक्षा गार्डको पद उच्च जस्तै लाग्छ । देशकै सानो देखि ठूलो सम्मका सम्पतिको सुरक्षा गार्डहरुले नै गर्ने गर्छन् । तर, नेपालमा सुरक्षा गार्ड भनेपछि नराम्रो नजरले हेर्ने गरिन्छ । अरुले हामीलाई हेर्ने नजर र व्यवहारले हामीलाई प्रताडीत गर्ने गरेको छ । हामीलाई मान्छे नै होइनौँजस्तै व्यवहार हुन्छ, जुन कुराले सार्है दुःख लाग्छ ।’ 

थापा त प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै बाध्यतामा रहेका गार्डहरुको दुख पनि उस्तै छ । खासगरी बैंक तथा वित्तीय संस्थाको सुरक्षाको विषय निकै संवेदनशील मानिन्छ । सेवा र सुविधाबाट भन्दा पनि उनीहरु आफ्नो काम र स्तरको सम्मान नहुँदा बढी दुखि देखिन्छन् । २४ घण्टै काम गर्दा पनि ‘जाबो गार्ड नै त हो नि’ भन्ने बैंककै कर्मचारी तथा अन्य मानिसको व्यवहारले ज्यादै दुख लाग्ने उनीहरु बताउँछन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]