November 22nd, 2017

झन् झन् मजबुत बन्दै सरकारी बैंकहरु

बैंकिङ खबर । राजनीतिक अस्थिरताका कारण नेपालको हरेक क्षेत्र पछाडि परेको छ । हरेक क्षेत्रमा राजनीति हाबी भइरहेको छ । सरकारी संस्थाहरुमा अझ कामभन्दा बढी राजनीति हुने गरेको छ । सरकारी कलेज, स्कुल अथवा अन्य संस्थामा समेत राजनीति भइरहँदा सरकारी बैंकहरु भने दिनदिनै फस्टाइरहेका छन् । नेपालमा सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक गरी तीन बैंक संचालनमा छन् । यी बैंकहरुले नाफा बढाइरहेका छन् भने उत्पादनमूलक क्षेत्रमा लगानी बढाएर मुलुकको विकासमा समेत सहयोग गरिरहेका छन् ।

मुनाफा आर्जनमा अब्बल
सरकारी स्वामित्वका तीन वटै बैंकहरु मुनाफा आर्जनमा अब्बल रहँदै आएका छन् । गत आर्थिक वर्षमा नेपाल बैंक धेरै नाफा कमाउने कम्पनीहरुको दोस्रो स्थानमा थियो । बैंकले तीन अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको विवरण भने सार्वजनिक गरिसकेको छैन । त्यस्तै, मुनाफाको आधारमा राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्षमा चौथो स्थानमा थियो भने कृषि विकास बैंक पाचौँ स्थानमा थियो । यी दुई बैंकले क्रमशः तीन अर्ब आठ करोड रुपैयाँ र दुई अर्ब ७७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण पनि सार्वजनिक गरिसकेको छ । जसअनुसार, बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कृषि विकास बैंकले भने पहिलो त्रैमासको विवरण सार्वजनिक गरेको छैन ।

उत्पादनमूलक क्षेत्रमा उल्लेख्य लगानी
सरकारी बैंकहरुले उत्पादनमूलक क्षेत्रमा उल्लेख्य लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले क वर्गका बैंकहरुलाई उत्पादनमूलक क्षेत्रमा २५ प्रतिशत लगानी गर्न निर्देशन दिएको छ । यी बैंकहरुले भने राष्ट्र बैंकले भनेकोभन्दा बढी लगानी उत्पादनमूलक क्षेत्रमा गरेको दाबी गरेका छन् । कृषि विकास बैंकले त कृषि क्षेत्रमा ३३ प्रतिशतसहित उत्पादनमूलक क्षेत्रमा ७५ प्रतिशत लगानी गरेको बताएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले पनि उत्पादनमूलक क्षेत्रमा राष्ट्र बैंकले तोकेको भन्दा बढी लगानी गरेको बताएका छन् ।  

शाखा संजाल विस्तारमा अगाडी
शाखा संजाल विस्तारमा पनि सरकारी बैंकहरु अगाडी रहेका छन् । हाल संचालनमा रहेका बैंकहरुमध्ये शाखा संजालमा अब्बल बैंक हो कृषि विकास बैंक । यो बैंकको शाखा संख्या २५३ रहेको छ । जसमध्ये, ३३ वटा शाखा उपत्यकाभित्र रहेका छन् भने बाँकी २२० शाखा उपत्यकाबाहिर रहेका छन् । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको शाखा १८२ वटा (राष्ट्रिय वाणिज्य बैंकको वेभसाइटमा उल्लेख गरिएको) रहेको छ । जसमध्ये, ३८ वटा शाखा उपत्यकाभित्र रहेको छ । नेपाल बैंकले भने हालसम्म १३२ वटा शाखा (नेपाल बैंकको वेभसाइटमा उल्लेख गरिएको) विस्तार गरेको छ । जसमध्ये, २९ वटा शाखा उपत्यकाभित्र रहेका छन् । यसरी शाखा संजार विस्तारमा मात्र नभएर ग्रामीणमुखी शाखा विस्तारमा नै सरकारी बैंकहरु अगाडी बढेको देखिन्छ ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]