November 15th, 2017

मकवानपूरमा ज्योति विकास बैंकका दुई शाखा विस्तार

ज्योति विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको वाग्मती गाउँपालिका वडा नं. ६, फापरबारी र हेटौँडा बजारमा गरी दुई नयाँ शाखा कार्यालयहरु स्थापना गरी संचालनमा ल्याएको छ । फापरबारी शाखा कार्यालयको समुद्घाटन वाग्मती गाउँपालिकाका प्रमुख सर्केस घलानले सोमबार एक विशेष समारोहका बिच गरे भने हेटौँडा शाखाको उद्घाटन मंगलबार नेपाल राष्ट्र बैंक, बीरगन्जका प्रमुख, निर्देशक रबिन्द्र महर्जनले गरे ।

दुर्गम भेगमा बैंकिङ सेवा
स्थानीय तहमा बैंकिङ्ग पहुँच नपुगेको स्थानमा बैंकको शाखा खोल्ने क्रममा ज्योतिले आधुनिक बैंकिङ्ग सुविधा सहितको फापरबारी शाखा स्थापना गरेको हो । उक्त स्थान हेटौंडाबाट ४८ कि.मि. दक्षिण पूर्वमा पर्दछ । ग्रामिण भेगलाई प्राथमिकताका साथ शाखा संजाल बिस्तार गरी कृषि उत्पादन, पशुपालन, फलफूल खेतीमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बैंकले जनाएको छ । उक्त शाखा मार्फत बैंकले वाग्मती गाउँपालिका तथा छिमेकी गाउँपालिका लगाएत मकवानपुर जिल्लाका अरु गाउँपालिकाहरुका कृषक, उद्योेगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा सर्वसाधारणहरुले बचत, कर्जा सँगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास लिएको छ । 

वित्तीय पहुँच नपुगेका स्थानमा शाखा विस्तार गर्ने प्रतिवद्धता
शाखा उद्घाटन समारोहको अध्यक्षता ग्रहण गरेका बैंक संचालक समतिका अध्यक्ष हरिचन्द्र खड्काले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामिण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने बताए । कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी दिए । 

बोनस जारी गरेर पुँजी पुर्याउने
हाल ज्योति विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ । हालसम्म ज्योतिले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी दुई अर्व ३७ करोड रुपैयाँ पुगेको छ । गत आ.व. को नाफाबाट बोनस सेयर वितरण गरी ज्योतिले नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुर्याउने भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]