September 23rd, 2017

दशैँ विदामा बैंकको सुरक्षा कडा हुने

सुष्मा थापा । दशैँ विदामा बैंकिङ सुरक्षा कडा हुने भएको छ । नेपालीहरुको महान् चाड दशैँ र तिहारको समयमा बैंक तथा वित्तीय संस्थाहरुमा धेरै आर्थिक कारोबार हुने गर्दछ । त्यसैले, यो समय सुरक्षाका दृष्टिकोणले बढी चुनौतीपूर्ण हुन्छ । अझ दशैँका लागि सार्वजनिक विदा घोषणा गरिएका दिनमा चोरी, लुटपाट जस्ता घटना बढ्ने खतरा हुन्छ । त्यसैले, यो समयमा हरेक वर्ष विशेष सुरक्षा परिचालन गर्ने गरिन्छ । यसपली पनि दशैँका लागि भनेर विशेष सुरक्षा रणनीति बनाइएको प्रहरी नायब महानिरीक्षक (डिआईजी) मनोज न्यौपानेले बताए । 
 
कस्तो छ​ सुरक्षा रणनीति
डिआईजी न्यौपानेका अनुसार, दशैँको समयमा बैंकको सुरक्षा कसरी गर्ने भन्ने विषयमा प्रहरी र बैंकहरुबीच छलफल गरिन्छ । बैंकहरु चाडबाडका बेला कहिलेदेखि कहिलेसम्म खुल्छन् ? त्यो अवधिमा सुरक्षा कसरी दिने भन्ने विषयमा हामीले बैंकमा कार्यरत सुरक्षाकर्मीहरुसँग पनि छलफल गरिन्छ । बैंकका सुरक्षाकर्मीहरुले के कसरी सुरक्षा दिइरहेका छन् ? थप कस्तो किसिमको सुरक्षा दिनु आवश्यक छ ? लगायतका बिषयमा अध्ययन गरेर थप कस्तो किसिमको सुरक्षा सतर्कता अपनाउन सकिन्छ भन्ने कुरामा प्रहरीले बैंकका सुरक्षाकर्मीहरुलाई सल्लाह समेत दिने गर्दछन् । दशैँका लागि भने सादा पोशाकमा प्रहरी परिचालन, मोवाइल गस्ती, पिकेटको माध्यमबाट सुरक्षा, बैंक तथा वित्तीय संस्थासँग सुरक्षा सतर्कताका बिषयमा छलफल, बैंकको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सुरक्षा सम्बन्धी थप जानकारी दिने, पूर्व अपराधिहरुको बिशेष निगरानी गर्ने, जनताहरुलाई सुरक्षा सचेतना तथा सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्ने जस्ता रणनीतिहरु बनाएको डिआईजी न्यौपानेले बताए । 

प्रविधिका कारण सजिलो
प्रविधिको विकासका कारण पछिल्लो समय बैंकिङ सुरक्षामा सहजता भएको छ । विगतका दिनजहरुमा दशैँको समयमा चोरीका घटनाहरु धेरै सुनिन्थ्यो । यद्यपि, पछिल्लो समय यस्ता घटनाहरु कम भएका छन् । धेरै अपराधिक हुने स्थानहरुमा सीसीटिभी क्यामेरा जडान गरिएको हुँदा अपराधिक मनशायले बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्नेहरु पक्राउ पर्ने सम्भावना बढि हुन्छ । सीसीटिभीका कारण प्रहरीहरुलाई पनि अपराधीलाई पक्राउ गर्न सहज भएको छ । त्यसमाथि, डिजिटल फाइनान्सका कारण बैंकहरुसँग नगद कम हुन्छ । व्यक्तिसँग पनि नगदको सट्टा बैंकिङ कार्डहरु हुन्छन् । यसले गर्दा, दशैँको विदाको मौका छोपेर अपराध गर्नेहरुको मनोबल गिर्दै गएको छ । 

चाडबाडको समयमा सुरक्षाकर्मी तथा प्रहरीहरुले कडा सुरक्षा रणनीति अपनाएपनि सबै सर्वसाधारणले आआफ्नो स्थानबाट सतर्कता अपनाउनुपर्छ । बैंकहरुले पनि सोही अनुरुपको सुरक्षा व्यवस्था अपनाउनुपर्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]