May 26th, 2017

जनताले सिद्धार्थलाई एक्वायर गर्ने प्रस्ताव पारित, चुक्तापुँजी आठ अर्ब नाघ्ने

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड जनता बैंकसँग एक्विजिसनमा जाने निर्णय पारित भएको छ । सिद्धार्थको शुक्रबार (जेठ १२ गते) सम्पन्न विशेष साधारणसभाले यस डेभलपमेन्ट बैंकलाई जनता बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने निर्णय पारित गरेको हो । नेपाल राष्ट्र बैकबाट मिति २०७४ बैशाख २१ गते प्राप्त भएको सैद्धान्तिक सहमति अनुसार डीडीएको आधारमा निर्धारण गरिएको १ः१ सेयर स्वाप अनुपातका आधारमा प्राप्ति (एक्विजिशन) गर्ने अन्तिम स्वीकृति प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जनाएको छ । 

बैंकका सञ्चालक समिति अध्यक्ष राम बहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सभामा अध्यक्ष भण्डारीद्धारा पेश गरिएको सञ्चालक समितिको एक्विजिसनसम्बन्धी प्रस्ताव लगायतको प्रतिवेदनलाई पारित गर्नुका साथै जनता बैंक नेपाल लिमिटेडले प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र, संयुक्त मर्जर तथा एक्विजिसन समितिले गरेका निर्णयहरुको समेत सभाले अनुमोदन गरेको छ ।

सभामा बोल्दै अध्यक्ष भण्डारीले जनता बैंक नेपाल लिमिटेडमा प्राप्ति सम्बन्धी काम सम्पन्न भए पश्चात गठन हुने सञ्चालक समितिमा प्राप्ति गर्ने जनता बैंकबाट पाँच जना र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट दुई जना गरी सात जनाको सञ्चालक समिति रहने र सम्पुर्ण कर्मचारीहरुलाई समायोजन गरिने जानकारी दिए । उनले एक्विजिशन पश्चात जनता बैंक नेपाल लि.ले १ हजार भन्दा बढी कर्मचारी र ११२ भन्दा बढी शाखा सञ्जालबाट बैकिङ्ग सेवा दिने र प्राप्ति पश्चात सेवालाई निरन्तरता दिन नचाहने कर्मचारीहरुका लागि बैंकले स्वेच्छिक अवकाश योजना कार्यान्वयन गर्ने सहमति भएको जानकारी दिए ।

सभामा अध्यक्षले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंक लिमिटेडले प्राप्ति गरे पश्चात बैंकको चुक्ता सेयर पूँजी छ अर्ब छ करोड ५४ लाख ३८ हजार दुई सय रुपैयाँ हुने र सिद्धार्थ डेभलपमेन्ट बैंकले निश्कासन गरेको ६०% हकप्रद सेयर बापतको रकम ८५ करोड १५ लाख पाँच सय साठी रुपैयाँ बिक्री पश्चात बैंकको कुल सेयर पूँजी जम्मा छ अर्ब ९१ करोड ६९ लाख ३८ हजार सात सय साठी रुपैयाँ पुग्ने बताए । साथै एकिकृत कारोवार पश्चात जनता बैंक नेपाल लि.ले चालु आ.ब.को नाफाबाट नेपाल राष्ट्र बैंकको निर्देशनुसारको आठ अर्ब रुपैयाँ चुक्तापुँजी  सजिलै पुग्ने दावी गरे ।

यसबाहेक, सभाले ६ सदस्यीय संचालक समितिको निर्वाचन पनि सम्पन्न गरेको छ । जस अनुसार नवगठित सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट राम बहादुर भण्डारी, रतन लाल अग्रवाल र उद्धव चन्द्र गौतम तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट अर्जुन कुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. को निर्विरोध चयन गरेको छ । 

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले सेयरधनीहरुको चाहना बमोजिम नै सिद्धार्थ डेभलपमेन्ट बैंकलाई जनता बैंकमा एक्विजिशन गरिएको र दुबै संस्थाको एकिकृत कारोवार पश्चात जनता बैंक नेपालको नामबाट नेपालको बैकिङ्ग विकासमा उल्लेख्य प्रगति गरिने विश्वास व्यक्त गरे ।

सभामा पुर्व सञ्चालक समिति सदस्य तथा अध्यक्षको तर्फबाट पूर्व अध्यक्ष कमल नाथ ज्ञवालीले जनता बैंकमा सिद्धार्थ डेभलपमेन्ट बैंकको एक्विजिशनले स्थापनादेखि नै बाणिज्य बैंकको रुपमा कार्य गर्ने सोचको विकास गरिएको र आज सोही अनुसार एक्विजिशनको प्रकृया सम्पन्न हुन लागेकोमा खुशी ब्यक्त गर्दै लगानीकर्ताहरुले आगामी दिनमा विगतमा झैं शसक्त रुपमा आफ्नो क्षेत्रबाट योगदान दिनु हुनेछ भन्ने विश्वास व्यक्त गरे । साथै सभामा बोल्ने सम्पुर्ण सेयरधनीहरुले डेभलपमेन्ट बैंकलाई एक्विजिशन गरी बाणिज्य बैंकमा गरिएकोमा खुशी ब्यक्त गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]