March 23rd, 2017

शिलान्यास भएको एक वर्षमा पनि सुरु भएन पोखरा विमानस्थल निर्माणको काम

निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन । निकै तामझामका साथ गएको वैशाखकोे १ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान एवम् स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष विजयकुमार गच्छदार र नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

 शिलान्यास भएको एक वर्ष हुँदासम्म पनि बाढी तर्काउन नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्ग बनाउने बाहेक अरु नयाँ काम हुन नसकेकोे पोखरा अन्तरराष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए । उनले अब केही दिनपछि विमानस्थल निर्माणको नयाँ काम शुरूवात हुने विश्वास दिलाए । 

सन् २०२० को जुलाईसम्ममा विमानस्थलको काम सम्पन्न गर्नेगरी चीनको सिएमसिइ इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैङ्कले करीब रू. २१ अर्ब ऋण उपलब्ध गराएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]