April 5th, 2016

चिनियाँ बैंक नेपाल आउँदाका फाइदा

chinese currencyनवराज कुँवर / गतसाता चीनको औपचारीक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका बैंकहरुले नेपालमा शाखा खोल्न पाउने समझदारी पत्रमा हस्ताक्षर गरेपछि त्यसलाई बहुआयामिक तबरबाट हेरिएको छ । चिनियाँ बैंकहरुले नेपालमा शाखा खोल्दा आन्तरीक रुपमा मुलुकमा बैंकिङ प्रतिष्पर्धा त बढ्छ नै त्यससंगै ती बैंकहरुले विकासको क्षेत्रमा लगानी समेत गर्छन् । 

पहिला पनि विदेशी बैंक नेपाल विस्तार हुँदा धेरै मान्छे हच्किएका थिए । अहिले चिनियाँ बैंक आउन लाग्दा पनि कतिपयमा आशंका पैदा हुनु अस्वभाविक हैन तर विदेशी बैंकबाटै सिकेर धेरैले प्रगति गरेका इतिहाँस पनि हामीसंगै छन् । ३० वर्ष अगाडी नेपाल अरब बैंकले नेपालमा बैंकिङ सेवा सुरु गर्दा कतिपयले त्यसको प्रभावकारीतालाई पत्याएका थिएनन् । धेरैले त्यसको भविष्यमाथी नै प्रश्न उठाए । तर व्यवहारतः त्यही विदेशी बैंकले नेपालमा भित्र्याएको प्रविधि र व्यवस्थापन प्रणालीबाट प्रभावित भएर निजी क्षेत्रका बंैकहरु थपिए । तिनै बैंकहरुसंग प्रतिष्पर्धामा उत्रिएकै कारण पनि आज आन्तरीक बैंकिङ प्रणाली सुधारोन्मुख अवस्थामा रहेको बैंकर्सहरुको भनाई छ । त्यसैले पनि चिनियाँ बैंकहरु नेपालमा विस्तार हुनु सकारात्मक भएको बैंकका जानकारहरु बताउँछन् । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी नेपालमा चीनका बैंकसंगै पूर्वाधार विकासका संभावनाहरु पनि संगै आउने बताउँछन् । उनी भन्छन्, ‘चीनका बैंकहरु आउँदा त बैंकमात्र आउँदैनन्, लगानी आउँछ, नयाँ प्रविधि आउँछन् र देशको विकासको संभवना आउँछ ।’

चिनियाँ बैंकसंगै चिनियाँ बैंकिङ प्रणाली, प्रविधि र प्रभावकारी कार्य प्रणालीहरु समेत भित्रिने भन्दै धेरैले यसलाई सकारात्मक रुपमा हेरेका छन् । ‘चिनियाँ बैंकहरु नेपालमा आउँदा फाइदा छ ।’ बैंकर्स एशोसियसनका अध्यक्ष उपेन्द्र पौडेल भन्छन, ‘नेपाली बैंकहरुमा बैंकिङ प्रतिष्पर्धा बढ्नुका साथै चिनियाँ बैंकहरुले पूर्वाधार विकासमा लगानी पनि गर्छन् । यहाँ कुनै बैंक वा कोही पनि आत्तिनुपर्दैन ।’

चिनियाँ बैंक नेपालमा आउन लागेको विषयलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । नेपालमा ठूला पूर्वाधार निर्माण गर्नु छ । त्यसका लागि नेपालको आफ्नै स्रोतले पुग्दैन । नेपालमा शाखा खोल्ने बैंकले ती पूर्वाधार विकासमा लागी लगानी गर्न सक्ने भएकाले यसलाई सकारात्मक रुपमा हेरिएको हो । यद्यपी नेपालमा शाखा खोल्ने चिनियाँ बैंकले खुद्रा लगानी भने गर्न पाउँदैनन् । चीनको बैंक नेपालमा विस्तार हुँदा आन्तरीक बैंकिङ प्रतिष्पर्धा पनि हुने हुनाले सेवाग्राहीले पनि थप लाभ लिन सक्ने बैंकर्सहरु बताउँछन् ।

विश्वकै विवरण हेर्ने हो भने चीनले अन्तर्राष्ट्रिय जगतमा विकासको क्षेत्रमा ठूलो लगानी गर्ने गरेको छ । त्यहाँको बैंक शाखा नेपालमा हुनुले चिनियाँ लगानी नेपालमा आकर्षित गर्न पनि राम्रो अवसर हुन्छ । त्यतिमात्र नभएर विश्वलाई नेपालमा लगानीमैत्री वातावरण रहेछ है भन्ने सकारात्मक सन्देश पनि प्रवाह हुन्छ । किनभने चीनले जुनसुकै देशमा लगानी गर्दा सुरक्षा र मितव्ययिताको पाटोलाई अत्यन्तै ध्यान पुर्याउने गरेको देखिन्छ । 

मेगा बैंकका सिईओ अनिल केशरी शाह भन्छन्, ‘ठूला पूर्वाधार निर्माणमा गर्न नेपालसंग पर्याप्त स्रोत पनि छैन । नेपालमा शाखा खोल्ने बैंकले ती पूर्वाधार विकासको लागी महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।’ उनीहरुसंगै उद्योग र पूर्वाधार क्षेत्रमा चीनको प्रत्यक्ष लगानी पनि भित्रिने उनको भनाई छ । 

पूर्ववत् रुपमा नेपालले ध्यानपुर्याउनुपर्ने पक्ष
महत्वपूर्ण कुरा के छ भने चिनियाँ बैकहरु त्यतिकै भने आउदैनन् । सम्झौता नै भएपनि उपयुक्त र लगानीमैत्री वातावरण नदेखेसम्म जुनै सम्झौता गरे पनि उनीहरु ‘अँध्यारोमा झट्टारो’ हान्ने पक्षमा देखिदैनन् । एनएमबी बैंकका सिईओ समेत रहेका पौडेल उनीहरुलाई बेलाउन नेपालले आवश्यक तयारी गर्नुपर्ने कुरा औँल्याउँछन् । उनी भन्छन्, ‘किनभने चिनियाँ बैंकहरु नेपालमा आउँदा नेपालको आन्तरीक विकासमा बहुआयामिक उपलब्धीहरु पनि संगै आउनेछन् ।’

कतिपय बैंकर्सहरुले विदेशी बैंकले शाखा खोल्दा कसरी खोल्ने, कति रकमको कारोबार गर्न दिने, उनीहरुको सुपरिवेक्षको प्रणाली कस्तो हुने भन्ने विषयमा राष्ट्र बैंकले तयार गर्नुपर्ने तिर जोड दिएका छन् ।  त्यस्तै चीनमा कस्तो सेवा दिइरहेको, कुनवर्गको बैंकले शाखा खोल्न पाउने भन्ने विषयमा पनि उचित निर्णय गर्नुपर्ने उनीहरुले औल्याएका छन् । ‘चीनका कुन स्तरका बैंकलाई नेपालमा शाखा खोल्न दिने भन्ने विषयमा पनि स्पष्ट हुनुपर्ने आवश्यकता छ ।’एनएमबी बैंकको सिइयो पौडेल भन्छन्, ‘नेपालमा शाखा खोल्न चाहने बैंकले चीनमा दिइरहेका सेवाबारे वा त्यहाँ उक्त बैंकको प्रतिष्ठा कस्तो छ भन्नेमा ध्यान दिनुपर्छ ।’

चिनियाँ बैंकको शाखा नेपालमा आउँदा उद्योग र पूर्वाधार क्षेत्रमा चीनले प्रत्यक्ष रुपमा लगानी पनि गर्न सक्छ । यदी त्यसो भयो भने नेपालको अर्थतन्त्रमा राम्रो टेवा मिल्छ । चिनियाँहरुले आजभोली यहाँका औद्योगिक विस्तारका लागि निकै चासो देखाउने गरेका छन् । उद्योग विभागमा पनि वैदेशिक लगानी रहने उद्योग दर्ताको संख्या हेर्दा चिनियाँको उपस्थिति नै बढी देखिन्छ । यद्यपी दर्ता भएका उद्योगहरु सञ्चालनमा भने आउन नसक्नु अर्को विडम्बना छ । त्यसरी क्षेत्र पहिचान गरेर दर्ता भएर बसेका उद्योग सञ्चालमा ल्याउन पनि यसको भूमिका महत्वपूर्ण हुन सक्छ । 

यहाँका बैंकहरुले पनि आफूलाई स्पर्धाको कित्तामा राखेर काम गर्न तयारी गर्नुपर्छ ।  चालु आर्थिक वर्षकै मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बाणिज्य बैंकहरुको न्यूनतम पुँजी ८ अर्ब पु¥याउनु पर्ने व्यवस्था गरेको छ । जसले पुँजीगत हिसाबले बैंकहरुलाई सक्षम त बनाउँछ नै अब प्राविधिक रुपमा पनि नेपाली बैंकहरुले आफ्नो क्षमता सुधार गर्न आवश्यक छ । प्रतिस्पर्धिहरुको रणनीतिलाई पहिल्यै मूल्याङकन गरेर त्यहीअनुसारको तयारी गर्न सकेमात्रै प्रतिस्पर्धामा  र सेवाग्राहीको विश्वासको उचाई कायम गर्न सकिन्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]