February 19th, 2017

एनएमबि माइक्रोफाइनान्सको अर्धवार्षिक समीक्षा गोष्ठी : राम्रोसँग बुझेर मात्र कर्जा लगानी गर्न सुझाव

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/०७४ को लक्ष्य तथा उपलब्धिको लेखाजोखा र धितो कर्जा ब्यवस्थापन गर्ने उद्देश्यले 'अर्धवार्षिक समीक्षा गोष्ठी २०७३' तथा धितो कर्जा सम्बन्धी दोश्रो चरणको तालिमको आयोजना गरेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तिर्थरत्न कोनाजोले आइतबार एक कार्यक्रमका बिच होटल आनन्द, पृथ्वीचोक पोखरामा उक्त गोष्ठीको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रमुख कार्यकारी अधिकृत कोनाजोले बंगलादेशबाट सुरुवात भएको लघुवित्त कार्यक्रमको ढाँचा अनुरुप नेपालमा पनि ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकास गर्ने उद्देश्यका साथ सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न परियोजनाहरु संचालन गर्दै लघुवित्तको सुरुवात भएको बताए । तर, ती परियोजनाहरु छोटो समयको लागि संचालन भएकोले प्रभावकारी ढंगले कार्यक्रमले उद्देश्यअनुरुप कार्य गर्न नसकेको उनको भनाई छ । यही अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको दीगो विकासका लागि कम्पनी ऐन २०६३ अनुसार कम्पनीको रुपमा स्थापना गरी नेपाल राष्ट बैंकबाट स्वीकृति लिई घ वर्गको वित्तीय संस्थाको रुपमा एनएमबि माइक्रोफाइनान्सको स्थापना गरिएको जानकारी कोनाजोले दिए । 

शाखा प्रमुखलाई सुझाव
उनले कार्यक्रममा उपस्थित शाखा प्रमुखहरुलाई कुनै कार्य गर्नुभन्दा पहिले त्यो काम किन गर्ने ? कति समयमा कहाँ पुग्न सकिन्छ ? सोको विस्तृत योजना बनाएर मात्र काम गर्नुपर्ने सुझाव दिए । शाखा प्रमुखहरु वित्तीय संस्थाको नीति तथा कार्यक्रमको कार्यान्वयन गर्ने धरोहर भएकोले वित्तीय संस्थाको हरेक नीतिनियमको बारेमा स्पष्ट भई कार्यक्षेत्रमा लैजानुपर्ने उनले बताए । लघुवित्तको क्षेत्रमा वर्तमान समयमा आएर केही चुनौतीहरु देखा पर्दै आइरहेको कुराको चर्चा गर्दै यसप्रति चनाखो भई कार्यक्रम संचालन गर्न उनले शाखा प्रमुखहरुलाई सुझाव दिए । सदस्यहरुमा हाल देखा परेको बहुबैंकिङ्ग सम्बन्धी समस्याले गर्दा कतिपय सदस्यहरुले कर्जाको दुरुपयोग गर्ने गरेको कुराहरु केही सञ्चार माध्यमहरुमा आइरहेकोले सदस्यहरुको यथार्थ विश्लेषण गरेर मात्र कर्जा लगानी गर्न समेत उनले सुझाए । उनले शाखा प्रमुखहरुलाई लघुवित्त कार्यक्रम संचालन गर्ने मात्र नभएर हरेकले आफ्नो कार्यक्षेत्रमा वित्तीय सल्लाहकार तथा सहजकर्ताको रुपमा पनि कार्य गर्न आग्रह गरे । साथमा उनले हाल वित्तीय क्षेत्रमा निक्षेपको कमीले गर्दा कर्जा लगानीमा देखिएको समस्याले लघुवित्तको क्षेत्रमा पनि अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेकोले त्यसतर्फ पनि ध्यान दिई निक्षेप परिचालनतर्फ जोड दिनुपर्ने आवश्यकता औँल्याए । 

कार्यक्रममा शाखाहरुले हालसम्म गरेका प्रगती प्रतिवेदन प्रस्तुत गर्ने, कार्यक्रम संचालनका क्रममा आइपरेका समस्याहरु र समस्या समाधानका लागि कर्मचारीले गरेका प्रयासहरुका बारेमा विचार विमर्श गरिने बताइएको छ । त्यसैगरी बैंकिङ पहँुच नपुगेका ग्रामीण भेगका वासिन्दाहरुमा बैंकिङ्ग सेवा पुर्याउन सो भेगका उद्यमीहरुलाई काम गर्नका लागि सहज बनाउन धितो कर्जा प्रदान गर्दै आएको र त्यसलाई अझ प्रभावकारी बनाउन धितो कर्जा सम्बन्धी तालिम प्रदान गर्न लागिएको कोनाजोले बताए । शाखाप्रमुखहरुले नाफा कमाउने मात्र उद्देश्य नराखी सेवाको भावना लिई वास्तविक गरीक सदस्यहरुलाई बैंकिङ सेवाप्रदानगर्न आग्रहगर्नुभयो । सदस्यलाई कर्जा मात्रदिनु ठुलो कुरा नभई सो कर्जावाट सदस्यलाई उद्यमीवनाउने बारेमा शाखा प्रमुखहरुले भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । एनएमबि माइक्रोफाइनान्सको कार्यक्रम विपन्नमैत्री बन्नुपर्ने र सो अनुसारको कार्यक्रम भए मात्र सदस्य दीगो हुने उनको जोड थियो । 

तीन दिनसम्म चल्ने सो कार्यक्रममा एनएमबि माइक्रोफाइनान्सका विभिन्न शाखा कार्यालयहरुका २४ जना शाखा प्रमुखहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको छ । कार्यक्रममा चालु वर्षको छ महिनामा हासिल गरेका उपलब्धीहरु र आगामी दिनमा लक्ष्य पुरा गर्न आवश्यक रणनीति तर्जुमा गर्ने बताइएको छ । साथमा धितो कर्जा लगानीका लागि आवश्यक पर्ने सम्पुर्ण प्रक्रियाहरुको बारेमा सबै सहभागीहरुमा स्पष्ट पारिने समेत सीईओ कोनाजोले बताएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]