February 16th, 2017

सिनर्जी पावर लिमिटेडको आईपीओ बाँडियो : कसलाई कति कित्ता पर्यो ?

सिनर्जी पावर लिमिटेडले निष्काशन गरेको साधारण सेयर विहीबार बाँडफाँड गरिएको छ । कम्पनीले गत पुस ८ गतेबाट १३ गतेसम्म निष्काशन गरेको २१ लाख कित्ता आईपीओ विहीबार अपरान्ह ४ बजे सानिमा क्यापिटल लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँड गरिएको हो । 

एक लाख एक हजार छ सय ५५ वटा आवेदन परेकोमा ७१ हजार चार सय ८९ आवेदकले मात्रै सेयर पाएको विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गरेको थियो । जसमा मागभन्दा ३५ गुणा बढी अर्थात छ अर्ब ८१ करोड रुपैयाँको आवेदन परेको थियो । 

पाँच हजार रुपैयाँदेखि ३१ हजार रुपैयाँसम्मका लागि आवेदन दिने आवेदकलाई गोलाप्रथाबाट सेयर वितरण गरिएको छ । ३२ हजारदेखि ५० हजार रुपैयाँसम्मको आवेदन दिनेले ३.०४ प्रतिशत र सोभन्दा बढीको आवेदन दिनेले २.९३ प्रतिशत सेयर पाएका छन् । जसअनुसार, पाँच कित्ताका लागि आवेदन दिनेले १५ कित्ता सेयर पाएका छन् भने २१ हजार कित्ताका लागि आवेदन दिनेले छ सय १६ कित्ता सेयर पाएका छन् ।  

कम्पनीले यसअघि नै कर्मचारीहरुका लागि तीन प्रतिशत अर्थात ६३ हजार कित्ता र सामुहिक लगानीकोषहरुको लागि पाँच प्रतिशत अर्थात एक लाख पाँच हजार कित्ता साधारण सेयर निष्काशन गरी बाडँफाँड समेत गरिसकेको छ । सर्वसाधारणहरुलाई छुट्टयाएको २८ लाख कित्ता साधारण सेयरमध्ये उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि सात करोड रुपैयाँ बराबरको साधारण सेयर गत साउन १६ गतेदेखि भदौ १२ गतेसम्म खुल्ला गरिएको थियो भने असोज १९ गते बाँडफाँड गरिएको थियो । बाँकी २१ करोड रुपैयाँ बराबरको साधारण सेयरको बाँडफाँड विहीबार गर्न लागिएको हो । 

हाल सिनर्जीको चुक्तापूँजी ४२ करोड रुपैयाँ रहेको छ । उक्त आईपिओ बाँडफाँड गरेपछि कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ पुग्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]