February 10th, 2017

तीन जीवन बीमा कम्पनी : दोस्रो त्रैमासमा कस्को मुनाफा कति ?

तीन वटा जीवन बीमा कम्पनीले एकै दिन आफ्नो प्रगती विवरण सार्वजनिक गरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सले शुक्रबार चालू आर्थिक वर्षको पहिलो छ महिनाको प्रगती वितरण सार्वजनि गरेका हुन् । हेरौँ, कुन कम्पनीको प्रगती कस्तो छ ?

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
चालू आर्थिक वर्षको पहिलो छ महिनामा निजी क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुनाफामा गिरावट आएको छ । कम्पनीको खर्च बढ्दा आम्दानीमा गिरावट आएपछि मुनाफामा पनि गिरावट आएको हो । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार, चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.०१ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइम लाइफले छ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

४८ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आम्दानी ९.३७ प्रतिशतले घटेर आठ करोड ७५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खर्च भने ८२ दशमलव १४ प्रतिशतले बढेर पाँच करोड १४ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिमा बीमाशुल्कवापत ७६ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ १५ करोड सात लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । 

कम्पनीको जगेडाकोषमा ७३ करोड ७८ लाख रुपैयाँ र जीवन बीमा कोषमा चार अर्ब १७ करोड ३४ लाख रुपैयाँ रहको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १४ दशमलव ८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५१.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११४.१० गुणा रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भने गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुनाफामा झिनो वृद्धि हासिल गरेको छ । कम्पनीले यो अवधिमा १५ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल लाइफले १४ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको आम्दानी २३ दशमलव २९ प्रतिशतले बढेर २९ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने खर्च ४९ दशमलव २९ प्रतिशतले बढेर १४ करोड एक लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधिमा बीमा शुल्कवापत चार अर्ब ८५ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ भने एक अर्ब १८ करोड ६३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको कम्पनीले यस अबधिमा १० लाख नौ हजार आठ सय १० वटा बीमालेख जारी गरेको छ भने ११ हजार ५ सय ७६ वटा दाबी भुक्तान गरेको छ ।  
 
कम्पनीले जगेडा तथा कोषमा ४० करोेड ६९ लाख रुपैयाँ र जीवन बीमा कोषमा ३५ अर्ब १७ करोड रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ दशमलब १३ रुपैयाँ, पि ई अनुपात दुई सय एक दशमलब ०५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २९ दशमलब १६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति मूल्य एक हजार आठ सय ७२ दशमलब ८६ रुपैयाँ रहेको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
एसियन लाईफ इन्स्योरेस कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलब चार प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

६७ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको आम्दानी २९ दशमलब ३१ प्रतिशतले बढेर तीन करोड ३५ लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन तथा खर्च २९ दशमलव ३१ प्रतिशतले बढेर एक करोड २६ लाख रुपैयाँ पुगेको छ । यही अवधिमा कम्पनीले एक अर्ब एक करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने छ करोड ५३ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तान गरेको छ । कम्पनीले दुई लाख १६ हजार चार सय ८४ वटा बीमा लेख जारी गरी कुल दुई हजार चार सय ४४ वटा दाबी भुक्तान गरेको जनाएको छ ।

कम्पनीले जगेडा कोषमा २९ करोड २० लाख रुपैयाँ र जीवन बीमाकोषमा ८ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ राखेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी छ दशमलब २१ रुपैंया, मूल्य आम्दानीको अनुपात दुई सय २८ दशमलव ५१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४३ दशमलव ५० रुपैंया र प्रतिसेयर कुल सम्पतिको मूल्य एक हजार पाँच सय १७ दशमलव ४० रुपैंया रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]